अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा छिट्टै लगानी शिखर सम्मेलन गर्न लागेको बताएका छन् । लगानी बोर्डको १२औं वार्षिकोत्सवको अवसरमा सिंहदरबारमा आयोजित एक कार्यक्रममा उनले विश्व बजारमा सूचना प्रविधिको क्षेत्रमा स्थापित कर्पोरेट कम्पनीहरुको लगानी नेपालमा भित्र्याउने गरी सो शिखर सम्मेलन आयोजना गर्ने लागिएको जानकारी दिएका हुन् ।
मन्तब्यका क्रममा उनले नेपालमा आर्थिक वृद्धि गराउने राम्रा सङ्केतहरु देखिएको उल्लेख गर्नुहुँदै त्यसले मुलुकको आर्थिक गतिविधि विस्तार हुँदै जाने अपेक्षा राखे ।
नेपालमा पर्यटन, कृषि, जलविद्युत् र सूचना प्रविधिको क्षेत्रमा लगानी बढने र बजारको पनि राम्रो व्यवस्था भएकाले यस क्षेत्रमा बाह्य लगानी भित्रिने अर्थमन्त्री महतले बताए। भारतसँग १० हजार मेगावाट विद्युत् १० वर्षमा खरिद गर्ने सम्झौता भएको र चीनसँग पनि त्यस्तै प्रकारको सम्झौता छिट्टै अघि बढाइने उनले बताए ।
उनले भने ‘हाइड्रोपावरमा एउटा प्रगति लय पक्रिराखेको छ । इन्डियासँग जुन सम्झौता भएको छ । १० हजार मेगावाटसम्म विद्युत खरिद गर्ने दश वर्षमा । त्यसले लगानीकर्ताहरुलाई एउटा सुनिश्चित बजार प्रदान गरेको छ । त्यस्तै खालको समझदारी हामी चीनसँग पनि आगामी दिनमा हुनेछ भन्ने हामीले विश्वास लिएका छौं ।’’
अर्थमन्त्री महतले नेपालमा बाह्य लगानी भित्र्याउने काममा लगानी बोर्डले अझ प्रभावकारी ढङ्गले पहल गर्ने विश्वास व्यक्त गरे ।