नेपाल विद्युत प्राधिकरणले देशका विभिन्न स्थानमा निर्माण गरेको ५१ वटा विद्युतीय सवारी साधन चार्जिङ स्टेशनको उद्घाटन भएको छ । नेपाल विद्युत प्राधिकरणले देशभर निर्माण गरेका ५१ वटा चार्जिङ स्टेशनको ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेत र सचिव दिनेश कुमार घिमिरेले नेपाल पुलिस क्लब भृकुटीमण्डपमा स्थापना गरिएको फाष्ट चार्जिङ स्टेसनका उद्घाटन गरेका हुन् । करिब ४० करोड रुपैयाँ लागतमा निर्माण गरिएकाचार्जिङ स्टेसनमध्ये २६ वटामा ठूला बस, माइक्रो, ट्रक, पिकअपतथा कार र २५ वटामा साना( ठूला कारहरु चार्ज गर्न मिल्ने छन् ।
मन्त्री बस्नेतले सरकारले आज ५१ वटा विद्युतीय चार्जिङ स्टेसन उद्घाटन गरिएको भन्दै आगामी दिनमा देशव्यापी रुपमा बिस्तार गर्ने योजनामा रहेको उल्लेख गरे । देशभरका ५१ वटा विद्युतीय चार्जिङ स्टेशन उद्घाटन विद्युतीय यात्रा मात्रै नभएर इलेक्ट्रिक भेकलमार्फत हरित र दिगो विकासमा महत्वपूर्ण योगदान गर्नसक्ने विश्वास रहेको उनको भनाइ छ । मन्त्री बस्नेतले विद्युतीय सवारी साधनहरुले जलवायु परिवर्तनबाट उत्पन्न भएको समस्या न्युनिकरण मात्रै नभएर नेपालको आर्थिक विकास र समग्र यातायात विकासमा योगदान पुग्ने बताए । सरकारले जलविद्युत क्षेत्रको दीगो विकासको लागि प्रविधिको विकास गरी विद्युतीय सामग्रीको उत्पादन र विद्युतीय सवारी साधनहरुको प्रवद्र्धनको लागि सरकारले नीतिहरु निर्माण गरिहेको मन्त्री बस्नेतले उल्लेख गरे ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय चार्जिङ स्टेशन बनाउनको लागि निजी क्षेत्र आउनुपर्ने बताएका छन् । उनले विद्युतीय सवारी साधनको बिस्तार र चार्जिङ स्टेशन विस्तारको लागि निजी क्षेत्रको अग्रसरता आवश्यक रहेको उल्लेख गरे । निर्देशक घिसिङले निजी क्षेत्रलाई चार्जिङ स्टेशन बिस्तारको लागि ल्याउन ऊर्जा मन्त्रालयले नीतिगत सुधार गर्न लागेको बताए ।
उनले निजी क्षेत्र आएमा प्राधिकरणले दिनुपर्ने सेवा ट्रान्सफरमरदेखि विद्युत सप्लाईको साइटमा लगानी गरिरहेको उल्लेख गर्दै जग्गा र चार्जिङ स्टेशन लगानी गरे अरु सेविधाहरुमा प्राधिकरणले लगानी गर्ने प्रतिवद्धता जनाए ।
निर्देशक घिसिङले विद्युत प्राधिकरणले ५१ वटा स्थानको चार्जिङ स्टेशनको एक साथ उद्घाटनले देशभर विद्युतीय सवारी साधनको प्रवद्र्धनमा सहयोग पुग्ने बताए । पछिल्लो समय माईक्रो बस, ट्याक्सी र व्यक्तिगत सवारी साधनहरु गरी धेरै विद्युतीय सवारी साधनको प्रयोगमा वृद्धि भएको उनको भनाइ छ । घिसिङले चार्जिङ स्टेसनले गर्दा नेपालको यातायात क्षेत्रमा सस्तोमा यात्रा गर्न सकिने बताए ।
उनले चार्जिङ स्टेसनबाट चाँज गर्दा पेट्रोलिय पदार्थ भन्दा करिब १५ देखि २० गुणा सस्तो पर्ने भन्दै डिजेल पेट्रोलमा ६ हजा लाग्ने ठाउँमा ४ सय रुपैयाँले पुग्ने अवस्था रहेको बताए । त्यस्तै,नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका उपाध्यक्ष सरोज सिटौलाले नेपालमा नै विद्युतीय सवारी साधनहरुको प्रवद्र्धन गरी विद्युतीय पूर्वाधार तयार गर्नसके नेपालमा उत्पादन भएको जलविद्युत देशभित्रै खपत हुने बताए । उपाध्यक्ष सिटौलाले विद्युतीय सवारी साधनलाई सरकारले प्रोत्साहन गरी पूर्वाधार तयार गरे मुलुकमा उत्पादित विद्युतलाई विदेश निर्यात गर्न नपर्ने बताए ।
उनले विद्युतीय सवारी साधनको विकास र बिस्तारको लागि विद्युतीय चार्जिङ स्टेशनहरु देशभर ५१ वटा मात्रै नभएर ५१ हजार हुन आवश्यक रहेको उल्लेख गरे ।
सार्वजनिक विद्युतीय सवारी साधनको लागि सरकारले सम्पूर्ण विद्युतीय पूर्वाधार तयार गर्न आवश्यक रहेको दाबी गर्नुभयो । उहाँले सार्वजनिक विद्युतीय ठूला बसहरुको लागि सानो ठाउँमा चार्जिङ स्टेशनले काम नगर्ने बताए ।