शनिबार, आश्विन १७ गते २०८३

वित्तीय कारोबारमा राम्रा दिन आइनसकेकाले सावधानीपूर्वक कारोबार गर्नुस् : पूर्व गभर्नर खतिवडा 


आश्विन ६, २०८० शनिबार
वित्तीय कारोबारमा राम्रा दिन आइनसकेकाले सावधानीपूर्वक कारोबार गर्नुस् : पूर्व गभर्नर खतिवडा 


नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा.युवराज खतिवडाले सहकारीमा यो भन्दा कठिन दिन नआए पनि राम्रा दिन पनि आइनसकेको  बताएका छन् । काठमाडौंको चावहिलमा मुख्य कार्यालय रहेको शुभप्रवा सेभिङ्ग एण्ड क्रेडिट को अपरेटिभको  १४ औं बार्षिक साधारण सभाको प्रमुख अतिथिको रुपमा बोल्दै उनले वित्तीय कारोबारमा राम्रा दिन आउनलाइ अझै समय लाग्ने भन्दै उनले सावधानीपूर्वक वित्तीय कारोबार गर्न आग्रह गरे ।

हौसिएर लगानी गर्दा तरलताको समस्या आउन सक्ने भन्दै उनले सहकारीलाई बचाउने कोही नभएकाले सावधानी अपनाउन सुझाए । सहकारी बैंक र नेफस्कूनको क्षमता आफुलाई थाहा भएकाले समस्या पर्दा ती संस्थाले सहयोग गर्छन् भनेर ढुक्क नहुन उनको आग्रह छ ।

बैंकहरुलाई तरलताको समस्या पर्दा राष्ट्र बैंकले सघाउनुका साथै स्थायी तरलता सुविधा, रि फाईनान्सको सुविधाका साथै बन्ड जारी गर्न सक्छन् तर सहकारीको हकमा त्यस्तो सुविधा दिने कुनै निकाय नभएको उनले प्रष्ट पारे । उनले भने, ‘एउटा सदस्यको चेक साटिएन भने टोल भरी हल्ला हुन्छ र भोलिबाट सदस्यहरु बचत फिर्ताको लागि लाईन लाग्छन्, सहकारीलाई अन्तिम ऋण दाताको सुविधा दिने संस्था छैनन्। ’ सदस्य, सञ्चालक , लेखा समिति र सरकारले आ आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्न सके सहकारी क्षेत्र सुरक्षित र व्यवस्थित बन्दै जाने खतिवडाले बताए ।

सहकारी स्वायत संस्था भएकाले राष्ट्र बैंकलाई जिम्मा दिइयो भने माइक्रो फाइनान्सकै स्थिति हुने उनको भनाई छ । स्वनियमनमा बस्ने संस्थाले म तेरो स्वामित्व स्वीकार गर्छु भनेर राष्ट्र बैंकको पछि लागियो भने सहकारी स्वतन्त्र व्यवसाय नहुने उनले प्रष्ट पारे। सहकारीमा पनि स–साना बचतको सुरक्षा गर्ने व्यवस्था मिलाउन आवश्यक रहेको र त्यसका लागि नयाँ प्रणालीमा जान आवश्यक रहेको खतिवडाले बताए ।

सहकारीको लागि छुट्टै  ऋण सुरक्षा प्रणाली आवश्यक रहेको र कर्जा सुरक्षा केन्द्रमा गएर भिडभाड गर्नु भन्दा  आफ्नै कर्जा सुरक्षा प्रणाली विकास गर्नु पर्नेमा उनले जोड दिए । सहकारी बचत ऋण गर्ने सामाजिक संस्था भएकाले समाजप्रतिको जिम्मेवारी पूरा गनुपर्ने उनको  भनाई छ । संस्थाप्रति सदस्यले र सदस्यप्रति संस्थाले जिम्मेवारी पूरा गर्न सके सहकारीमा समस्या नआउने  उनले प्रष्ट पारे । आन्तरिक लेखा प्रणालीलाई ठिक ढंगले राख्न र लेखा समितिमा भाई भतिज नराख्न उनको सुझाव छ । सदस्यको सक्रियता रहयो भने सहकारी संस्था सुरक्षित रहने उनले बताए ।

