पूर्व गभर्नर डा युवराज खतिवडाले समग्र वित्त बजारको छायाँ सहकारी पर्र्दा अहिलको समस्या आएको हुन सक्ने बताएका छन् । मेची बहुउदेश्यीय सहकारी संस्थाको २७ औ बार्षिकोत्सव तथा २९ औं साधारण सभाको अवसरमा बोल्दै उनले सामाजिक रुपान्तरणको माध्यम सहकारी भएको बताए । उनले समग्र नागरिकलाई उद्यमशील बनाउन स्रोत साधनको अधिकतम प्रयोग गरी दिगो विकासका लागि काम गर्ने उपयुक्त माध्यम सहकारी भएको उल्लेख गरे ।
दुई बर्षयता आर्थिक क्षेत्रबाट विकृतिहरु देखा पर्न सुरु भएको र कोभिड १९ पछि सरकारले दिएको कर छुटको सुविधा र बैंक तथा वित्तीय संस्थाले दिएको सहज र सरल पुँजीको सुविधाका साथै बढी नाफाका लागि केही व्यवसायीले खासखास क्षेत्रमा गरेको लगानीका कारण अर्थतन्त्रमा समस्यामा परेको उनको भनाई छ ।
यसले राजश्व संकलनमा गिरावट, बैंकिङ्ग प्रणालीमा तरलताको अभाव, ब्याजदरमा वृद्धि तथा सरकारको समग्र अर्थप्रणालीमा नै समस्या सृजना भएको उनले जनाए । यी सबै कारणले गत दुई बर्षको अवधिमा बैंकको ब्याजदर दोहोरो अंकमा बढ्यो तर बैंकहरुले राम्रो ब्याजदर दिँदा पनि आम्दानीको स्रोत नखुल्दा बैंकमा पैसा नआएको खतिवडाले बताए । ‘भन्सार छलेको र भ्रष्टाचार गरेको पैसा बैंकमा आउने कुरै भएन,’ उनले भने ‘त्यस्तो पैसा मुद्धतीमा १३ प्रतिशत नै दिए पनि बैंकसम्म आउँदैन ।’
अर्कोतर्फ सहकारीले भन्दा बैंकले राम्रो ब्याज दिएकाले पनि सहकारीको पैसा बैंकमा गएको हुनसक्ने उनले जनाए । सरकारले सहकारीको लागि ऋण लगानी गर्दा सन्दर्भ ब्याजदर तोकेर १६ प्रतिशत भन्दा बढी लिन नपाउने ब्यवस्था गरेकाले बचतको ब्याज बढाउन नसक्दा बैंकतर्फ पैसा गएको उनको भनाइ छ । ‘कहिलेकाँही सहकारीका कारण बैंकहरु पनि समस्यामा नपरेका होइनन्,’ उनले भने ‘अहिले भने बैंकका कारण सहकारीहरु बढी समस्यामा परे ।’ सरकारले बैंकहरुले बढाएको अस्वाभाविक ब्याजदर रोक्नुपथ्र्यो तर त्यो नरोकेका कारणले व्यवसायीले बैंकबाट ऋण लिएर व्यवसाय गर्न सकेनन् भने चालु पुँजी कर्जामा सीमा लगाइएका कारण थप समस्या सृजना भएको उनको दावी छ ।
ऋणको ब्याजदर महँगो हुनुका साथै ऋणमा सीमा तोकिँदा बैंकबाट ऋण लिन सक्ने स्थिति नबनेको भन्दै पूर्व गर्भनर खतिवडाले बैंकलाइ समस्या पर्दा सहकारीबाट पैसा जाने तर सहकारीलाइ समस्या पर्दा बैंकबाट पैसा आउने वातावरण नहँुदा पनि समस्या थप जटिल बनेको उल्लेख गरे ।
अहिलेको सहकारी क्षेत्रको तरलता समस्या बैंकिङ्ग क्षेत्रसँग जोडिएको तरलताको समस्या भएको उनले सुनाए । बैंकहरुलाई तरलता अभाव भयो भने राष्ट्र बैंकबाट पुर्नकर्जा सुविधा लिन्छ । विकास ऋणपत्र विक्री गर्छ र सहुलियत कर्जा राष्ट्र बैंकबाट पाउँछ तर सहकारीले ती सुविधा पाउँदैनन् । उनले भने ‘कोभिडको समयमा पनि राष्ट्र बैंकले बैंकहरुलाइ २ खर्ब पैसा दिएको थियो ।’ बैंकहरुमा तरलता समस्या पर्दा राष्ट्र बैंकले सहयोग गर्छ तर १ अर्बको कारोवार गर्ने सहकारी संस्थासँग बचत फिर्ताको लागि पैसा भएन भने सहकारी सञ्चालक विरामी परेको बहाना गर्छन् वा घरमा सुत्छन्, त्यसपछि विश्वासको वातावरण टुट्ने उनले प्रष्ट पारे ।
‘सहकारी बैंक आफैं व्यवसाय गर्न लाग्यो, उसले तरलताको व्यवस्थापनको काम कति गनुपथ्र्यो, सदस्यता कति वृद्धि गनुपथ्र्यो र जोखिम व्यवस्थापनमा कसरी काम गनुपथ्र्यो त्यसको कुनै योजना बनाएको देखिएन । यसले गर्दा सहकारीमा तरलता व्यवस्थापनको समस्या भयो ।’ उनले भने, ‘एउटा बैंक ढल्यो भने अरु २/३ वटा बैंक ढल्छन्, अमेरिकामा त्यहि भएको थियो, त्यहाँको निक्षेप बीमा कम्पनीले त्यसलाइ बचायो तर हामी कहाँ एउटा सहकारी असफल भयो त्यसले एकपछि अर्कोलाइ ढाल्दै जान्छ ।’
अर्कोतर्फ नाम बहुउदेश्यीय सहकारी भने पनि पैसा घर जग्गामा मात्रै लगानी गरेको अवस्था छ । सहकारीका सञ्चालक पनि त्यसकै कारोबारमा कुदेका छन् । एक दुइ वटा यस्ता सहकारी ढलेपछि अरु राम्रा सहकारी पनि ढाल्छ । यसले गर्दा सुरुमा नै लगानीको लागि क्षेत्रगत रुपमा प्रतिशत तोकिदिएको भए अहिलको अवस्था सहकारीमा नआउने उनको भनाइ छ ।
बैंक तथा वित्तीय संस्था र सहकारीहरुले जुनसुकै शीर्षकमा पैसा उठाएपनि घरजग्गामा नै लगानी गरेको र सरकारले एक्कासी कित्ताकाटमा रोक लगाइदिएपछि घरजग्गा कारोबारमा सुस्तता आइ किनबेचमा कमी भएपछि वित्तीय प्रणालीमा पैसा आउन छाड्दा अप्ठेरो स्थिति सिर्जना भएको उनले बताए ।