ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेडको आयोजनामा असोज चौंथो हप्ता सञ्चालन हुन लागेको ‘लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठी–२०८०’ को रजिष्ट्रेसन खुल्ला भएको छ।
“दिगो, पारदर्शी र जोखिम रहित सहकारी: लेखा सुपरीवेक्षण समितिको जिम्मेवारी” भन्ने थिममा असोज २५ र २६ मा काठमाडौंको याक एण्ड यती होटलमा गोष्ठी हुने छ । गोष्ठीमा सहभागिताका लागि अनलाइन पोर्टल https://events.ncbl.coop मार्फत फारम भर्न सकिने बैंकले जनाएको छ ।
गोष्ठीमा सहकारी संघ/संस्थाका लेखा सुपरिवेक्षण समितिका संयोजक तथा सदस्यहरु, सहकारी र सहकारीका सरोकारवाला निकायहरुका प्रतिनिधिहरु र इच्छुक व्यक्ति तथा संघ/संस्थाका प्रतिनिधि समेत करिब ५ सय जना भन्दा बढीको सहभागिता रहने जनाइएको छ ।
सहकारी संघ/संस्थाहरुको आर्थिक अवस्था, संस्थागत विकास र सन्तुलित वित्तीय कारोबारमा लेखा सुपरीवेक्षण समितिको भूमिकालाई थप प्रभावकारी बनाउन सहयोग पुर्याउने उद्देश्यले गोष्ठी सञ्चालन गर्न लागेको बैंकका अध्यक्ष के.बी उप्रेतीले बताए ।
गोष्ठीमा लेखा सुपरीवेक्षण समितिले तयार गर्ने प्रतिवेदनको ढाँचा र प्रतिवेदनमा समावेश गर्ने विषयहरुमा छलफल हुनेछ । त्यसैगरी सहकारीमा स्वनियमन र संस्थागत सुशासन अभिवृद्धिका लागि लेखा सुपरीवेक्षण समितिको सक्रिय भूमिकाको बारेमा स्पष्ट मार्गदर्शन प्रदान गरी सहकारीमा जोखिम व्यवस्थापन र वित्तीय अनुशासनका लागि लेखा सुपरीवेक्षण समितिको स्पष्ट कार्यदिशा तय गर्न यसले सघाउ पुर्याउने अपेक्षा अध्यक्ष उप्रेतीको छ ।
बैंकले पहिलो पटक गर्न लागेको गोष्ठीमा सहकारी संघ/संस्थाहरुको आन्तरिक नियन्त्रणका लागि प्रभावकारी औजार तथा प्रणाली विकासका सम्बन्धमा बहस र छलफल हुनेछ । दुई दिन सम्म सञ्चालन हुने गोष्ठीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषय विज्ञहरुद्वारा ८ वटा विषयहरुमा कार्यपत्र प्रस्तुत हुने बैंकको लेखा सुपरिवेक्षण समितिका संयोजक लक्ष्मी प्रसाद उप्रेतीले जानकारी दिए ।
सहकारीको आन्तरिक नियन्त्रण प्रणाली, वित्तीय क्षेत्रको नियामक र सहकारीका विज्ञहरुबाट सञ्चालन गरिने गोष्ठीबाट सहकारीको मूल्य, सिद्धान्त र सहकारीको दर्शन र स्वनियमनमा आधारित भएर सहकारी संस्थाहरु सञ्चालित हुने र लेखा सुपरिवेक्षण समितिको कार्यक्षेत्रभित्र रहेका सहकारी संस्थाको आन्तरिक नियन्त्रण प्रणालीलाई बलियो बनाउनको लागि नीतिगत विषयमा दक्षता अभिवृद्धि हुनेछ । त्यसैगरी विद्यमान अवस्थामा सहकारी क्षेत्रमा देखिएका चुनौति पहिचान गरी समाधानको लागि संस्थागत तयारी गर्न मद्दत पुग्ने अपेक्षा गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागार्इंले बताए ।