शनिबार, आश्विन १७ गते २०८३

६१ किलो सुन ल्याउने समुहले यसअघि ३०२ किलो भित्राइसकेको सीआइबीको दावी, ५० जना विरुद्ध मुद्दा चलाउन माग

भाद्र २७, २०८० बुधबार
६१ किलो सुन ल्याउने समुहले यसअघि ३०२ किलो भित्राइसकेको सीआइबीको दावी, ५० जना विरुद्ध मुद्दा चलाउन माग

केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीले ६१ किलो सुन प्रकरणमा ५० जनालाई प्रतिवादी बनाएर मुद्दा चलाउन सुझाव दिएको छ । 

सरकारी वकिलको कार्यालय समक्ष बुझाइएको सुझावमा ५० जनालाई प्रतिवादी बनाएर ३ अर्ब ५० करोडको बिगो दावी माग गरिएको सीआइबीले जनाएको हो । 

यो सुन भित्राउने समुहले नै यसअघि पनि ३०२ किलो सुन भित्राइसकेको पत्रकार सम्मेलनमा सीआइबी प्रमुख किरण बज्राचार्यले जानकारी दिइन् । 

सुन प्रकरणमा हालसम्म ३२ जना पक्राउ परेकामध्ये २३ जना विदेशी र ९ जना नेपाली रहेका छन् । ती व्यक्तिहरुले पाँच वटा कम्पनी खडा गरेर सुन ल्याउने गरेका खुलेको छ । सीआईबी प्रमुख बज्राचार्यले सुन ब्रेक सु मा लुकाएर ल्याएको जानकारी दिइन् ।

अवैध सुन ल्याउने कार्यमा ताइवान, हङकङ, चीन र भारत लगायतका देशका नागरिकको संलग्नता देखिएको प्रमुख बज्राचार्यको भनाइ छ। 

बेल्जियमका नागरिक दावा छिरिङकी श्रीमती अमला रोक्कालाई पनि प्रहरीले प्रतिवादी बनाएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ।

प्रत्यक्ष रुपमा ४२ जनाले ३५ दिनसम्म अनुसन्धान गरेको बज्राचार्यले जानकारी दिइन् । पहिलो प्राविधिक टिममा ४२ जना रहेको र त्यसले दैनिक १८ घन्टा काम गरेको उनले बताइन् । अनुसन्धानका क्रममा ५ जनाले विदेशी नागरिकता लिएको देखिएको उनको भनाइ छ ।

सीआईबीले ६० किलो सुन प्रकरणमा रोल्पाकी अमला रोकासहित ५० जनालाई प्रतिवादी बनाएको हो । सीआईबीले सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिलको कार्यालयमा बुझाउँदै छ ।

प्रतिवादीहरुलाई अवैध सुन चोरी पैठारी, संगठित अपराध, नागरिकता ऐन, राहदानी ऐन र अध्यागमन ऐनअनुसार मुद्दा चलाउन सीआईबीले सिफारिस गरेको छ।