चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था को ३१औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष नविन भक्त बादे श्रेष्ठको अध्यक्षता एवं बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि महर्जनले सञ्चालकहरुमा देखिएको आर्थिक पारदर्शिताको कमी, कमजोर सुशासन र व्यक्तिगत स्वार्थको कारण सहकारीमा समस्या आएको बताए । समुदायमा छरिएर रहेको स–सानो पुँजी संकलन गरी राष्ट्रिय पुँजी निर्माणमा सहकारीले सघाउ पुर्याउन सक्ने भन्दै उनले उक्त पुँजीलाई सदस्यमाझ उत्पादनमुलक क्षेत्रमा लगानी गर्न सके रोजगारी सिर्जना र राष्ट्रिय उत्पादन बढ्ने बताए ।
सभामा संस्थाका अध्यक्ष श्रेष्ठले विगत ३ वर्षदेखि वित्तीय बजारमा देखिएको नकारात्मक प्रभावका वावजुद पनि संस्थाले गत आ.व. मा गुणात्मक वृद्धि गर्न सकेको बताए । वित्तीय मन्दीका बावजुद पनि संस्थाले सञ्चालन मुनामा र भाखा नाघेको कर्जामा सुधार गरी २.४९ प्रतिशतमा राख्न सकेको उनले जनाए ।
संस्था नेफ्स्कुनले सञ्चालन गरेको एक्सेस ब्राण्ड कार्यक्रममा सहभागि रहेको र स्तरोन्नति गर्दै यस वर्ष सिल्भरमा उक्लिएको उनले बताए । नेपालकै एक अग्रणी, गुणस्तरीय र दीगो संस्थाको रुपमा चण्डेश्वरी साकोस स्थापित भएको उनले सभामा बताए ।
संस्थाका सचिव बुद्ध रत्न मानन्धरले संस्थाको आ.व. २०७९।८० को नीति तथा कार्यक्रमको समिक्षा र आव २०८०।८१ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । संस्थाको मुल उद्देश्य सदस्यबाट संकलित पुँजीलाई सदस्यहरुकै आर्थिक उपार्जनमा लगाउनु रहेको भन्दै उनले सदस्यहरुमा सीप र पुँजी प्रदान गरी उनीहरुको आर्थिक स्तर उकास्ने काममा संस्था लागिपरेको बताए ।

संस्थाका कोषाध्यक्ष गणेश कुमार रञ्जितले संस्थाको आव २०७९।८० को आर्थिक प्रगति समीक्षा र आव २०८०।८१ को आर्थिक कार्यक्रम र बजेट सभामा प्रस्तुत गरेका थिए ।
त्यसैगरी संस्थाका लेखा सुपरीवेक्षण समितिका संयोजक राम प्रसाद श्रेष्ठले संस्थाको गत आव २०७९।८० को समग्र समीक्षा प्रतिवेदन सभामा पेश गरेका थिए ।
आ.व. २०७९।०८० को अन्त्य सम्ममा संस्थामा ९ हजार १ सय २२ सेयर सदस्य रहेका छन् भने रू. १ अर्ब २५ करोडको कुल सम्पत्ति रहेको छ।
संस्थाले सो अवधिमा ११ करोड १५ लाख शेयरपुँजी संकलन गरेको छ भने संस्थाको जगेडा कोषमा १३ करोड रहेको छ । त्यसैगरी बचत संकलन ९६ करोड ७६ लाख गरेको संस्थाले ९७ करोड २७ लाख कर्जा सदस्यहरुमा लगानी गरेको छ। संस्थाले आयकर अघि ४ कराेड ५९ लाख ९७ हजार नाफा आर्जन गरेकाे छ।
साधारणसभाले गत आव २०७९।८० को नाफाबाट १५ प्रतिशतका दरले सदस्यहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ।
संस्थाले आगामी आ. व. २०८०।८१ को अन्त्यसम्ममा सदस्य संख्या १० हजार ५ सय, कुल सम्पत्ति १ अर्ब ५३ करोडको पुर्याउने लक्ष्य लिएको छ ।
सभामा विभिन्न विधामा उत्कृष्ट सदस्य, कर्मचारी र विद्यार्थीहरूलाइ सम्मान एवं पुरस्कृत गरिएकाे थियाे ।
नेपालपत्र संवाददाता