शनिबार, आश्विन १७ गते २०८३

मुलुकभित्रै गाडीकाे एसेम्ब्लिङ्ग शुरू गर्न अर्थमन्त्री महतकाे आग्रह

भाद्र २६, २०८० मंगलबार
मुलुकभित्रै गाडीकाे एसेम्ब्लिङ्ग शुरू गर्न अर्थमन्त्री महतकाे आग्रह


अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमै सवारी साधनको एसेम्बिलिङ्ग शुरु गर्नुपर्ने बताएका छन् । आज राजधानीमा नाडा अटो शो, २०२३ को उद्घाटन गर्दै अर्थमन्त्री डा. महतले गाडी डिलरशीप मात्र होइन मुलुकभित्रै गाडीको उत्पादन र एसेब्लिङ्ग शुरु गर्नुपर्ने बताएका हुन् । उनले भने  ‘नाडा अब डिलर एसोसिएसनभन्दा पनि उत्पादन एसोसिएसन बन्नुपर्छ, एसेम्ब्लिङ सुरु गर्नुस्, सरकारले सहुलियत पनि दिन्छ ।’

आर्थिक समस्याहरु क्रमश: कम हुँदै गएको भन्दै मुलुक श्रीलंकाको बाटोमा जान्छ कि भन्नुपर्ने डराउनुपर्ने अवस्था नरहेको उनले जनाए । पर्यटन आगमन बढेको छ र लामो समयसम्म समस्याकै रुपमा रहेको जग्गाको कित्ताकाट समेत खुलेकोले आर्थिक गतिविधि चलायमान बन्ने विश्वास उनले व्यक्त गरे । त्यसले अटोमोबाइल क्षेत्र समेत गतिशील हुने र गाडीको बिक्री बढाउने उनले बताए । 

पहिले सवारी साधनलाई विलासिताको वस्तु मान्ने गरिएको र सोही अनुसार ट्याक्स लगाइएको तर, अब त्यस्तो सोच्न आवश्यक नरहेको अर्थमन्त्री डा. महतले जनाए ।  ‘अब ईभीमा जाने भएपछि विद्युत खपत बढ्छ, इन्धन आयात घट्छ,’ अर्थमन्त्री महतले भने, ‘अब ईभीलाई प्राथमिकता दिनुपर्छ ।’ पछिल्लो समय विद्युतीय सवारीको प्रयोग बढ्दो छ, सरकारले यसको प्रयोगमा सहज नीति पनि अंगिकार गरिरहेको उनले बताए ।