यही असोज २५ र २६ गते राष्ट्रिय सहकारी बैंकले “दिगो, पारदर्शी र जोखिमरहित सहकारी लेखा सुपरीवेक्षण समितिको जिम्मेवारी” भन्ने थिमसहित लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठी–२०८० आयोजना गर्दै छ । उक्त गोष्ठीमा विधिन्न विधामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तित्वहरुबाट कार्यपत्र प्रस्तुत हुने र गोष्ठी सहभागीहरुका लागि अत्यन्त उपलब्धीमूलक हुने सहकारी बैंकका लेखा सुपरीवेक्षण समितिका संयोजक लक्ष्मी उप्रेती बताउँछन् । सहकारी संस्थाहरुमा आन्तरिक नियन्त्रण प्रणाली कमजोर भएका कारण सहकारी संस्थाहरु समस्यामा परेको भन्दै उनले अब लेखा समितिको भूमिकालाई प्रभावकारी रुपमा अगाडि बढाउन गोष्ठीले सहयोग पुर्याउने जनाए ।
समितिको भूमिकालाई थप प्रभावकारी बनाई सहकारीमा सुशासन एवं आन्तरिक नियन्त्रण पद्धति स्थापना गरी दिगो सहकारीको निर्माणमा गोष्ठीले योगदान पुर्याउने उनको विश्वास छ । गोष्ठीको आवश्यकता, तयारी र यसको उपलब्धीका बारेमा केन्द्रित रहेर राष्ट्रिय सहकारी बैंकका लेखा सुरपरिवेक्षण समितिका संयोजक लक्ष्मी उप्रेतीसँग नेपालपत्रन्यूजले गरेको संक्षिप्त कुराकानी:
राष्ट्रिय सहकारी बैंकले लेखा सुपरीवेक्षण समितिको २ दिने राष्ट्रिय गोष्ठी आयोजना गर्नुको उद्देश्य के हो ?
सहकारी क्षेत्रको आन्तरिक नियामक निकायको रुपमा लेखा सुपरिवेक्षण समितिलाई लिइन्छ । सहकारी सदस्यहरुको स्वनियमनमा चल्ने संस्था हो । साधारण सभाले सञ्चालक समिति र लेखा सुपरिवेक्षण समिति छनौट गर्छ र चुनिएर आएका सञ्चालकहरुले संस्था सञ्चालन गर्छन् । सहकारी विभाग, स्थानीय र प्रदेश सरकारका सहकारी शाखा तथा महाशाखा र नेपाल राष्ट्र बैंक सहकारी संघसंस्थाको बाह्य नियामक निकाय हुन् । जहाँ लेखा सुपरीवेक्षण समिति सक्रिय हुन्छ त्यहाँ आन्तरिक समस्या प्राय: कम हुन्छ । अहिले सहकारी क्षेत्रमा बाह्य कारणले भन्दा पनि आन्तरिक कारणले संस्थाहरु बढी समस्यामा परेका छन् । त्यसकारण आगामी दिनमा यस प्रकारका समस्याहरु संस्थामा नआओस्, आन्तरिक नियन्त्रण प्रणाली व्यवस्थित होस्, वित्तीय कारोबार पारदर्शी होस्, नियामक निकायले सहकारीमाथि प्रश्न उठाउन नपरोस् भन्ने हो । यी कुरालाई व्यवस्थित गर्न लेखा समितिको भूमिका महत्वपूर्ण छ भनेर उजागर गर्नु र उक्त समितिमा आवद्ध भएका व्यक्तिहरुलाई प्रशिक्षित गर्नु नै गोष्ठीको मुख्य उद्देश्य हो ।
दुई दिनसम्म सञ्चालन हुने गोष्ठीमा केकस्ता विषयहरुमा छलफल तथा सिकाई हुन्छ ?
