बुधबार, भाद्र ३ गते २०८३

‘सहकारीलाई विपत्तिमा जोगाउने सदस्यले नै हो, त्यसकाे विकल्प छैन’

आश्विन ३०, २०८० मंगलबार
‘सहकारीलाई विपत्तिमा जोगाउने सदस्यले नै हो, त्यसकाे विकल्प छैन’

सहकारी क्षेत्रमा सुधारको संकेत देखिन थाल्यो कि अवस्था उस्तै छ ? 

सहकारी क्षेत्रमा विगत केहि समयदेखि सुधारको संकेत देखिन थालेको छ । सहकारीको अहिलेको प्रमुख समस्या भनेकै तरलता व्यवस्थापन हो । त्यसमा क्रमिक सुधार हुँदै गएको छ । हिजो बचत फिर्ता गर्न नसकेका कतिपय संस्थाहरुले आज श्रोतको व्यवस्थापन गरेर सदस्यको बचत फिर्ता गर्न थालेका छन् । तर सहकारीको संकट टरेको अवस्था भने होइन । अझै केहि समय हामीले यो संकटको सामना गर्नुपर्छ । वित्तीय बजारमा सहकारी संस्था मात्रै छैनन् । बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी र शेयर बजार छ । अहिले कुनै पनि क्षेत्रमा सुधार भएको अवस्था छैन । केहि समय संकटको सामना गर्नैपर्छ । तर हिजोको जस्तो बचत फिर्ता गर्न नसक्ने संस्थाको संख्या अहिले कम हुँदै गएको छ ।

सहकारीले सदस्यको बचत फिर्ता गर्न थालेको बताउनुभयो, संस्थाहरुले कसरी रकमको व्यवस्था गरे ?

सरकारले घरजग्गामा पुरानै नीति लागु गरेका कारण कारोबारमा सामान्य वृद्धि भएको छ । तर मालपोत कार्यालयहरुले पुरानै नीतिलाई पूर्ण कार्यान्वयनमा ल्याएका छैनन् र घरजग्गा कारोबार पुरानै लयमा फर्किन्छ भन्ने पनि छैन । असारपछि सरकारले विकास निर्माणको भुक्तानी केहि मात्रामा बढाएको छ । यसले पनि केहि सहज भएको हुनसक्छ । अर्कोतर्फ रेमिटान्स आप्रवाह ह्वात्तै बढेको छ । रेमिटान्स बढेका कारण बजारमा केहि चहलपहल छाएको छ । त्यसभन्दा बाहेक अन्य हिसाबले सुदृढ भइसकेको छैन ।

सहकारीमा दीर्घकालिन बचतको रुपमा रेमिटान्स आएको छ कि छैन ?

मुलुकमा रहेका सबै सहकारी संस्था बिग्रेका छैनन् । संख्यात्मक हिसाबले केहि सहकारी संस्था वित्तीय रुपमा संकटमा परेका हुन् । कुल सहकारीको १–२ प्रतिशत संस्था अहिलेको वित्तीय संकटका कारणले समस्यामा परेका होलान् । ती संस्थाको असर राम्रा संस्थामा पनि परेको छ । त्यसले सहकारीमार्फत् हुने रेमिटान्स पेमेन्टमा पनि प्रभाव पारेको देखिन्छ ।  अहिले सहकारीलाई प्रयोग गरेर रेमिटान्स भित्रिएको अवस्था एकदम न्युन छ । तर जुन संस्थाहरुले सुरक्षित कारोबार र सदस्यमैत्री कृयाकलाप गरिराखेका छन् ती संस्थामा विगतमा जस्तै गरी बचत आइराखेको छ । सहकारीप्रतिको वितृष्णा, भ्रम र अविश्वासका कारण यो भएको छ भने सहकारीलाई निजी व्यवसायको रुपमा सञ्चालन गर्ने केहि विकृत मानसिकता भएका मानिसहरुले व्यवसायिकरण गरेका कारण आम अभियानलाई नै समस्या पारेको हो ।

संख्यात्मक हिसाबले थोरै संस्था समस्यामा परेपनि त्यसको प्रभाव त नेपालको सिंगो सहकारी अभियान पर्‍यो नि ?

