जिल्ला सहकारी संघ काभ्रेले आफ्नो स्थापनाको ५६ औं बर्ष तथा ४२ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । बागमती प्रदेशका सँस्कृति, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न् गरेको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी मर्हजनले बागमती प्रदेशभित्र अब कुनै नयाँ सहकारी दर्ता नहुने बताए । उनले मन्त्रालयमार्फत प्रदेशभित्रका जिल्लास्थित सरोकारवाला निकायलाई कुनै पनि प्रकारका नयाँ सहकारी दर्ता नगर्न आदेशसमेत दिइसकेको जानकारी दिए ।
“सहकारीका विषयमा विभिन्न टीकाटिप्पणी र विभिन्न सहकारी समस्याग्रस्त भएकोबारे मन्त्रलायमा निवेदन आइरहेका छन्, परिस्थिति सवल नभएसम्म नयाँ सहकारी दर्ता नगर्न आदेश दिएका छौँ, नयाँ दर्ता भएका पनि छैनन्”, मन्त्री महर्जनले भने । उनले समस्याग्रस्त सहकारीले नियम, कानुन मिचेर कारोबार गरी नागरिकलाई झन्झट, दुःख दिएको पाइए कारबाही गर्ने चेतावनी सेमत दिए । उनले भने, “सही बाटोमा हिँडेका सहकारीलाई संरक्षण पनि गर्छौं, गलत गरेको पाइए कडा कारबाही गर्छौं, कसैलाई छुट दिँदैनौँ ।”
साधारण सभामा जिल्ला सहकारी संघले आ .व. २०८०/०८१ मा लिएका नीति तथा कार्यक्रम संघका अध्यक्ष दिलिप शर्माले, आ .व. २०७९/८० को प्रगती प्रतिवेदन सचिव निरन्जन बिष्ट, आर्थिक प्रतिवेदन कोषाध्यक्ष राजन शाक्य, लेखा प्रतिवेदन लेखा सुपरिवेक्षण समितिका संयोजक शम्भूलाल श्रेष्ठले प्रस्तुत गरेका थिए । संघको आगामी नीति तथा कार्यक्रममा वर्तमान समयमा सहकारीमा देखिएका समस्याहरु निराकरण गर्ने उपाय लगायत सहकारीका क्षेत्रमा सम्भावनाका विभिन्न क्रियाकलापहरु समेटिएका छन् ।
जिल्ला सहकारी संघले कार्यक्रममा जिल्ला भित्र दर्ता भई सञ्चालनमा रहेका सहकारीहरुको तथ्यांकीय विवरणहरु संकलन गरेर पुस्तक समेत प्रकाशन गरी विमोचन गरेको छ । १३ वटै पालिकाहरुमा गइ सहकारीमा संस्थाहरुमा पुगी तथ्यांक संकलन गरिएको संघका अध्यक्ष दिलिप शर्माले बताएका थिए । त्यसै गरी संघले जिल्ला भित्रका अभियानको बृत्त चित्र निर्माण गरी सोही कार्यक्रम मार्फत सार्वजनिकिकरण गरेको थियो । कार्यक्रममा विभिन्न विधामा पुरस्कार तथा सम्मान कार्यक्रम समेत गरेको छ ।

विभिन्न ४ विधामा गरेको सम्मानमा सहकारी अभियन्ता सम्मान संघका पूर्व अध्यक्ष माधव नारायण जोशी, उत्कृष्ट संस्थामा जिल्ला भित्रबाट सामूदायिक बचत तथा ऋण सहकारी संस्था पनौती, उत्कृष्ट कर्मचारी सम्मानमा ज्योती मिर्मिरे बचत तथा ऋण सहकारी संस्थाबाट प्रमुख कार्यकारी अधिकृत गोपाल दाहाल, तथा जिल्ला भित्र रहि सहकारी क्षेत्रमा कलम चलाउने पत्रकारहरु मध्येबाट अरबिन्द्र गौतमलाई नगद रु ५,००० सहित दोसल्लाले सम्मान गरिएको थियो । साथै सोहि अवसरमा जिल्ला भित्रबाट सहकारी क्षेत्रमा डा.को उपाधि हासिल गरी नेफस्कूनको प्रमुख प्रमुख कार्यकारी अधिकृत डा. सिवजी सापकोटालाई सम्मान तथा बनेपा नगरपालिकाले सहकारी नियमन तथा अनुगमनका क्षेत्रमा १०० प्रतिशत सम्पन्न गरेकोमा नगर प्रमुख शान्तिरत्न शाक्य मार्फत नगर पालिकालाई सम्मान गरेको छ
कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेल, जिल्ला समन्वय समितिका प्रमुख दिपककुमार गौतम बिशिष्ट अतिथीको रुपमा सहभागिता रहेको थियो । करिव ३०० जना प्रतिनीधिहरु रहेको सहभागिता रहेको उक्त साधारणसभामा बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्य, वडा अध्यक्ष हिटलर शाक्य, स्थिरिकरण कोष सञ्चालक सदस्य प्रकाश बन्जरा,बागती प्रोस्कुनका अध्यक्ष उद्धव सापकोटा, पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिना, बिषयगत संघका अध्यक्ष तथा प्रतिनीधिहरु, कोअपरेटिभ मेनेजर्स क्लवका अध्यक्ष मदन बस्नेत लगायतको सहभागिता रहेको थियो ।
नेपालपत्र संवाददाता