सहकारिताको क्षेत्रमा लेखा सुपरीवेक्षण समितिको भूमिकासँग सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा भए गरेका असल अभ्यासहरुलाई विषयविज्ञहरुबाट प्रस्तुत गर्छौं । नेपालकै सन्दर्भमा लेखा सुरिवेक्षण समितिको अभ्यास कस्तो छ, लेखा सुपरिवेक्षण समितिले कुन ढंगले काम गरिराखेका छन् ? लेखा समितिसँग, सहकारी ऐन र मुल्यमान्यताले गरिएको अपेक्षा के हो ? हुनुपर्ने के हो र अहिले के भइराखेको छ ? जस्ता विषयवस्तु उजागर गरेर सहकारी संस्थाभित्रको आन्तरिक नियन्त्रण प्रणालीलाई कसरी प्रभावकारी बनाउन सकिन्छ र यसमा लेखा समितिको भूमिका के हुनुपर्छ भन्नेजस्ता विषयहरुमाथि छलफल तथा अन्तक्र्रिया हुन्छ । र यो गोष्ठी लेखा समितिमा रहेका सदस्यहरुका लागि अति नै फलदायक हुने अपेक्षा हाम्रो छ ।
यो गोष्ठी सहकारी संस्थाको लेखा सुपरिवेक्षण समितिमा रहेर काम गरिरहनुभएकाहरुका लागि कसरी उपयोगी हुनेछ ?
गोष्ठीको एकसुत्रीय उद्देश्य भनेकै लेखा सुपरिवेक्षण समितिलाई प्रभावकारी बनाउने र समितिले निर्वाह गनुपर्ने भूमिकाको बारेमा अवगत गराउनु हो । कतिपय सहकारी संस्थामा समितिको लागि मात्रै समिति बनेको छ । लेखा समितिले धेरै काम गर्नुपर्दैन, सञ्चालक समिति र व्यवस्थापकले गरिहाल्छन् नि भन्ने आम बुझाई छ । तर त्यो भन्दा माथि उठेर समितिले काम गर्नुपर्छ । उक्त समिति साधारण सभाबाट निर्वाचित भएर आउने भएकाले सञ्चालक समितिले गरेका गलत निर्णय र कामकारवाहीमाथि प्रश्न उठाउन सक्ने सशक्त अंग हो । सुपरिवेक्षण समितिको सन्दर्भमा ऐनकानुनले व्यवस्था गरिदिएको भूमिका, काम, कर्तव्य र अधिकारलाई गोष्ठीमार्फत् स्थापित गर्छाैं । कतिपय संस्थाहरुमा सुपरिवेक्षण समितिको भूमिका असाध्यै राम्रो छ भने धेरै संस्थामा सुपरिवेक्षण समितिको भूमिका प्रभावकारी रहेको छैन । त्यो भूमिका स्थापित गराउन गोष्ठी लाभदायी हुनेछ । गोष्ठीबाट उपलब्धी हासिल गर्न सकिन्छ भन्नेमा हामी आयोजकहरु विश्वस्त छौं ।
सहकारी संस्थाहरुमा सञ्चालक समिति नै सक्रिय भएको पाइन्छ नि । सुपरीवेक्षण समिति त ऐनले परिकल्पना गरेको भएर मात्रै गठन भएको हो जस्तो देखिन्छ, समितिको काम कर्तव्यका विषयमा सुसचित नभएर ओझेलमा परेको हो त ?