यसमा हामीले दुई पक्षलाई हेर्नुपर्छ । सरकार सहकारीप्रति कत्तिको उत्तरदायी भयो, त्यो एउटा विश्लेषणको पाटो रह्यो भने अर्कोतर्फ सहकारी अभियानले पनि समस्यालाई समाधान गर्न कत्तिको भूमिका खेल्यो भनेर हेनुपर्छ । प्रारम्भिक सहकारी संस्थामा समस्या आउँदा सञ्जालमा आवद्ध भएका संस्थाहरुको व्यवस्थापनको लागि संघहरुले आफ्नो भूमिका प्रभावकारी बनाउन सकेनन् । पैसा फिर्ता दियो भने मात्र अहिलेको समस्या समाधान हुन्छ भन्ने बुझाई सबैमा रह्यो । तर पैसाले मात्र संस्था बचाउन सकिँदो रहेनछ । पैसाले केहि समयलाई मात्र बचाउन सकिने रहेछ । सहकारी क्षेत्रमा आज समस्या आयो र विस्तारै समस्या समाधान हुँदै जान्छ । समस्याबाट बाहिर निस्किएको भोलिपल्टबाट हाम्रा संस्थाहरुलाई के सिकाउने भन्ने कुरा अहिले पनि हामीले विकास गर्न सकेका छैनौं । हामीले केहि काम गर्न खोजेका छौं तर त्यो पर्याप्त छैन । देखिने र सबै संस्थाले महशुस हुने गरी गर्न नसक्दासम्म हामीले यति गर्यौं भनेर भन्न सक्ने अवस्था रहँदैन ।

सरकारले विकृति मात्रै देख्यो । संविधानले ३ खम्बे अर्थनीति भित्र सहकारीलाई समेट्यो भनेर गर्व पनि गरियो । सहकारीलाई केन्द्र, प्रदेश र स्थानीय तहमा हस्तान्तरण गरेर नियमन अनुगमनलाई प्रभावकारी बनाउँछौं, सुशासन प्रवद्र्धन गर्छौं भन्दा स्वागत पनि गरियो । तर स्थानीय तहले सहकारीको नियमन अनुगमन गर्नुपर्छ र भविष्यमा आउने चुनौतिलाई पनि अहिलेदेखि नै व्यवस्थापन गर्दै जानुपर्छ भनेर स्वीकार गर्न सकेन । एकातिर प्रदेशले सहकारी संघसंस्थालाई व्यवस्थित गर्नको लागि काम गर्न सकेन भने अर्कोतफ संघीय सरकार स्वयंले पनि सहकारीलाई व्यवस्थित र पारदर्शी ढंगले सञ्चालनको लागि बातावरण बनाउन सकेको छैन । यसले गर्दा अहिले पनि सहकारी दर्ता हुने, उजुरीको सुनुवाई नहुने र प्रतिशोधमा मात्र उत्रने अवस्था छ । कानुनी व्यवस्थामा कमजोरी छ, सरकार र अभियान बसेर यो–यो कुरामा सुधार गरेर जाउँ र परिणाम दिने ढंगले काम गरौं भन्ने अवस्थामा हामी छैनौं । यसर्थ अभियान र राज्य दुवै पक्ष सच्चिएर अगाडि बढ्नुपर्छ भन्ने मेरो बुझाई हो ।

संघ तथा महासंघ स्थापनाको उद्देश्य प्रारम्भिक संस्थाको विकास र प्रवद्र्धनको निम्ति होइन र ? तर वित्तीय संकटको अवस्थामा उनीहरुको भूमिका प्राय: निष्प्रभावी देखियो नि ?

बागमती प्रदेश संघ र प्रोस्कुनले बागमती प्रदेश सरकारसँग लबिङ, एड्भोकेसी गरिराखेका छन् । अहिले पनि समस्यामा परेका सदस्य संस्थाले हामीलाई जानकारी दिँदा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा भेटेर कानुनी सहजाताको लागि काम गरिराखेका छौं । संघीय कानुन र प्रदेश कानुनसँग बाझिएको हकमा ती कानुन संशोधनका लागि हामीले ५/६ वटा गोष्ठी गत वर्ष मात्रै गर्‍यौं । 
बाझिएका कानुनहरु संशोधनका लागि हामीले प्रदेशमा पेश गरेका छौं । र यो अधिवेशनमा कानुन संशोधन हुनेमा हामी आशावादी छौं । त्यसको लागि कार्यदल बनाएर संशोधनको प्रक्रिया सरकारले अगाडि बढाएको छ । अहिले सहकारीका लागि केहि समस्या छ भने संघीय कानुनमा नै छ ।

