शनिबार, आश्विन १७ गते २०८३

बागमती प्रदेश सहकारी संघको तेश्रो साधारणसभा : अभियानकाे प्रवर्धनमा निरन्तर बहस पैरवी गर्दै


भाद्र २९, २०८० शुक्रबार
बागमती प्रदेश सहकारी संघको तेश्रो साधारणसभा : अभियानकाे प्रवर्धनमा निरन्तर बहस पैरवी गर्दै

 

बागमती प्रदेश सहकारी संघको तेश्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । संघका अध्यक्ष रामशरण शर्मा घिमिरेको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि बागमती प्रदेशका संस्कृति,  पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जन रहेका थिए ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेलले सभामा बोल्दै सहकारी सुधार सुझाव कार्यदलले अल्पकालिन, मध्यकालिन र दीर्घकालिन सुधारका बुँदाहरु समेटेर सरकारलाई बुझाएको र समस्या समाधानमा प्रधानमन्त्री दाहालले प्रतिवद्धता जनाएको बताए । सहकारीको समस्या समाधान गर्न सरकार र अभियान सँगै मिलेर जानुपर्ने र अनुगमनको लागि दोश्रो तहको निकाय बनाएर सुपरीवेक्षण गरी भोलिका दिनमा समस्या आउन नदिन काम गर्नुपर्ने प्रतिवेदनमा औंल्याइएको जनाए । कार्यदलले दिएको सुझाव कार्यान्वयन भए अहिलेका समस्या हल हुने उनले बताए । सहकारीको यकिन तथ्यांक नभएकाले वास्तविक तथ्यांक निकाल्नका लागि पनि प्रतिवेदनमार्फत सरकारलाई सुझाइएको उनको भनाई छ । 
कार्यक्रममा महासंघका संस्थापक अध्यक्ष दिपकप्रकाश बाँस्कोटाले ३ तहको सरकारले आआफ्नै ऐन बनाएर लागु गरेकाले सहकारी कतै उँटजस्तै त हुने होइन भन्ने चिन्ता व्यक्त गरे । हरेक पालिका र प्रदेशले ऐन नियम बनाउँदा सहकारीको मर्म मर्ने भन्दै संघीय सरकारलेनै ऐन लागु गर्नु उपयुक्त हुने उनको राय छ । पछिल्लो समय कृषि रासायानिक विषादीको प्रयोग बढेको भन्दै उनले सहकारीहरुले अर्गानिक उत्पादनमा लाग्नुपर्ने सुझाव दिए । पर्यावरण जोगाउन पनि सहकारीमार्फत् राज्यले लगानी गर्नुपर्ने भन्दै बाँस्कोटाले यो क्षेत्रमा काम गर्ने व्यक्ति तथा संस्था लाग्नुपर्ने उनको भनाई छ ।

महासंघका सञ्चालक डिबी बस्नेतले सरकारले बजेटमार्फत एक वडा एक उत्पादनको कार्यक्रम ल्याएकाले बजेट कार्यान्वयनको अवस्था र कार्यविधि अध्ययन गरेर सहकारीमार्फत् उक्त कार्यक्रम लागु गर्न प्रयास गरिरहेको जनाए ।

राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के बी उप्रेतीले सहकारी क्षेत्र सुधारका लागि कार्यदलले थुप्रै राम्रा सुझाव दिएको र कार्यान्वयन भए अभियानले सही बाटो पक्रने उल्लेख गरे ।

कार्यक्रममा नेफ्स्कुनका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सदस्यको सन्तुष्टिको लागि सहकारीले काम गर्न सकेन भने संघ, महासंघ हुनुको कुनै अर्थ नहुने बताए । सदस्यको सन्तुष्टिका विषयमा संघहरुले पनि भूमिका खेल्नुपर्ने र प्रारम्भिक संस्थाहरुलाई नीतिगत रुपमा सघाउनुपर्ने उनको भनाई छ । बागमती सहकारी दर्ता र कार्यक्षेत्र विस्तारका विषयमा विभिन्न टिकाटिप्पणी भइरहेकाले त्यसतर्फ मन्त्रालयको ध्यानाकर्षण उनले गराए । 
सभामा संघका अध्यक्ष राम शरण शर्मा घिमिरेले संघ स्थापना भएपनि सहकारीको पक्षमा बहस र पैरवी गर्नुका साथै प्रारम्भिक संस्था र जिल्ला संघहरुको क्षमता अभिवृद्धिका लागि विभिन्न गतिविधि सञ्चालन गर्दै आएको बताए । सहकारी क्षेत्रको वर्तमान समस्याका लागि राज्यले विशेष कार्ययोजना ल्याउन नसकेको भन्दै उनले सदस्यमाझ सहकारी शिक्षाको माध्यमबाट सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने अभियानको अभिभारा भएको जनाए । पछिल्लो समय सहकारीबाट अधिक बचत फिर्ता हुनुका साथै नयाँ  बचत नआउँदा संस्थाहरुलाई तरलता व्यवस्थापनमा समस्या परेको उनको भनाई छ ।

कार्यक्रममा संघका महासचिव भीमप्रसाद दाहालले वार्षिक प्रतिवेदन र आगामी कार्यक्रम प्रस्तुत गर्दै सदस्यता वृद्धि गरी ५०० पुर्‍याउने लक्ष लिएको बताए । त्यसैगरी शिक्षा, तालिम, साझेदारी कार्यक्रम, संघसंस्थाको प्रवद्र्धन तथा अनुगमन र सहकारीको तथ्यांक संकलनमा सबै पक्ष मिलेर काम गर्नुपर्ने बताए । सभामा कोषाध्यक्ष टिकाराम भट्टराईले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संघका लेखा सुपरीवेक्षण समितिको तर्फबाट संयोजक नेत्रराज पौडेलले समितिको प्रतिवेदन प्रस्तुत गर्दै संघले तालिम तथा गोष्ठी शुरु गरेको र यसलाई निरन्तरता दिन सके सहकारीकर्मीको क्षमता अभिवृद्धि भई अभियान सुदृढ हुने बताए । बागमती प्रदेशमा राम्रा काम गर्ने संस्थाका साथै कमजोरी र समस्या पनि रहेकाले त्यसलाई समाधान गर्न संघको भूमिका बढाउनुपर्ने बताए ।

संघमा हालसम्म ३३५ सदस्य आवद्ध रहेका छन् भने ५३ लाख ९५ हजार शेयरपुँजी र ५८ करोड २९ लाखको वासलात पुगेको छ । 
सभामा संघका वरिष्ठ उपाध्यक्ष जगतलाल महर्जनले स्वागत मन्तब्य राख्दै अहिलेको विषम परिस्थितिमा संघले विभिन्न जिल्लामा गएर अन्तक्र्रिया तथा छलफल गरी समस्या समाधानका लागि पहल गरेको बताए । संघका सचिव देवराज न्यौपानेले सभाको सञ्चालन गरेका थिए ।