सञ्चालक समिति र लेखा सुपरीवेक्षण समिति साधारण सभाबाट सर्वसम्मत् वा निर्वाचन प्रक्रियाबाट आउँछन् । अधिकारको हिसाबले दुवै समिति बराबर हुन् । तर त्यसो भनिरहँदा दुवै समितिले गर्ने काम भने एकै होइन । यसको क्षेत्र फरकफरक छ । सञ्चालक समिति कार्यकारी भूमिकामा हुन्छ । उसले निर्णय गर्छ । कर्मचारी प्रशासनद्वारा निर्णय कार्यान्वयन गराउँछ । लेखा समिति नै त्यस्तो अंग हो जसले संस्था भित्र आन्तरिक नियामक निकायको रुपमा काम गर्छ । सञ्चालक समितिका अध्यक्ष वा पदाधिकारीले काम गर्ने सिलसिलामा तलमाथि गरेको रहेछ भने त्यसलाई हेर्न सक्ने र त्यो नगर भनेर भन्न सक्ने निकाय भनेको सुपरीवेक्षण समिति हो । समितिले दिएको सुझाव कार्यान्वयन नगरेमा वा सञ्चालक समितिको कार्यशैलीमा सुधार नआएमा विशेष साधारणसभा बोलाएर सदस्यहरुमाझ कुरा राख्न सक्ने निकाय भनेको नै लेखा सुपरीवेक्षण समिति हो र त्यसकारण नियमनको हिसाबले सञ्चालक समिति भन्दा सुप्रिम पोजिसनमा लेखा समिति रहन्छ । लेखा समितिले यो गर, त्यो गर भनेर सञ्चालक समिलिाई निर्देशन दिने काम गर्दैन । तर सुपरीवेक्षण, नियमन, अनुगमनका हिसाबले भन्ने हो भने सञ्चालक समितिले गरेको निर्णय ऐन कानुनसम्मत छ कि छैन भनेर हेर्ने, सदस्यको हितसँग बाझिने निर्णय गरेको छ भने त्यसो नगर्न सुझाव दिने, गलत निर्णयहरु भएका छन् भने सुधार गर्न समय दिने जस्ता थुप्रै भूमिका लेखा समितिको रहन्छ । तसर्थ समितिको भूमिका र क्षेत्राधिकार स्थापित गर्न पनि यो गोष्ठी आयोजना गरेका हौं ।
नेपालमा झण्डै ३० हजार सहकारी छन्, तपाईंले माथि भनेका काम कति संस्थाका लेखा समितिले गरेका छन् ? त्यसको यकिन तथ्यांक छ ?
छँदैछैन भन्ने होइन । राम्रा संस्थाहरुमा लेखा समितिको भूमिका प्रभावकारी छ । जुन संस्थामा सो समिति क्रियाशील छ, जुन संस्थामा उसले आफ्नो भूमिका अनुसारको काम गरेको छ, सञ्चालक समितिले पनि संस्थाभित्र लेखा समितिलाई काम गर्ने बातावरण बनाइदिएको छ त्यस्ता संस्थाहरुमा आन्तरिक नियन्त्रण प्रणाली प्रभावकारी र पारदर्शिता कायम छ । जुन संस्थाले समितिको भूमिकालाई प्रभावकारी ढंगले लागु गर्न दिएका छन् ती संस्थाहरुमा अहिले वित्तीय मन्दीको प्रभाव र बचत फिर्ता गर्न नसक्ने समस्या देखिएको छैन । त्यसकारण लेखा समितिको अभ्यास सहकारीमा छँदै छैन भन्न मिल्दैन । ३०/३५ हजार सहकारी संस्थामध्ये १२–१५ प्रतिशत संस्थामा समितिको भूमिका प्रभावकारी छ । क्रमश: लेखा समितिको भूमिकालाई स्थापित गर्न आवश्यक छ ।
सहकारी क्षेत्रमा सञ्चालक समितिले बचत हिनामिना गरेको र सदस्यले भनेको समयमा बचत फिर्ता नपाएको जुन समस्या छ, यदि लेखा समिति सक्रिय भएको भए यो अवस्था आउँदैनथ्यो ?
