मंगलबार, कार्तिक ११ गते २०८३

जनउत्थान साकोसको १८ औं साधारण सभा सम्पन्न, सदस्यलाई १३.३० प्रतिशत लाभांश दिने

आश्विन १४, २०८० आइतबार
जनउत्थान साकोसको १८ औं साधारण सभा सम्पन्न, सदस्यलाई १३.३० प्रतिशत लाभांश दिने


तिलोत्तमा नगरपालिका–१५ कोटिहवा, रुपन्देहीमा रहेको जनउत्थान बचत तथा ऋण सहकारी संस्थाको १८ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष ज्ञानु पौड्यालको अध्यक्षता एंव रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको  हो । सभा बोल्दै अर्यालले वित्तीय  संकटको बीचमा पनि जनउत्थानले  सदस्यका माझ राम्रो छवि बनाएको बताए ।  

उनले अर्थतन्त्रको तीन मध्ये एक खम्बाको रुपमा राज्यले सहकारीलाई  लिएको र त्यो अनुसार सहकारी चले कि चलेनन् भन्ने समीक्षा गर्ने बेला भएको बताए ।  सभामा अध्यक्ष पौड्यालले २१ बर्ष अगाडि ३१ जना सदस्यबाट मासिक एक सय रुपैयाबाट संस्था सुरु गरेको र २०६३ साल कात्तिक १ गतेबाट भने विधिवत् रुपमा कार्यालय स्थापना गरी वित्तीय कारोबार सुरु गरेको बताइन् ।

संस्थाले सहकारी संस्थाहरुसँग एकीकरण प्रक्रियालाई पनि निरन्तरता दिएको र हालसम्म ७ वटासँग एकीकरण गरिसकेको सभामा  उनले जानकारी दिईन् ।संस्थाले राष्ट्रिय तथा अन्तराष्ट्रिय सहकारीका सिद्धान्तहरुलाई आत्मसात गर्दै अघि बढेको र बचत तथा ऋणको माध्यमबाट सदस्यहरुको आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरणको लागि काम गर्दै आएको उनको भनाई छ। संस्थाले यस अवधिसम्म आईपुग्दा सदस्यहरुलाई व्यवसायिक रुपमा सक्षम बनाउन सकेकोमा उनले गर्व गरिन् । यसियाली ऋण महासंघको प्राविधिक सहयोगमा नेप्स्कूनबाट सञ्चालित एक्सेस ब्राण्डिङ कार्यक्रममा सहभागी भई संस्थाले  हालै मात्र सिल्भर ब्राण्ड प्राप्त गर्न सकेको पौड्यालले बताइन् । संस्थाले गर्भदेखि स्वर्गसम्मको लागि आवश्यक पर्ने बचतका प्रकारहरु सञ्चालनमा ल्याउने, सहकारी शिक्षा कार्यक्रम सञ्चालन गरी सहकारीको महत्वका वारेमा बुझाउने र विद्यालयमा विद्यार्थी क्लब स्थापना गरी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने उनले जानकारी दिईन् ।

संस्थाकी सचिव सरु रानाले सभामा वार्षिक  प्रतिवेदन प्रस्तुत गर्दै कुल सदस्य मध्ये १० हजार २४२ जना सदस्यले संस्थाबाट ऋण लिएर विभिन्न पेशा तथा व्यवसाय गर्दै आएको जनाइन् । संस्थाले सदस्य लक्षित विभिन्न कार्यक्रम सञ्चालन गरेको र त्यस कार्यक्रमबाट गत आर्थिक बर्षमा पनि धेरै सदस्य लाभान्वित भएको उनले सभामा जानकारी दिइन् । संस्थाले गत वर्ष सामाजिक कार्यको लागि ११ लाख ८१ हजार खर्च गरेको उनको भनाई छ । संस्थाकी कोषाध्यक्ष विष्णुमाया कुँवरले आर्थिक बर्ष २०७९/८० को आर्थिक प्रतिवेदन सभामा प्रस्तुत गर्दै गत बर्षको मुनाफाबाट सदस्यलाई १३.३० प्रतिशत लाभांश वितरण गरिने जानकारी दिइन् ।

संस्थाले गत आ.व.को असार मसान्तसम्म  ४० हजार ६४३ जना सदस्यबाट ३० करोड ९७ लाख शेयर पुँजी संकलन गरेको छ । त्यसैगरी यस अवधिमा  बचत संकलन २ अर्ब ५८ करोड १० लाख, ऋण लगानी २ अर्ब ५७ करोड ६ लाख र शुद्ध बचत ११ करोड ३२ लाख रहेको छ । संस्थाले गत आ.व.मा ३ अर्ब ३० करोड ९७ लाख कुल सम्पत्ति पुर्याएको छ । संस्थाको जगेडा कोषमा २८ करोड  १० लाख रकम जम्मा भएको  छ । रुपन्देही जिल्लाभर कार्यक्षेत्र रहेको संस्थाले १० वटा सेवा केन्द्र मार्फत सदस्यलाई वित्तीय लगायतका अन्य सेवा प्रदान गर्दै आएको छ ।