सरकारले १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाएको छ । नेपाल राष्ट्र बैंकले बोलकबोल प्रक्रियाबाट ६ वर्षे विकास ऋणपत्र बिक्री गर्दै ७ प्रतिशत ब्याजदरमा आन्तरिक ऋण उठाएको हो ।
आइतबार राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले ६ वर्ष अवधिको विकास ऋणपत्र २०८६ झ खरिदका लागि बोलकबोल प्रस्ताव पेश गर्न बैंक तथा वित्तीय संस्था, गैर बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था, तथा नेपाली नागरिकलाई आह्वान गरेको थियो ।
अर्धवार्षिक रुपमा ब्याज भुक्तानी हुने उक्त ऋण पत्र खरिद गर्न २५ व्यक्ति तथा संस्थाले ७७ प्रस्ताव पेश गरेका थिए ।
२४ अर्ब ३५ करोड रुपैयाँको ऋणपत्र खरिद गर्ने प्रस्ताव बोल कबोल प्रक्रियाबाट भएपनि सोमबार राष्ट्र बैंकले ७ प्रतिशत ब्याजदर प्रस्ताव गर्नेहरुलाई १० अर्ब रुपैयाँको ऋणपत्र बिक्री गरेको थियो ।
यसअघि पनि गत भदौ १० गते पनि राष्ट्र बैंकले ७ प्रतिशत ब्याजदरमा ६ अर्ब ८० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्दै आन्तरिक ऋण उठाएको थियो।
गत भदौं १० गते पनि राष्ट्र बैंकले १० अर्ब रुपैयाँ नै आन्तरिक ऋण उठाउन खोज्दा ७ प्रतिशत भन्दा बढी ब्याजदर माग भएपछि सबै रकम ऋण उठाउन सकेको थिएन। चालू आर्थिक वर्षमा राष्ट्र बैंकले विकास ऋण पत्र बिक्री गर्दा ४ पटक आन्तरिक ऋण उठाइसकेको छ।