शनिबार, आश्विन १७ गते २०८३

लगानीयोग्य रकम पर्याप्त छ भनेर ढुक्क हुने अवस्था छैन: बैंकर्स


भाद्र १३, २०८० बुधबार
लगानीयोग्य रकम पर्याप्त छ भनेर ढुक्क हुने अवस्था छैन: बैंकर्स

 

नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले अहिले ढुक्क भएर लगानीयोग्य रकम पर्याप्त छ भन्ने स्थिति नरहेको बताएका छन् । संघले मंगलबार पत्रकार सम्मेलन गरेर विश्वका अन्य मुलुकमा ब्याजदर बढ्दै जाँदा नेपालमा घट्दै गएको भएपनि ढुक्क हुने स्थिति नरहेको जनाएको हाे ।  

कुनै समय नै नदिइ स्थानीय तहको रकम बैंकिङ प्रणालीबाट तानिँदा केही अप्ठेरो परेको उनले बताए । स्थानीय तहको रकम बैंकिङ प्रणालीमा जम्मा गर्न दिइँदा ब्याजदर घट्न सघाउ पुग्ने संघको भनाई छ । 

राष्ट्र बैंकले ब्याजदर निर्धारणमा बैंकहरुले स्वतन्त्र निर्णय गर्न सक्नेगरी खुला गरेको जनाउँदै यसले स्वस्थ प्रतिस्पर्धामा सघाउ पुग्ने अपेक्षा गरे । अवस्था अस्थिर देखिए वा अस्वस्थ प्रतिस्पर्धा हुन थालेमा ब्याजदरको विषयमा पुन: सहमति गरेर अघि बढ्नुपर्ने अवस्था आउन सक्ने केसीले जनाए । 

राष्ट्र बैंकले हालै जारी गरेको चालु पुँजी कर्जाका संशोधित व्यवस्थाले उद्योग व्यवसायलाई सहजता दिने उनले बताए । राष्ट्र बैंकले बुधबार जारी गरेका केही निर्देशनबाट पर्ने असरबारे आफूहरु अध्ययनका क्रममा रहेको उनले बताए । अहिले बैंकहरुले गर्दै आएको ‘प्रोभिजन’ बढी नै भएको केसीको भनाइ छ । एकभन्दा बढी ऋण लिएका व्यक्ति वा संस्थाको कुनै एउटा ऋण निष्क्रिय वर्गमा वर्गीकरण भएमा अरु ऋण पनि सुक्ष्म निगरानीमा पर्नेगरी राष्ट्र बैंकले सोमबार निर्देशन जारी गरेको थियो ।