मंगलबार, कार्तिक ११ गते २०८३

जनमुखी सहकारीको २६ औं साधारण सभा सम्पन्न, १ करोड ७५ लाख खुद मुनाफा आर्जन 

आश्विन ७, २०८० आइतबार
जनमुखी सहकारीको २६ औं साधारण सभा सम्पन्न, १ करोड ७५ लाख खुद मुनाफा आर्जन 


दोलखाको बैतेश्वर ५ मैनापोखरीमा मुख्य कार्यालय रहेको जनमुखी बचत तथा ऋण सहकारी संस्थाले २७ औँ स्थापना दिवस तथा २६ औँ बार्षिक साधारण सभा सम्पन्न गरेको  छ । संस्थाका अध्यक्ष माधवप्रसाद दहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेफ्स्कुनका सञ्चालक तथा बागमती प्रोस्कुनका महासचिव जिवसराज खड्काको प्रमुख आतिथ्यता, वैतेश्वर गापा अध्यक्ष छवि लामा र उपाध्यक्ष कल्पना उप्रेतीको विशेष आतिथ्यता रहेको  थियो ।

सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि खड्काले दोलखा जिल्ला सहकारीको हवको रुपमा विकास हुँदै गईरहेकोले जिल्लामा स्थापित सहकारी संस्थाहरुले स्थानिय निकायसँग समेत सहकार्य गर्दै उद्यमशिलता विकासका कार्यक्रमहरु ल्याउनपुर्ने  बताए ।  कार्यक्रममा बोल्दै विशेष अतिथि छबि लामाले सहकारी संस्थाले युवालाई लक्षित गरी रोजगार सृजनाका कार्यक्रमहरु ल्याउनुपर्ने मा जोड दिए । सभामा संस्थाका अध्यक्ष दाहालले सहकारीले ग्रामिण समूदायको श्रम ,सिप र स सानो पुँजीलाई एकिकृत गरी उत्पादनशील क्षेत्रमा लगानी गर्दै आएको बताए । संस्थाले कृषि,पशुपालन ,व्यापार व्यवसाय र स सानो उद्योगहरु सञ्चालनका लागि लगानी गरी नागरिकको जिवीकोपार्जन र आयस्तरमा वृद्धि गर्न सघाउँदै आएको उनले बताए । संस्थाका सचिव लक्ष्मण चौलागाईले बार्षिक प्रतिवेदन र कोषाध्यक्ष राजन के.सी.ले आर्थिक बर्ष २०७९/८० को वित्तीय प्रतिवेदन सभामा प्रस्तुत गरेका थिए ।

382745623_697701272401404_8844805239472909956_n.jpg

संस्थाले गत असार मसान्तसम्म  ११ करोड ४ लाख शेयर पुँजी, ८ करोड ३६ लाख जगेडा कोष, ९९ करोड २७ लाख बचत संकलन गरी ९७ करोड ५९ लाख ऋण लगानी गरेको प्रतिवेदनमा उल्लेख छ । संस्थाले त्यस अबधिमा १ करोड ७५ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको छ । सदस्यहरुलाई घातक रोग लागि उपचार गर्दा संस्थाले १० हजार  आर्थिक् सहयोग गर्नुका  साथै ७५ बर्ष माथीका सदस्यहरुको जीवनयापनलाई सहज बनाउन जनमुखी जीवनवृति बापत मासिक ५ सय उपलब्ध गराउँदै आएको छ । त्यसैगरी अपङ्गता भएर क वर्गको काड प्राप्त गरेको सदस्यलाई पनि ५ सयका दर प्रदान गर्दै आएको छ भने महिला सदस्य सुत्केरी हुँदा २ हजार सुत्केरी भत्ता प्रदान गर्दै आएको जनाएको छ ।

संस्थाले सामुदायिक विद्यालयमा अध्यनरत जेहेन्दार विद्यार्थीहरुलाई पनि हरेक बर्ष छात्रवृति प्रदान गर्दै आएको  सभामा जानकारी दिइयो । संस्थाका  व्यवस्थापक भेष बहादुर मिजारले संस्थामा २१ हजार ५९४ सदस्य आवद्व रहेको र उनीहरुलाई सहज र सरल रुपमा वित्तीय सेवा प्रदान गर्दै आएको बताए । संस्थाले डिजिटल प्रविधिको प्रयोगलाई उच्च प्राथमिकतामा राखेको बताउँदै सदस्यहरुले मोबाइल, मिसकल,एसएमएस बैकिङ्ग,इन्टरनेट बैकिङ्ग ,कनेक्ट आइपिएसु र क्यु आर कोड प्रयोग गरि वित्तीय कारोबार गर्न सक्ने उनले जानकारी दिए । संस्थाले मुख्य सहित ७ वटा कार्यालयबाट सदस्यलाई सेवा दिँदै आएको छ । संस्थाले भाद्र ३० गतेदेखी  साधारण सभाको सुरु  गरी यसअघि नै चिपचिपे, निगाले, जुँगु, क्षेत्रपा, गैरीमुदी, नाम्दु, मार्बु, चरिकोट र काठमाण्डौ गरी ९ वटा स्थानमा सभा सम्पन्न गरिसकेको थियो । 

 कार्यक्रमा दोलखा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष भुमिराज खड्का, पुर्व पालिका उपाध्यक्ष तथा संस्थाका सल्लाहकार रविचन्द्र आचार्य, जिल्ला सहकारी संघका अध्यक्ष तथा जनसचेतन साकोसका अध्यक्ष हेमन्त चौलागाईं लगायत विभिन्न संघसंस्थाका प्रमुख एवं प्रतिनिधिहरुको अतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन संस्थाका सचिव लक्ष्मण चौँलागाईंले  गरेको थिए भने  स्वागत  संस्थाका सहसचिव विशालराज गिरीले  गरेको थिए ।

381075672_697703115734553_1274660570189696817_n.jpg