संघीय कानुन संशोधनका लागि पर्याप्त भूमिका अभियानको तर्फबाट खेल्न नसकेको कुरामा म पनि सहमत छु । प्रदेश संघ भएकाले हामीले चाहेर पनि संघीय कानुन संशोधनका लागि काम गर्न नसक्ने रहेछौं । संघ, महासंघ र केन्द्रिय संघहरुले यसको जस–अपजस लिनुपर्ने अवस्था छ । हामी त उहाँहरुलाई समर्थन गर्ने काममा मात्र साथ दिन सक्ने भएकाले संघीय कानुन संशोधन गर्न माथिल्लो तहबाटै नेतृत्व लिनुपर्ने देखिन्छ । अर्कोतर्फ सहकारीमा सबैभन्दा बढी बल्झिएको कुरा भनेको नेटवर्क म्यानेजमेन्ट हो । यसमा महासंघको भूमिका के हुने ? केन्द्रिय संघहरुले के के भूमिका खेल्नुपर्ने ? प्रदेश संघहरुले के के गर्ने र जिल्ला संघले के गर्ने ? सञ्जाल व्यवस्थापन कसरी गर्ने तथा कुन संघको भूमिका के हुँदा संस्थाहरुलाई प्रत्यक्ष प्रभाव पर्छ भन्ने विषयमा अहिलेसम्म छलफल नै भएन । यसले गर्दा पनि समस्या भएको हो । सञ्जाल व्यवस्थापन गर्न सके कुन तहको संघको भूमिका के हुने भनेर स्पष्ट भई संघहरुको औचित्य पनि प्रष्ट हुन्थ्यो भने संघहरुको औचित्य पनि पुष्टी हुन सक्थ्यो ।

सहकारीमा सञ्जाल व्यवस्थापनको कुरा उठान गर्नुभयो, अहिले जिल्ला देखि केन्द्रिय तहका संघहरुको कामगराइ उस्तै छ नि ? 
ऐनले संस्था भनेपछि सहकारी संघ पनि बुझ्नुपर्नेछ भनेर बोलेको छ । संस्थाको काम ऐनले तोक्यो तर संघहरुको काम तोकेन । त्यो नतोकिँदा संघले के गर्ने भन्ने कुरामा हामी अलमल भयौं । अहिले सबै संघहरुले बचत संकलन गर्ने, अन्तरलगानी गर्ने तथा स्तरीकरण कार्यक्रम सञ्चालन गर्ने मात्र भइराखेको छ । जिल्लादेखि केन्द्रसम्म संघहरुले उस्तै–उस्तै काम गरिराखेका छन् । लबिइङ्ग र एड्भोकेसीको कामलाई सबै संघहरुले बिर्सिएका छन् भन्दा पनि हुन्छ ।

बागमती प्रदेशको हकमा बागमती प्रदेश सहकारी संघ र प्रोस्कुन एकै ठाउँमा बसेर पनि कार्यक्रम गरिराखेका छौं । सबै संघहरुले अआफ्नो काम परिभाषित गर्नुपर्छ । ओभरल्यापिङ भएर काम गरिराखियो र एकले अर्कालाई प्रतिस्पर्धीको रुपमा लियौं भने हामीभित्रै कन्फ्लिक्ट पैदा हुन्छ । यसले सदस्य संस्थाहरुले पाउनुपर्ने सेवा प्रभावकारी हुँदैन । जुन संघसँग संस्था नजिक छ, त्यहि संघले हेरिहाल्छ नि, हामीले किन हेर्ने? भन्ने कुरा आउँछ । यसले गर्दा सदस्यहरुले सेवा नपाउने अवस्था सृजना हुन्छ । जतिसक्दो छिटो सञ्जाल व्यवस्थापन गरेर कुन संघले के काम गर्ने भनेर टुंगो लगाउनुपर्छ । सबै संघहरुले पैसा संकलन गर्न मिल्ने कि नमिल्ने ? त्यो विषय कहाँ लेखिनु पर्ने हो र को सँग बसेर छलफल गर्ने तथा त्यसका लागि बहस पैरवी गर्ने हो । बागमती प्रोस्कुनले यो विषयमा गोष्ठी समेत गरिसकेको छ । यो वर्ष पनि २ वटा गोष्ठी गर्छौं । केन्द्रसँग जोडिने कुरामा हामीले अनौपचारिक रुपमा छलफल शुरु गरेका छौं । हामीले सञ्जाल व्यवस्थापनको सुरुवाती विन्दुको रुपमा यस आर्थिक वर्षलाई बनाउन सकियो भने यो उपलब्धीमूलक हुन्छ भन्ने हो । 

सहकारीका १७/१८ वटा केन्द्रिय संघ छन् । तीनसयभन्दा माथि जिल्लागत र विषयगत संघ छन् । कुन संघले के काम गर्ने भनेर नतोकिँदासम्म त संघहरुबीचनै प्रतिस्पर्धा हुने देखियो नि ?  

