नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । सरकारलाई आन्तरिक ऋण उठाउने प्रयोजनका लागि राष्ट्र बैंकले बोलकबोल प्रक्रियाबाट ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।
राष्ट्र बैंकले २८ दिनको ५ अर्ब रुपैयाँ, ९१ दिनको ६ अर्ब ४ करोड रुपैयाँ, १८२ दिनको ७ अर्ब रुपैयाँ र ३६४ दिनको २ अर्ब रुपैयाँ गरी कुल २० अर्ब ४ करोड रुपैयाँको ट्रेजरी बिल खरिदका लागि प्रस्ताव पेश गर्न आव्हान गरेको हो।
राष्ट्र बैंकले सबैभन्दा कम ब्याजदर कबोल गर्ने संस्थालाई ट्रेजरी बिल बिक्री गर्ने गर्छ । बजारमा तरलता सहज हुँदै गएको भए पनि ट्रेजरी बिलको ब्याजदरमा गिरावट आउन सकेको छैन ।
अन्तर बैंक ब्याजदर ६.३५ प्रतिशतभन्दा माथि रहेकाले ट्रेजरी बिलको ब्याजदर ७ प्रतिशतभन्दा माथि पुग्ने सम्भावना छ । चालू आर्थिक वर्षमा राष्ट्र बैंकले ७ पटक ट्रेजरी बिल बिक्री गर्दै आन्तरिक ऋण उठाइसकेको छ ।
राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षमा २८ दिनको ट्रेजरी बिलको औसत ब्याजदर ६.२१ प्रतिशत, ९१ दिनको ट्रेजरी बिलको औसत ब्याजदर ५.८२ प्रतिशत, १८२ दिनको ट्रेजरी बिलको औसत ब्याजदर ६.४९ प्रतिशत र ३६४ दिनको ट्रेजरी बिलको औसत ब्याजदर ६.४४ प्रतिशत रहेको छ ।