संस्थाको आन्तरिक कारणले सृजना भएका जति पनि समस्या छन्, ती समस्या लेखा समितिको सक्रियताले निराकरण गर्न सक्थ्यो । कतिपय संस्थामा बाह्य परिस्थितिका कारणले पनि समस्या आएको छ र त्यो समस्या लेखा समिति सक्रिय भएर पनि समाधान हुन सक्दैन । अहिले जतिपनि संस्थामा समस्या देखिएको छ, अधिकांश संस्थाहरु आन्तरिक कारणले गर्दा समस्यामा परेका छन् । सञ्चालक समितिले सदस्यको पुँजीलाई दुरुपयोग गरेको र सदस्यको बचतलाई आफ्नो निजी सम्पत्ति जस्तो गरी प्रयोग गरेको कारणले समस्या आएको छ । संस्थाबाट संकलित पुँजीलाई आफ्नो निजी व्यवसाय र ठूल्ठूला प्लटिङमा लगानी गरेको कारण आज संस्थाहरु संकटमा परेका हुन् । ती संस्थामा लेखा समिति क्रियाशील थियो भने सदस्यबाट उठाएको पैसा कहाँ लगानी भएको छ भनेर हेर्नसक्थ्यो । नियम विपरित लगानी भएको रहेछ भने समितिले त्यो नगर्न निर्देशन दिन सक्थ्यो । यदि समितिले भनेको मान्दैनौं भने भने साधारणसभा मार्फत सदस्यलाई जानकारी दिन्छौं भनेर लेखा समितिले भन्न सक्थ्यो । त्यो भएको भए सञ्चालक समिति र कर्मचारीले नीति नियम अनुसार आफ्नो काम गर्थे । त्यसले गर्दा सहकारी संस्थामा संकट आउँदैन थियो । सहकारी क्षेत्रमा समस्या आउनुमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मन्दी पनि कारण होला तर मुख्य कारण भनेको संस्था भित्रको आन्तरिक समस्या नै हो । अहिले ३० हजारको हाराहारीमा सहकारी संस्था मुलुकमा छन् भनिरहँदा सबै संस्थामा ताला त लागेको छैन नि । अधिकांश सहकारीले २०/२५ प्रतिशतको तरलता लिएर बसेका छन् । सदस्यले जतिखेर बचत फिर्ता मागे पनि दिन तयार छन् । त्यो हुनुमा सुशासनयुक्त संस्था सञ्चालन नै हो र त्यसमा लेखा समितिको भूमिका प्रभावकारी रह्यो । लेखा समितिले ऐन कानुनलले परिकल्पना गरेको भूमिका निर्वाह गर्ने हो भने आन्तरिक कारणले सृजना हुने समस्या संस्थामा आउँदैन ।
आयोजकको तर्फबाट सहभागीलाई के अपील गर्नुहुन्छ ?
एक जना सहभागी बराबर १५ हजार रुपैयासम्म खर्च हुन्छ तर बैंकले त्यसमा केही हिस्सा आफैंले व्यहोरेर भएपनि सहभागीको लागत कम गराएको छ । मन्दीको अवस्थामा गोष्ठीमा किन जाने र लगानी किन गर्ने भन्ने कुराबाट माथि उठेर सबैलाई सहभागी हुन म आग्रह गर्दछु । यो गोष्ठी हाम्रो सिकाइका लागि हो । सिकाइले संस्थाहरुलाई नै व्यवस्थित गराउन मद्दत गर्छ । त्यसकारण गोष्ठीमा सहभागि हुँदा लाग्ने रजिष्ट्रेशन शुल्क र जाँदाआउँदा लाग्ने खर्चलाई खर्चको रुपमा नलिइ संस्थाको आन्तरिक सुशासनलाई व्यवस्थित गर्न गरिएको लगानी हो भनेर लिइदिन सबै संघसंस्थालाई हाम्रो अनुरोध छ । लेखा सुपरीवेक्षण समितिका सदस्यहरुलाई उत्साहजनक रुपमा सहभागि भइदिनुहुन र सञ्चालक समितिले पनि यो लेखाको तालिम हो किन जानु भन्ने हिसाबले निरुत्साहित नगरिदिनुहुन हाम्रो आग्रह छ । लेखा समितिका सदस्यहरुलाई गोष्ठीमा सहभागि हुने बातावरण मिलाइ दिनुहुन म सबै संघ/संस्थालाई अनुरोध गर्दछु । म बैंकको लेखा सुपरिवेक्षण समितिको संयोजक र कार्यक्रमको आयोजक समेत भएको नाताले सबैमा हार्दिकतापूर्वक सहभागिताका लागि अनुरोध गर्दछु ।