नेपालमा सञ्जाल व्यवस्थापनको कुरा कठीन छ । तीन तहका संघहरु छन्, स्थानीय तहमा समेत संघहरु दर्ता भइराखेका छन् । सञ्जाल व्यवस्थापनमा विश्वमा सबैका आआफ्नै अभ्यासहरु छन् । नेपालको लागि सुहाउने भनेको दक्षिणी कोरियाली अभ्यास हो । त्यहाँ केन्द्रिय संघ एउटा मात्र छ । तर उसले प्रारम्भिक संस्थासम्म आफ्नो पहुँच पुर्‍याएको छ । कोरियामा ८५० वटा संस्था छन् । कोरियाको मोडल नेपालमा लागू गरेपनि आजको भोलि यहाँ परिवर्तन गर्न सकिँदैन । त्यसैले अहिले नेटवर्क नै म्यानेज गरेर लैजानुपर्छ । सबै संघहरुको काम स्पेसिफिक गरेर जाने, सहकारी संस्था घटाउने, सञ्चालन विधि एउटै बनाउने, अनुशासित बनाउने र गुणस्तर मापनका सूचकहरु विकास गरेर गुणस्तर जाँच्ने काम गर्नुपर्छ ।

तलबाट व्यवस्थापन संङ्लो बनाउँदै ल्याएपछि संघ कतिवटा चाहिने, केन्द्रमा मात्रै कि प्रदेश र जिल्लामा पनि संघ चाहिन्छ भनेर छलफल गर्नु उपयुक्त हुन्छ । कानुनले यसै गर्नुपर्छ भनेर भनेको छैन । सहकारी संस्था खुलेपछि यो तालिम अनिवार्य गर्नुपर्छ भनेर कहीँ लेखिएको छैन । सञ्चालकको क्षमता, व्यवस्थापकको शैक्षिक योग्यता र सीपका विषयमा कहीँपनि उल्लेख छैन । यहाँ सर्टिर्फिकेट पेश गरेर पनि व्यवस्थापक बन्न पाइन्छ ।

सहकारी सम्बन्धी सरकारले कुनै कोर्स डेभलप गर्न सकेको छैन । हामीले बनाएका सामान्य कोर्सको आधारमा दिइएको तालिमलाई प्रभावकारी बनाउन सकिएको छैन । अझैपनि अभियानमा हामीले यतिवटा कोर्स डेभलप गरेका छौं भनेर भन्न सक्ने अवस्था छैन । बागमती प्रोस्कुनले त्यसका लागि ५ वटा कोर्स डेभलप गरेको छ । ५ वटा कोर्सभित्र बसेर बागमती प्रोस्कुन र १३ वटा जिल्ला बचत संघले एउटै कोर्स पढाउनुपर्छ भनेर लागिरहेका छौं । महासंघ र नेफ्स्कुनले यस्तो कोर्स डेभलप गरिदिने हो भने देशभर पुग्छ । हामीले प्रयत्न गर्दा बाग्मती प्रदेशभर मात्र पुग्छ ।

कोरियामा ३८ वटा कोर्स डेभलप गरेको रहेछ । एउटै कोर्स वर्षमा ६–७ पटकसम्म पढाउँदा रहेछन् । ४ सय जना बसेर पढ्न सकिने खालको मेकानिज्म विकास गरेको रहेछ । लगातार सिकाइ हुँदोरहेछ । लोन म्यानेजर हुन ९ दिनको कोर्स अनिवार्य गरेको हुनुपर्ने, सञ्चालक समितिमा जान ३ दिन पूर्व सहकारी शिक्षा लिएको प्रमाणपत्र हुनुपर्ने र अनिवार्य रुपमा अध्ययन नगरी कुनै पनि व्यक्तिले सहकारी सञ्चालन गर्न पाउँदो हरेनछ । त्यसप्रकारको व्यवस्था गर्न हामीले पनि कानुनमा परिवर्तन गर्नुपर्छ । त्यसको व्यवस्थापनका लागि नेटवर्कमा कसले के के गर्ने भन्ने कुरा खुलाउनुपर्ने हुन्छ । 

नेपालको सन्दर्भमा कुरा गर्दा सहकारीको बुझाई र काम गराइमा एकरुपता छैन । त्यसले  गर्दा अहिले समस्या आएको हो ?

