नेपालमा बैंकिङ पहुँच वृद्धि हुदै गएको भनिए पनि कृषकहरुको पहुँच बैंकसम्म पुग्न नसकेको देखिएको छ । हालै सार्वजनिक कृषि गणना २०७८ को प्रतिवेदनअनुसार अझै ७५ प्रतिशत किसान बैंकवित्तको पहुँच बाहिर रहेको पाइएको हाे।
किसानको पुँजी उपलब्धता सहज बनाउन गाउँ–गाउँमा पुगेको बचत तथा ऋण सहकारीको भूमिका महत्वपूर्ण रहेको देखिएको छ । ऋण लिनेमध्ये ३१.४८ प्रतिशत किसान सहकारीमै निर्भर देखिएका छन् ।
झण्डै १० प्रतिशत किसान भने वित्तीय पहुँचका लागि अझै पनि साहुमहाजनकोमा नै आश्रित रहेको प्रतिवेदनमा जनाइएको छ । कृषि गणनाअनुसार यो संख्या ५५ हजार चार सयको हारहारीमा छ ।
देशभरका सात सय ५२ स्थानीय तहमा बैंक तथा वित्तीय संस्था पुगेको दाबी भइरहँदा बहुसंख्यक किसान भने वित्तीय संस्थाको पहुँचबाहिर रहेको तथ्य खुलेको हो ।
राष्ट्रिय कृषि गणना अनुसार ७५.१९ प्रतिशत किसानले ऋण लिन बैंक तथा वित्तीय संस्थाबाहेकको स्रोतमा भर परिरहेको तथ्य सार्वजनिक भएको हो ।
चार लाख ४८ हजार किसानले बचत तथा ऋण सहकारी संस्था, साहु–महाजन, आफन्त एवं ट्रेडर्सको भर पर्नुपरेको तथ्यांकले देखाएको हो।
संरचनागत रूपमा बैंक तथा वित्तीय संस्थाहरूले शाखा विस्तारको तथ्य देखाएर वित्तीय पहुँच पुगेको दाबी गर्दै आइरहेपनि कृषि गणनाको यो तथ्यले फरक चित्र प्रस्तुत गरेको छ ।
नेपालपत्र संवाददाता