जिल्ला बचत तथा ऋण सहकारी संघ काभ्रेको आयोजनामा कर तथा आयकर व्यवस्थापन सम्बन्धी २ दिने तालिम सम्पन्न भएको छ । संघको शिक्षा तथा तालिम उप–समिति संयोजक निर्मला श्रेष्ठको सभापतित्वमा तालिम सम्पन्न भएको हो ।
तालिममा २४ वटा सहकारी संस्थाहरुबाट २७ जनाको सहभागितामा रहेको थियो ।तालिममा विषय विज्ञ एफसिए राजकुमार फुया्लले प्रभावशालि ढङ्गबाट प्रशिक्षण दिएका थिए । तालिमको संचालन संघका प्रबन्धक गुरु प्रसाद ढकालले गरेका थिए । संघका अध्यक्ष उदयराम कायस्थले सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै संस्थामा कार्यरत कर्मचारीहरुको ज्ञान, सिप, क्षमता अभिवृद्धि गरि साकोसमा दक्ष जनशक्ति निर्माणमा टेवा पु¥याउने उद्देश्यले तालिम आयोजना गरिएको बताए । सहकारी संस्थाले तिर्नुपर्ने राजश्व शिर्षक अनुसारको रकम समयमा नै राजश्व भुक्तानी गरि लाग्ने जरिवानाबाट बच्न आग्रह गर्दै उनले तालिमबाट सिकेका कुरालाई व्यवहारिक जीवनमा लागु गर्न र गराउन आग्रह गरे ।
संघका उप–प्रबन्धक रवि के.सी .ले उक्त कार्यक्रममा नेपालको अर्थतन्त्र चलायमान गराउन सहकारीको महत्वपुर्ण भुमिका रहेको भए पनि केहि सहकारी संस्थाहरु नीति, विधि र प्रविधिसँग हातेमालो गर्दै नबढेका कारण समस्या आएको बताए । नीति एकतिर र कार्य अर्कोतिर गरि सहकारी मुल्य, मान्यता र सिद्धान्त भन्दा बाहिर गई संचालन गरेका केही सहकारीहरुले अहिलेको अवस्था सृजना गरेको उनको भनाई छ । सहकारीको बोर्ड झुण्डाई सहकारीको नाममा साहुकारीको कार्य गरेका, उचित वित्तीय व्यवस्थापन गर्न नजानेका र सदस्यहरुको विश्वास गुमाएको संस्थाहरु मात्र समस्यामा परेको उनले बताए ।
ती संस्थाहरुको कारण नेपालको अर्थतन्त्रमा समेत ठुलो असर परेको भन्दै उनले नेपालको ९५ प्रतिशत सहकारी संस्थाहरुले सहकारी ऐन, नियमावली, उचित वितीय व्यवस्थापन गर्दै सदस्य मैत्री कार्यक्रम गरि अगाडी बढेको बताए । सदस्य केन्द्रीत र सफल संस्थाहरुमा कुनै समस्या नभएको र ति संस्थाहरु बैंक भन्दा पनि बढि सुरक्षित रहेको हुँदा सहकारी संस्थाका सदस्यहरुलाई विचलन नभई सदस्य र समुदायकेन्द्रित सहकारीमा ढुक्क भई कारोबार गर्न उनको आग्रह छ । कार्यक्रमका सभापति निर्मला श्रेष्ठले तालिम कार्यक्रम गर्नुको उद्देश्य, औचित्य र पृष्ठभुमिको बारेमा प्रष्ट पारेकी थिईन् ।