अहिले सहकारी अभियन्ताहरुमा मैले २ वटा ध्रुव देखिराखेको छु । एउटा ध्रुवले सहकारी संस्था स्व:नियमनमा चल्नुपर्छ । स्वनियमन भएकाले नियमन अनुनगमन आवश्यक छैन भन्छ । अर्को ध्रुवले सहकारीमा नियमन तथा अनुगमन नगरी शुद्धिकरण आउँदैन, कुनै न कुनै कानुन बलियो बनाउनुपर्छ, अनुगमन गर्नुपर्छ र त्यसक्रममा देखिएका त्रुटीहरुको आधारमा सजाय दिनुपर्छ भन्छ । यो दुईवटा बुझाइको बीचमा कन्ट्राडिक्सन मैले देखिराखेको छु । स्व:नियमनको मतलब त्यो होइन, आफुले चाहे अनुसार गर्न पाउनु । स्व:नियमन भनेको म्याट्रिक्स भित्र हुन्छ। कुन कुरा गर्न मिल्ने, कुन कुरा गर्न नमिल्ने भन्ने हो । स्व:नियमनको मतलब कानुन नै पालन गर्नु नपर्ने भनेको होइन। नीति नै नबनाई हरेक क्रियाकलाप गरे हुन्छ, नीति बनाएको छ, त्यो सदस्यलाई मात्र लागु गरे हुन्छ भन्ने सोच गलत छ । त्यसलाई स्व:नियमन भनिँदैन । जसले स्व:नियमनमा संस्था चलाउनुपर्छ भनिरहेको छ । आफैं स्व:नियमनमा छु कि छैन भनेर हेर्न जरुरी छ। आफु स्व:नियमनमा नबस्ने, नीति नमान्ने, नियमनको निर्देशन नमान्ने, आफु प्रिन्सिपलबाट बाहिर जाने र स्व:नियमनको कुरा गरेर नथाक्ने प्रवृत्ति छ । यो नै गलत छ । अर्को नियन्त्रणको नाममा सबै खुम्च्याउनु पर्छ भनेको पनि होइन । यदि स्व:नियमनमा बस्दैन भने स्व:नियमनको म्याट्रिक्स के हो भनेर पनि बुझ्दैन अभियानले । के के बुँदाले स्वनियमन मापन गरिन्छ भन्ने कुरा नै थाहा छैन भने कसरी त्यसमा रहने ? सरकारले नै त्यसका लागि सूचकहरु बनाइदिनुपर्छ र ती सूचकभित्र नबस्ने संस्थाहरुलाई कारवाही गर्नुपर्छ।

राज्यसँग लबिइङ्ग, एड्भोकेसी गर्नेदेखि सहकारीमैत्री ऐन कानुन बनाउने काम नेतृत्वको हो । तर नेतृत्वको भूमिकाप्रति आम संस्था सन्तुष्ट देखिँदैनन् नि । अर्कोतर्फ राजनीतिले पनि सहकारीमा बाधा पुर्‍यायो, हैन ?  

सबै नीतिहरुको मूल नीति राजनीति हो । राजनीतिको प्रभाव हरेक क्षेत्रमा छ । हामी सहकारी क्षेत्रमा काम गर्ने भएकाले सहकारीमा बढी राजनीति हावी भयो कि भन्ने फिल हुन्छ । तर हरेक पेशा व्यवसायमा राजनीति जोडिएको छ । स्वतन्त्र ढंगले काम गर्ने संस्था नै पाउन छोडियो । न्यायालयमा पनि राजनीतिक प्रभाव देखियो । शिक्षक, निजामति, पत्रकारिता हरेक क्षेत्रमा पार्टीका भातृ संगठनहरु छन् । तसर्थ राजनीति जोड्नु नै गलत त होइन । तर त्यसको प्रयोग गर्ने कुरा गलत हो । केहि व्यक्तिले हरेक क्रियाकलाप राजनीतिसँग जोडेर लगेका कारण बढी टिकाटिप्पणी हुने गरेको हो । राम्रोसँग संस्था सञ्चालन गर्न सक्ने सक्षम व्यक्तिलाई नेतृत्वको लागि छान्नुपर्छ । ताकि उसले जनताको बचतको सुरक्षा गर्छ । भनेको बेलामा बचत फिर्ता दिन सक्छ भन्ने सुनिश्चितता गर्ने व्यक्तिलाई नेतृत्वमा ल्याउनुपर्छ ।

प्रारम्भिक सहकारी संस्थाका नेतृत्वले सदस्यलाई बढीभन्दा बढी प्रतिफल दिने विषयमा ध्यान दिनुपर्छ । अभियानको नेतृत्व गर्नेले मैले बोलेको कुरा राज्य प्रणालीले एकैपटकमा कसरी सुन्न सक्छ र त्यो कसरी हुन्छ भनेर सोच्नुपर्छ । यो भयो भने अहिलेको जस्तो ल्याकिङ्ग रहँदैन । सरकार त कहिले कुन पार्टीको त कहिले कुन पार्टीको बन्छ । अभियान भनेको साझा हो र जुन पार्टीको सरकार आएपनि हाम्रो आवाज सुन्ने बातावरण बनाउनुपर्छ । राजनीतिक पृष्ठभूमिलाई मात्र जोडेर नेतृत्वमा आउँदा आफ्नो पार्टीको सरकार भयो भने अभियानको कुरा सुनिदेला अर्काको सरकार भयो भने अटेर गर्देला । त्यो अवस्था सृजना हुनुभएन । 

अहिलेको राष्ट्रिय नेतृत्व हेर्दा तपाईंले भनेका कुरा व्यवहारमा देख्न पाईंदैन नि ?

