अन्नपूर्ण बहुमुखी सहकारी संस्थाले सदस्यले उत्पादन गरेको कृषि उपजहरुको बजारीकरणको लागि सघाउने भएको छ । संस्थाले २६ औं वार्षिक साधारण सभामार्फत यस आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कृषि उत्पादन बढी हुने क्षेत्रमा सहुलियत कृषि कर्जा उपलब्ध गराई त्यस क्षेत्रबाट उत्पादित तरकारी तथा खाद्यन्नलाई सदस्यको मागका आधारमा बजारीकरण गर्ने जनाएको छ ।
त्यसैगरी संस्थाले अन्नपूर्ण तरकारी तथा फलफुल बजारमा वास्तविक कृषकको पहिचान गरी बागमती प्रदेश कृषि मन्त्रालयसँग समन्वय गरी ५ प्रतिशत कृषकलाई विना भाडामा स्टल उपलब्ध गराउने अध्यक्ष देवराज न्यौपानेले बताए । संस्थाले सञ्चालन गरेको तरकारी तथा फलफुल बजारको स्तरोन्नति गरिने तथा तरकारी तथा फलफुल व्यवसायमा लागेका सदस्यलाई सरल कजाए उपलब्ध गराउने उनल जनाए ।
लघुवित कार्यक्रमलाई थप प्रभावकारी बनाउने र ग्रामीण भेगका सदस्यलाई लघु वित्त मोडेलमा लगानी गर्ने र ऋण लगानी गर्दा परियोजनाको अध्ययन गरी ऋण सदुपयोगिताको जाँच गर्ने र सदस्यहरुमा उद्यमशीलता विकास गर्न विभिन्न तालिमहरु सञ्चालन गर्ने उनले बताए । आर्थिक बर्ष २०७९।८० को अन्त्यसम्म संस्थामा ४ हजार २०७ सदस्य आवद्व रहेको छन् । संस्थाको शेयर पुँजी ९ करोड ६ लाख, जगेडा कोष ३ करोड ५२ लाख, बचत ५४ करोड ३८ लाख ८२ हजार, ऋण लगानी ७१ करोड २ लाख गरी कुल कारोवार ८४ करोड ८९ लाख ५६ हजार पुगेको छ । संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान जस्ता विविध कार्यक्रम गर्दै आएको छ भने सदस्यको मृत्यु भएमा किरिया खर्च वापत १० हजार प्रदान गर्दै आएको छ ।
सदस्यमा वित्तीय ज्ञान विकास गर्न सहकारी शिक्षा कार्य क्रम सञ्चालन गर्दै आएको जनाएको छ । संस्थाले सुविधा, व्यवसायिक, आवधिक, शैक्षिक, हायर पर्चेज, कर्मचारी, आवास, कृषि, युवा स्वोराजगार, बजार धरौटी र लघुवित्त कर्जा लगानी गर्दै आएको छ ।
नेपालपत्र संवाददाता