सिञ्चाहिटी बचत तथा ऋण सहकारी संस्थाको १४औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
सभाले पुनः पुरुषोत्तम मानन्धरको अध्यक्षतामा नयाँ सञ्चालक समिति सर्वसम्मत चयन गरेको हो । संस्थाको उपाध्यक्षमा युवराज बज्राचार्य, सचिवमा पोमनारायण अधिकारी र कोषाध्यक्षमा कान्छाकाजी शाक्य रहेका छन् । त्यसैगरी सदस्यहरुमा मोहन शाक्य, खगेन्द्र खत्री, सागर शाक्य, बद्रीकुमार ताम्राकार र जुजुभाई चित्रकार चयन भएको संस्थाले जनाएको छ । त्यसैगरी लेखा तथा सुपरीवेक्षण समितिको संयोजकमा मोहनकृष्ण रञ्जित र सदस्यहरुमा उदयलाल श्रेष्ठ र रविन्द्र शाक्य चयन भएका छन् ।
संस्थाले सहकारी विभागले जारी गरेको साधारणसभा सम्बन्धी मार्गनिर्देशन अनुरुप भाद्र १३ गतेदेखि १७ गतेसम्म वार्षिक प्रतिवेदन वितरण तथा सदस्य उपस्थिति पुस्तिकामा हस्ताक्षर गराएको थियो । गत शनिवार विद्युतीय माध्यमबाट संस्थाले साधारण सभा समापन गरेको हो ।
सभामा अध्यक्षको तर्फबाट पुरुषोत्तम मानन्धरले आर्थिक वर्ष २०७७।०७८ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कोभिड १९ को विषम परिस्थितिमा पनि सदस्यहरुले संस्थाप्रति देखाएको विश्वास र सद्भावका कारण संस्थाका समग्र सूचकहरु सन्तोषजनक रहेको बताए । संस्था सदस्यहरुको आर्थिक सामाजिक रुपान्तरणका लागि सधैं क्रियाशील रहेको र सदस्यहरुलाई सीपमूलक तालिम दिइ व्यापार व्यवसाय सञ्चालनका लागि आवश्यक परामर्शका साथै सहुलियत दरमा ऋण प्रवाह गर्दै आएको उनले बताए । संस्थाले गत आर्थिक वर्षमा ४.४१ प्रतिशतले सदस्यता वृद्धि गरी १६०६ जना पुर्याएको छ । त्यसैगरी बचत संकलनमा ७.५१ प्रतिशतले वृद्धि गरी ३८ करोड ६१ लाख २३ हजार र ऋण लगानी २७ करोड ५८ लाख ६९ हजार पुर्याएको सभामा जानकारी दिइयो ।
संस्थाले गत आ.व.मा ६२ लाख ८ हजार खुद नाफा गरेको र सदस्यहरुलाई त्यसबाट १२ प्रतिशतका दरले लाभांश वितरण गर्ने निर्णय गरेको छ । संस्थाले साना तथा मझौला व्यवसाय र घरायसी विद्युतीय उपकरण खरिदमा २ लाखसम्म सहुलियत व्याजदरमा ऋण लगानी गर्दै आएको जनाएको छ । त्यसैगरी महिला सदस्य सुत्केरी हुँदा सुत्केरी खर्च स्वरुप ५ हजार र सदस्यहरुको मृत्यु भएमा आश्रित परिवारका सदस्यलाई ५ हजार तथा अस्पतालमा भर्ना भएर सदस्यहरुले उपचार गराउनुपरेको खण्डमा १ पटकमा ५ दिनका लागि २५०० रुपैया बेड खर्च उपलब्ध गराउँदै आएको छ । त्यसैगरी सदस्यहरुलाई घातक रोग लागेको खण्डमा स्वास्थ्य उपचार कोषबाट आर्थिक सुविधा तथा सदस्यहरु विरामी भई उपचार गर्नु परेमा गणेशमान सिंह मेमारियल र बीएण्डबी अस्पतालमा छुट सुविधाको व्यवस्था मिलाएको छ ।