सहकारी क्षेत्रमा लबिइङ्ग र एड्भोकेसीको पाटो कमजोर भएकै हो । सहकारी अभियान विश्वव्यापीरुपमा सबैभन्दा बृहत् सञ्जाल हो । सबैभन्दा ठूलो नेटवर्कको मानिस बोल्यो, हामीले निर्णय नगरी हुँदैन भन्ने प्रभाव राज्यलाई पार्नुपथ्यो । तर त्यो परेन । हामी धेरै आलोचक भयौं । अर्कोतर्फ म त्यसको नेतृत्व गर्छु भनेर जुन स्तरमा अभ्यास गर्नुपथ्र्यो त्यो स्तरमा कसैले गर्नुभएन । सहकारी अभियानमा नेतृत्वको आलोचना त गरियो तर नेतृत्वमा आफुलाई उभ्याउने काम भने गरिएन । काठमाण्डौका मेयर बालेन शाहले ५ वर्ष अगाडि अहिले भोट हाल्दिन तर ५ वर्ष पछि आफ्नो लागि आफैं भोट माग्छु भन्ने योजना बनाएर लाग्दा सफलता मिल्यो । अभियानभित्र चुनाव आएको बेलामा मात्रै आलोचना गर्ने तर ४ वर्षपछि नेतृत्वमा म पुग्छ र अभियानलाई यो स्थानमा पुर्‍याउँछु भन्ने तयारी कसैमा देखिएन । त्यसकारण आलोचनाका लागि आलोचना मात्रै गरेर हुँदैन । अहिलेको नेतृत्वलाई स्वीकार गरर जानुको विकल्प छैन । अथवा नयाँ नेतृत्व ल्याउने हो भने क्षमता वृद्धि गरेर अभियानले विश्वास गर्ने वातावरण निर्माण गर्नुपर्‍यो तर त्यो अवस्था पनि देखिएको छैन । 

सहकारीमा समस्या आउनुमा आर्थिक मन्दीलाई भन्दा पनि आन्तरिक सुशासनलाई दोष दिइन्छ । यसले गर्दा सरकारले सहकारीका समस्यालाई इग्नोर गर्‍यो भनिन्छ नि ?

बागमती प्रदेशका १३ जिल्लामा ११९ पालिका छन् । पालिका प्रमुख साधारणसभामा प्रमुख अतिथि भएर आउँछन् । सहकारीको शेयरपुँजी, जगेडा कोष र ठूलो कारोबार पुगेको रहेछ । यहाँसम्मको बाटो तपाईंले बनाइदिनु पर्‍यो भन्ने मैले सुनेको छु । गाउँपालिका प्रमुखले त्यो बोल्न हुने कि नहुने ? त्यो पैसा कसको हो ? त्यो विकासमा खर्च गर्न मिल्ने कि नमिल्ने थाहै छैन । अर्का एकथरि साधारण सभामा प्रमुख अतिथि भएर जाने तर सहकारीको भन्दापनि विकास निर्माणका कुरा मात्रै गर्ने पनि पाइयो । यसको मतलब सहकारीको चिन्तन र यसको बुझाई नभएका कारण यस्तो भइराखेको छ । अर्कोतर्फ राम्रो काम गरिराखेका संस्थाहरु न त रजिष्ट्रार न त मन्त्री कसैकोमा पुग्दैनन् । उसलाई त्यहाँसम्म पुग्न आवश्यक छैन । र आफ्नो व्यवस्थापन गरेर बसिराखेका छन् । बचत फिर्ता नपाएका र समस्यामा परेका सदस्यहरु मात्र विभागमा पुग्छन् । त्यहाँ गुनासोकर्ता मात्र बढी पुग्छन् । अभियानले हाम्रो स्ट्रेन्थ यो पनि छ है भनेर लिएर जान सकेन । खाली गुनासो मात्र लिएर गएपछि सहकारीलाई राज्यले लुटेर खाने मेसो मात्रै हो भन्ने बुझ्यो । बचतऋण सहकारी आफैंले कमाएर सरकारलाई कर तिर्छ भने किन अनुदान दिनुपर्‍यो भन्ने बुझाई सरकारमा छ । अर्कोतर्फ सहकारी क्षेत्रले कति कर तिर्छ भन्ने डाटा नै छैन र त्यो करलाई सहकारीकै प्रवद्र्धनमा खर्च गर्नुपर्छ भन्ने सोच सरकारमा देखिएन । राज्यले सडक, बत्ती, पानीलाई मात्र विकास सम्झियो । सरकारले गलत टिकाटिप्पणी मात्र सुनेर दिग्भ्रमित भइसकेको छ । र अभियानप्रति हेर्ने दृष्टिकोण नकारात्मक भएको अनुभूति हामी सबैले गरेका छौं । सधैं यो अवस्था रहँदैन र राम्रा काम पनि सरकारले पत्ता लगाउँछ । एक समयमा अभियान र सरकार सँगसँगै हुन्छौं भन्ने अपेक्षा बाँकी नै छ ।

सहकारीबाट बचतफिर्ता नै अहिले प्रमुख एजेण्डा बनेको छ भने कतिपय संस्थाले बचत फिर्ता नदिँदा अभियानको साख घटेर गएको छ ? यी सबै कुरालाई कसरी व्यवस्थापन गर्न सकिएला ?

