स्कोप बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न भएको छ । संस्थाको हिजो सम्पन्न ३०औं बार्षिक साधारण सभाको अवसरमा २५ बर्षदेखि संस्थामा आवद्ध रहेका संस्थापक २७ जना समेत १४१ जना सदस्यहरुलाई सम्मान गरिएको थियो । त्यसैगरी सभामा संस्थामा निरन्तर १५ बर्षदेखि सेवा गरिरहेका प्रबन्धक बाबुराज बज्राचार्य, सरिता बज्राचार्य, स्मृति बज्राचार्य र कृष्णराज बज्राचार्यलाइ सम्मान गरिएकाे थियाे । त्यसैगरी सभामा ५ जना उत्कृष्ट बचतकर्ता, ४ जना उत्कृष्ट शेयर सदस्य, १० जना उत्कृष्ट ऋणी र २ जना उत्कृष्ट नारी बचतकर्तालाई समेत सम्मान गरिएको थियो ।
संस्थाले साधारणसभालाइ तामझामरहित बनाउने उदेश्यले प्रमुख अतिथि बिना नै साधारण सभा गरेको हाे । वर्तमान सहित ८ जना पूर्व अध्यक्षहरुले संयुक्त रुपमा सभाको उद्घाटन गरेका थिए ।
सभामा अध्यक्ष बीरकाजी शाक्यले बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको सम्पुर्ण ऋण लगानी नियम अनुसार सदस्यहरुकै माझमा गर्दै आएको उनले जानकारी दिए। संस्थामा गत असार मसान्तसम्म ७ करोड ८ लाख २६ हजार शेयर पुँजी र ९७ करोड २४ लाख ६५ हजार कुल सम्पत्ति पुगेको छ।
संस्थाको जगेडा तथा अन्य कोषमा गरी ११ करोड ८७ लाख ६२ हजार पुगेको छ । संस्थाले गत आर्थिक बर्षको असार मसान्तसम्म ७१ करोड ५५ लाख ८१ हजार बचत संकलन, ७४ करोड २० लाख ६९ हजार ऋण लगानी र कर राजश्वमा ७५ लाख २८ हजार योगदान गरेको छ । संस्थाले त्यस अवधिमा २ करोड १६ लाख ४६ हजार खुद बचत आर्जन गरेको छ ।
सहकारी संस्थाहरुले रोजगारी सृजना,महिला सशक्तिकरण र वित्तीय पहुँचमा महत्वपूर्ण भुमिका खेल्दै आएको भएपनि पछिल्लो समयमा कतिपय संस्थामा सुशासनको अभाव र कम्जोर नियमनका कारण सहकारी अभियानमा चुनौती थपिएको बताए ।
सदस्यहरूबाट संकलित बचतलाई सिमित व्यक्तिले परिचालन गरेको कारण सदस्यहरुको बचत फिर्ता गर्न नसक्दा सहकारी प्रति आम सदस्यको विश्वास घटेको उनले बताए । समुदायमा आधारित रहेर ऐन नियम अनुसार सञ्चालन भएका र सरकारलाई कर तिर्दै आएका संस्थाहरुको राज्यले संरक्षण गर्नु पर्ने उनको भनाई छ ।
सहकारीको माध्यमबाट बचत लगायत अन्य वित्तीय कारोबार गर्ने सस्कार सहकारीले युवा पुस्तामा विकास गर्न सकेको उनले जनाए । बचत ऋणको सेवा मार्फत सदस्यको जीवनस्तरमा सकरात्मक रुपान्तरण ल्याउन सकेको उनले सभामा जानकारी दिए । कतिपय सहकारी संस्थाले सदस्यको बचत फिर्ता गर्न नसकी रहेको अवस्थामा स्कोप सहकारीले पर्याप्त तरलता लिएर बसेको र सदस्यले मागे अनुसारको जति पनि बचत फिर्ता गर्न संस्था सक्षम रहेको उनको भनाई छ ।
संस्थाले चालु आर्थिक बर्षमा सदस्य वृद्धि गर्ने, रोजगार मुलक परियोजनाका लागि ऋण लिई रोजगारी सृजनामा गरेको योगदानका आधारमा सदस्यहरुलाई ब्याजदरमा छुट दिने,सहकारी शिक्षा र वित्तीय साक्षरता सञ्चालन गर्ने योजना बनाएको छ ।
सभामा लेखासुपरिवेक्षण समितिको तर्फबाट संयोजक मैया बज्रचार्यले समितिको प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको विद्यमान निष्कृय बचतहरुलाई परिमार्जन गर्न सुझाव दिईन् । सभाको सञ्चालन सचिव आनन्द वीर बज्राचार्यले गरेका थिए । सभाले सदस्यलाई १२ प्रतिशत लाभांश दिने प्रस्ताव समेत पारित गरेको छ । सभाले बचत र ऋणकाे काराेबारकाे अनुपातमा सदस्यहरूलाइ संरक्षित पुँजी फिर्ता काेषबाट रकम उपलब्ध गराउने भएकाे छ । संस्थामा ४ हजार ५६१ सदस्य आवद्ध रहेका छन् ।