आफु राष्ट्र बैंकको गर्भनर हुँदा बैकमा पैसा राख्नुस ,त्यसको अभिभावकत्व राष्ट्र बैंकले प्रदान गर्छ तर ग्यारेन्टी गर्दैन भनेको स्मरण गर्दै सिमित निक्षेपको  कर्जा सुरक्षण कोषमाफर्त सुरक्षणको व्यवस्था मिलाएको बताए । निक्षेप तथा कर्जा सुरक्षण कोषमा बीमा  भएको पैसाको मात्र ग्यारेन्टी हुने र त्यस भन्दा बढी पैसाको कसैले ग्यारेन्टी नलिने उनले प्रष्ट पारे । सहकारीमा बचतको बीमा नभएको र निक्षेप तथा कर्जा सुरक्षणको व्यवस्था नभएकाले सदस्यले नै बचतको सुरक्षण गर्नु पर्नेमा उनले जोड दिए ।

जुन संस्थामा सदस्य सक्रिय छैनन्, सदस्यबीच एकआपसमा चिनजान छैन र सञ्चालक, कर्मचारी र सदस्य चिन्दैनन्, तिनै संस्था समस्यामा पर्ने उनले बताए । निश्चित भौगोलिक क्षेत्र र सदस्य बीच कारोबार नगर्ने सहकारी समस्यामा पर्ने गरेको भन्र्दै गभर्नर खतिवडाले त्यस्ता सहकारीमा कारोबार नगर्न आग्रह गरे । बहुउदेश्यीय नाम दिने तर एकल उदेश्य मात्र गर्ने गरेको भन्दै खतिवडाले बहुउदेश्यीयले सोही अनुसार काम गर्नु पर्नेमा  जोड दिए । नेपालमा ६६ लाख सदस्य भए एक परिवार एक सदस्य सहकारीमा आवद्ध रहेको हुन सक्ने भन्दै उनले सहकारी हाम्रो परिवार र  जीवनसँग सम्बन्धित रहेको उल्लेख गरे । सहकारीको मूल्य मान्यताको परिपालना गरेर सञ्चालन भए सहकारीमा समस्या नआउने प्रष्ट पारे । सहकारी वित्त बजारको पेटीमा  हिँडिरहेको भए पनि अर्काको कारणले कतिपय सहकारी संस्था दुर्घटनामा परेको खतिवडाको भनाई छ । उनले भने, ‘वित्तीय प्रणालीमा ८० प्रतिशत माथि कारोबार गर्ने अरु संस्था छन् ।

बैंक तथा वित्तीय संस्थाले निक्षेपको ब्याजदर बढाएर १३–१४ प्रतिशतसम्म पुर्याए भने ऋणमा १७ प्रतिशतसम्म ब्याज लिए । सहकारीलाई भने सन्दर्भ ब्याजदरको नाममा  सिलिङ्ग लगाएर १६ प्रतिशत भन्दा बढी ऋणको ब्याज लिन दिएन । यसले पनि सहकारीलाई वित्तीय बजारमा प्रतिस्पर्धा गर्न समस्या भयो ।’ सरकारका शासकीय निर्णय र घर जग्गा कारोबारमा लगानी गर्ने प्रतिस्पर्धाले सहकारीलाई समस्यामा पारेको उनले प्रष्ट पारे । उनले थपे,‘चालु पुँजी कर्जा, ओभर डाफ्ट्र वा सफट् लोन जे नामको ऋण भने पनि घर जग्गामा नै लगानी भयो । सहकारीले पनि त्यस क्षेत्रमा नै लगानी गरे । सरकारले घर जग्गाको वर्गीकरण सुरु गर्यो । वर्गीकरण नभई कित्ता काट भएन । कित्ताकाट नभए पछि कारोबार भएन । यसले ऋण असुलीमा प्रभाव पार्यो ।’ बचत पनि आईरहन्छ र लगानी चलिरहन्छ भन्ने हिसाबले सहकारीले ती क्षेत्रमा लगानी गरे, तर त्यो मान्यताले सधै काम नगर्ने उनले प्रष्ट पारे । त्यसैले सहकारीले  जगेडा कोष, पर्याप्त तरलता र लोन प्रोभिजनिङ गर्दै जानु पर्ने उनको भनाई छ ।

बैंकहरुले अनिवार्य रुपमा २० प्रतिशत तरलता राख्नुपर्छ तर एकै दिन कुनै निक्षेपकर्ताले त्यो रकम निकाल्यो भने बैंक पनि डुब्ने भन्दै खतिवडाले वित्तीय क्षेत्र विश्वासमा अडिएको बताए । संस्थाका अध्यक्ष विदुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत फडिन्द्र कुमार खड्काले आर्थिक बर्ष २०७९/८० आर्थिक प्रतिवेदन सभामा प्रस्तुत गरेका थिए ।