संस्थाहरुलाई विपत्तिमा जोगाउने भनेको सदस्यले मात्रै हो, सदस्यको विकल्प छैन भनेर हामीले सदस्य संस्थाहरुलाई सुनिश्चित गराइराखेका छौं । सहकारीका सञ्चालकहरु सदस्यकहाँ जाने र सदस्यसँगै बस्ने, संस्थाको सम्पूर्ण अवस्थाको बारेमा सदस्यलाई नै जानकारी दिने, संस्थाको सबल र दुर्बल दुवै पक्ष सदस्यलाई नै सुनाउने हो । निरन्तर सदस्यकहाँ जान सकियो भने सहकारीप्रति विश्वास जागृत गराउन सकिन्छ । सदस्यको विश्वास जागृत भयो भने यस्ता समस्याहरु सदाका लागि अन्त्य हुन्छन् । ग्रामीण परिवेशमा भएका केहि संस्थाहरु बिहानदेखि सदस्यहरुलाई भेला गरेर संस्थाको बारेमा बताउने, सदस्यको घरैमा जाने र उनीहरुको सुखदुख पनि सुनिदिने काम गरिराखेका छन् । त्यस्ता संस्थाहरुको अहिलेको अवस्थामा पनि पुँजी वृद्धि भएको छ । जुन संस्था सदस्यमा जान हिच्किचाउँछ र जानु नपरे हुन्थ्यो भन्छ, त्यस्ता संस्थाहरु नै अहिले समस्यामा परेका हुन् । ती संस्थाले हिजो पनि सदस्य नबनाई व्यापार गर्ने ग्राहकको रुपमा लिएका थिए । साधारणसभामा नबोलाउने, संस्थाको प्रतिवेदन सार्वजनिक नगर्ने र संस्थापक शेयर र साधारण शेयरको रुपमा विभेद जसले गर्थे ती संस्था अहिले सदस्यकहाँ जान सकेका छैनन् । उनीहरुको आज पनि समस्या ज्युँ का त्युँ छ ।

हामीले सदस्यकहाँ जानको लागि के कस्ता विषयमा छलफल गर्ने भनेर केहि विषयवस्तु तयार गरेर उपलब्ध गराएका छौं । सबै समस्याको समाधान भनेको सदस्यमैत्री कृयाकलाप नै हो । हामीले सदस्य संस्थालाई नै बढी जोड दिएर उनीहरुसँगको भेटघाटलाई प्राथमिकतामा राखेका छौं । हामीले यो वर्ष ३० वटा संस्थाको अनुगमन गर्ने र त्यसमा पनि सञ्चालक समिति र लेखा समितिका २० वटा संघसंस्थाको अनुगमन गर्छौं । ऋण लगानी गरेका संस्था कत्तिको सुरक्षित छन् भनेर १० वटा संस्थाको अनुगमन गर्छौं । ३० वटा संस्थाको अनुगमनका लागि आवश्यक फम्र्याट समेत तयार गरेर यसै महिनाबाट अनुगमन शुरु गर्दैर्छौं । संघ बाँच्न सहकारी संस्था राम्रो हुनुपर्छ । सदस्य संस्था राम्रो भयो भने मात्र संघलाई चलायमान बनाउन सकिन्छ ।

बागमती प्रोस्कुनले अन्य संघहरुले भन्दा पृथक ढंगले काम गर्ने योजना बनाएको हो ?

हामी तेश्रो वर्षमा हिँडिरहेका छौं । यो संघ स्थापनाको औचित्य पूरा गर्न हामी फरक ढंगले लाग्नैपर्छ भनेर सोचेका थियौं । आजसम्म आइपुग्दा जे–जे क्रियाकलाप गरिराखेका छौं ती क्रियाकलाप कुनै पनि डकुमेन्ट नबनाइ गरेका छैनौं । कानुनी रुपमा तयार गर्नुपर्ने सम्पूर्ण पूर्वाधारहरु तयार गरेर मात्रै हामी अगाडि बढेका छौं । अनुगमन गर्न जाँदा पनि अध्यक्षज्यूले नेतृत्व गरेको संस्थामा पहिले जाने भनेर निर्णय नै गरेका छौं । यसै महिनामा ४ वटा संस्था अनुगमन गर्दैछौं । कम्तीमा प्रोस्कुनका सञ्चालक समितिका संघसंस्था ठिक छन् भन्ने कुरामा हामी ढुक्क हुनुपर्‍यो । आफू गलत गर्ने, आफ्नो संस्थालाई राम्रो नबनाउने र अर्कालाई अर्तिबुद्धि दिएर हिँड्न मिलेन नि ।

बागमती प्रोस्कुनले आन्तरिक लेखा परिक्षण बलियो बनाउने, स्तरिकरण कार्यक्रम सञ्चालन गर्ने, ऋण लगानी व्यवस्थापनको तालिम आयोजना गर्ने गर्नुभएको छ । यी सबै गर्नुको खास उद्देश्य के हो ?

