शनिबार, आश्विन १७ गते २०८३

उर्जासम्बन्धी दीर्घकालिन विकास रणनीति बनाउन चिनीयाँ राजदूतको सूझाव


भाद्र २०, २०८० बुधबार
उर्जासम्बन्धी दीर्घकालिन विकास रणनीति बनाउन चिनीयाँ राजदूतको सूझाव


चिनीयाँ राजदूत छन सोङले नेपालले उर्जा श्रोतमार्फत विकास गर्न सक्ने औंल्याउँदै त्यसका लागि नेपालले दीर्घकालिन विकास रणनीति बनाउनुपर्ने जनाएका छन् ।

नेपाल उद्योग परिसंघ र नेपालका लागि चिनियाँ राजदूत छन सोङबीच भएको एक छलफलमा राजदूत सोङले उर्जा क्षेत्रलाई प्राथमिकता दिदै नेपालले विद्युतीय प्रयोग बढाउनुपर्ने सुझाव दिए । त्यसले आयात प्रतिस्थापनमा सहयोग गर्ने उनको आसय थियो । चीन र भारतको बीचमा भएर सानो देखिएता पनि नेपाल सानो मुलुक नभएको उनले उल्लेख गरे । नेपालको औद्योगिक विकासका लागि चीनले सहयोग गर्ने प्रतिवद्धता उनले त्यस अवसरमा जनाएका थिए ।

परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले चीन विकासको महत्वपूर्ण साझेदार रहेको जनाउँदै नेपाल पछि परेको पूर्वाधार क्षेत्रमा सहकार्यको आवश्यकता रहेको बताए । पूर्वाधार, प्रविधि हस्तान्तरण, सीप, पर्यटनलगायतका क्षेत्रमा चिनियाँ लगानी एवं सहकार्यलाई उच्च प्राथमिकता दिन उनले आग्रह गरे । विद्युतीय व्यापारका माध्यमबाट नेपाली वस्तु चिनियाँ बजारमा पुर्याउन सहयोग गर्न पनि उनले जोड दिए ।

अध्यक्ष अग्रवालले परिसंघ र चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेशनल ट्रेड (सीसीपीआईटी) बीचको सहकार्यमा नेपालमा देखिने गरी काम गर्न लागेको समेत राजदूत सोङलाई जानकारी गराए ।

प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न चीन भ्रमणका विषयमा समेत त्यस अवसरमा छलफल भएको थियो । छलफलमा परिसंघका निवर्तमान अध्यक्ष विष्णुकुमार अग्रवाल, उपाध्यक्षहरु निर्वाण चौधरी, हेम राज ढकाल, रोहित गुप्ता, अमित मोर, पदाधिकारी सदस्यहरु छाया शर्मा, गोकुल भण्डारी, महानिर्देशक दीपकराज जोशीलगायत सहभागी रहेका थिए ।