काठमाडौंको मीनभवनमा रहेको मनिप्लान्ट सेभिङ एण्ड क्रेडिट कोअपरेटिभले १२औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । संस्थाले सहकारी विभागले गत वर्ष जारी गरेको साधारणसभा सञ्चालन सम्बन्धी मार्गदर्शनलाई आधारमानेर साधारणसभा सम्पन्न गरेको हो । काठमाण्डौमा साधारणसभा सम्पन्न गर्ने सम्भवतः मनिप्लान्ट पहिलो संस्था भएको छ ।
राष्ट्रिय सहकारी महासंघको सभाहलमा आयोजित सभा समापन कार्यक्रमको प्रमुख अतिथि महासंघका अध्यक्ष मीनराज कँडेल र विशिष्ट अतिथि नेफ्स्कुनका पूर्व अध्यक्ष ऋषिराज घिमिरे रहेका थिए ।
संस्थाका अध्यक्ष सुदर्शन प्रसाद पराजुलीको अध्यक्षतामा सभा सम्पन्न भएकाे हाे । सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष पराजुलीले आ.व. २०७७।०७८ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाको स्थापनाकाल देखि नै मनिप्लान्टलाई कसरी अब्बल संस्थाको रुपमा स्थापित गर्न सकिन्छ भन्ने योजना अनुरुप आफूहरु अगाडि बढेको उनले बताए । थोरै सदस्यकाबीचमा समेत संस्थाले संख्यात्मक एवं गुणात्मक वृद्धि गरिरहँदा नियामक निकाय, जिल्ला एवं केन्द्रीय सहकारी संघहरुबाट समेत सीप सिकाइ आदानप्रदान जस्ता कार्यक्रमहरुमा खोजिने सहकारीहरुमध्येको मनिप्लाण्टलाई एक सहकारीका रुपमा गणनामा ल्याउन सफल भएको उनको भनाई छ ।
कोभिड १९ ले मानवस्वास्थ्यसहित आर्थिक, सामाजिक एवं साँस्कृतिक क्षेत्रमा नै संकट उत्पन्न गराएको अवस्थाका वावजुद समेत संस्थाको कारोबार सन्तोषजनक रहेको पराजुलीले बताए । विभागले वर्षैपिच्छे जारी गर्ने सन्दर्भ ब्याजदरका कारण ऋणमा लिइने ब्याजदर घटाउनुपर्ने बाध्यकारी अवस्था र अर्कोतर्फ बजारमा रहेको अस्वस्थ प्रतिस्पर्धाका कारण सदस्यहरुलाई दिइने ब्याजदर समायोजन गर्न कठिन भएको उनले औंल्याए ।
संस्थाले विषम परिस्थितिमा पनि निरन्तर वित्तीय सेवा उपलब्ध गराउँदा संस्थामाथि सदस्यकाे विश्वास बढ्न गएको छ । संस्थाले सदस्यहरुलाई लकडाउन अवधिको हर्जानामा पूर्ण र ब्याजमा १० प्रतिशत छुट गरेको जनाएको छ । ब्याज र हर्जानामा छुट दिँदा संस्थाको आम्दानीमा ४८ लाखले संकुचन आएको जनाएको छ ।

संस्थाले आ.व. २०७७।७८ को असार मसान्तसम्म १० करोड ८ लाख शेयरपुँजी, जगेडा कोषमा ४ करोड २६ लाख, अन्य कोषमा २ करोड ८५ लाख र जोखिम व्यवस्थापन कोषमा ३ करोड ९७ लाख पु¥याएको छ । त्यसैगरी ७६ करोड ५६ लाख बचत संकलन गरी १ अर्ब १० करोड ८४ लाख ऋण लगानी गरेको छ । संस्थाको कुल वासलात १ अर्ब २५ करोड ८ लाख पुगेको छ । संस्थाले शेयर लाभांश कोषबाट सदस्यहरुलाई १५ प्रतिशत लाभांश दिने भएको छ ।
संस्थाले एकसातासम्म सदस्य उपस्थिति पुस्तिका खुल्ला गरी सदस्यहरुबाट प्राप्त रायसुझावलाई समेटेर विद्युतीय माध्यमबाट साधारणसभा सम्पन्न गरेको हो । संस्थामा १ हजार ८ सय सदस्य रहेको र जसमध्ये ७७१ अर्थात ७६.४९ प्रतिशतले उपस्थिति पुस्तिकामा हस्ताक्षर गरेका छन् ।
संस्थाले सदस्य हित तथा सेवा कार्यक्रममार्फत सदस्यलाई उपचार खर्च, नवजात शिशु खाता र मृत्यु राहत कार्यक्रम सञ्चालन गर्दै आएको छ । संस्थाले चालु आर्थिक वर्ष २०७८।०७९ देखि स्वास्थ्य उपचार, मृत्यु राहत र सुत्केरी सदस्य भेटघाटजस्ता शीर्षकमा दिइने रकममा वृद्धि गर्ने भएको छ । त्यसैगरी सदस्य वा निजका छोराछोरीले विद्यावारिधि गरेमा वा अधिकृत स्तरमा नाम निकालेमा साधारणसभामा विशेष सम्मान गर्ने, स्वास्थ्योपचार कर्जा बढिमा ६ महिनाका लागि निब्र्याजी उपलब्ध गराउने, कृषि पशुपालन, होटल, सुपथमुल्य पसल, क्याफे तथा पार्टी प्यालेस सञ्चालन गर्ने सदस्यहरुलाई परियोजना कर्जामा ब्याजदर र प्रक्रिया सहुलियत दिने भएको छ । संस्थाले मनिप्लाण्ट एमबैंकमार्फत दिँदै आएको मोबाइल र एसएमएस बैंकिङ सेवालाई थप प्रभावकारी बनाउँदै लैजाने भएकाे छ ।