सहकारी सबैभन्दा सस्टेनेबल क्षेत्र हो । सबैभन्दा सुरक्षित क्षेत्र यो हो । यसलाई असुरक्षित बनाउने केहि फ्याक्टरहरुका विषयमा हामीले चर्चा गरिसकेका छौं । ती फ्याक्टरहरुका कारण हामी असुरक्षित भएका हौं । यसलाई सुधार गर्न सकिन्छ । सुशासन कायम गरेर जानुपर्छ र एउटा संघको मातहतमा बसिसकेपछि उनीहरुले देखाएको बाटोमा हिँडे गन्तब्यमा पुग्न सकिन्छ भन्ने दृढसंकल्प भयो भने सहकारी क्षेत्र सुध्रन्छ । संघमा आवद्ध भएका संस्थाले पैसा दिएनन् भन्ने ठाउँबाट माथि ल्याउनुपर्छ । यो यो इस्युमा संघले हामीलाई सिकाएको हो भन्ने गरी विन्दुमा पुर्‍याउने र त्यसका लागि आवश्यक श्रोतसाधन दिनसक्ने गरी हामीले पर्याप्त काम गर्दैछौं ।

बागमती प्रदेशमा बचतऋण सहकारी संस्था धेरै छन् । तपाईंहरुको टार्गेट कति संस्थामा पुग्ने छ ? कति संस्थालाई सुदृढ बनाउने योजना बनाउनुभएको छ ?

हामीले दुईवटा कुरा हेरिराखेको छौं । एउटा हामी तालिमको लागि मात्र तालिम गराउँदैनौं । रिसोर्स डेभलप गरेका छौं र तालिमपछि त्यसको प्रभाव संस्थामा देखिनुपर्छ भन्ने ठान्छौं । हामीले त्यसका लागि ५ वटा कोर्स डेभलप गरेका छौं । शुरुका दिनमा तालिममा सहभागी हुनका लागि संस्थाहरुलाई अनुरोध गर्दा सदस्य संस्थाले तालिम आवश्यक छैन । हामीले लिइसकेका छौं भन्थे । हामीले पहिलो तालिममा ११ जनालाई मात्र सहभागी गराउन सक्यौं । यस्तो तालिमले हुँदैन, अब कोर्समा आधारिता तालिम गर्नुपर्छ भनेर लागिपरेपछि एउटा तालिममा सहभागी भइसकेका संस्थाले सूचना निकाल्ने वित्तिकै यति जना आउनुहुन्छ भनेर अहिले नाम लेखाउन थालेका छन् । यो प्रोस्कुनको ब्राण्ड हो ।

अर्को, बागमती प्रोस्कुनलाई सबैभन्दा ठूलो श्रोत केन्द्रको रुपमा विकास गर्छौं भनेका छौं । परिकल्पनालाई सार्थक बनाउन त्यो गतिमा हामी अगाडि बढेका छौं । सहकारीलाई चाहिने सम्पूर्ण मटेरियल्स बागमती प्रोस्कुनले उपलब्ध गराउनुपर्छ भन्ने हिसाबले हामी लागेका छौं । अर्को गुणस्तर सुनिश्चितता कार्यक्रममा आवद्ध संस्थाहरुले ब्राण्ड पाइसकेपछि त्यो आर्थिक वर्ष भित्र कुनै समस्या आयो भने त्यसको समाधान प्रोस्कुनले गर्छ । आर्थिक, प्राविधिक र व्यवस्थापन पक्षमा सहयोग गरेर भएपनि संस्थालाई सञ्चालन गर्छ भनेर अरु स्तरिकरण कार्यक्रम भन्दा कोशिस कार्यक्रमलाई केहि पृथक बनाउने कुरामा हामी लागिरहेका छौं । अन्य स्तरीकरण कार्यक्रममा सहभागी संस्थालाई रिपोर्ट बनाउनै छ महिना लाग्छ । तर हामीले यस कार्यक्रममा आवद्ध भएपछि प्रत्येक संस्थाबाट २ जना बोलएर रिपोर्ट बनाउन सिकाउँछौं । यसरी संस्थाहरुलाई व्यवस्थित र व्यवसायिक बनाउने कुरालाई हामीले प्रभावकारी ढंगले अघि बढाएका छौं ।