शनिबार, आश्विन १७ गते २०८३

आर्थिक सम्बन्ध विस्तारलाई प्राथमिकतामा राख्न प्रस्तावित राजदूतहरुलाई परिसंघको सुझाव  


भाद्र १२, २०८० मंगलबार
आर्थिक सम्बन्ध विस्तारलाई प्राथमिकतामा राख्न प्रस्तावित राजदूतहरुलाई परिसंघको सुझाव  


नेपाल उद्योग परिसंघले विभिन्न मुलुकका लागि प्रस्तावित राजदूतहरुसँग आर्थिक क्षेत्रका विषयमा छलफल गरेको छ । प्रस्तावित राजदूतहरु संयुक्त अरब इमिरेट्सका लागि तेजबहादुर क्षेत्री, कुवेतका लागि घनश्याम लम्साल, थाइल्यान्डका लागि धनबहादुर वली, फ्रान्सका लागि सुधीर भट्टराई र जेनेभास्थित संयुक्त राष्ट्रसंघीय नेपाली नियोगका आवासीय प्रतिनिधि रामप्रसाद सुवेदीलाई आर्थिक एजेण्डालाई प्राथमिकतामा राख्न आग्रह गरेको छ ।

परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले आर्थिक सम्बन्ध विस्तारलाई उच्च प्राथमिकतामा राख्न प्रस्तावित नेपाली राजदूतहरुलाई आग्रह गरे । आर्थिक कूटनीतिलाई उच्च प्राथमिकता दिएर नेपालमा भएको लगानीका अवसरहरुका बारेमा विदेशी लगानीकर्ताहरुलाई जानकारी गराउने महत्वपूर्ण माध्यम राजदूत हुनुपर्नेमा उनले जोड दिए ।

निजी क्षेत्रले व्यवसायिक प्रतिनिधिमण्डलको आदानप्रदान गरिरहेको भएतापनि नेपाल साँच्चिकै लगानी प्रवद्र्धन गर्न खोजिरहेको छ भन्ने सन्देश दिन नेपाली राजदूतावासहरुको समन्वयनमा व्यवसायिक प्रतिनिधिमण्डलको नियमित भ्रमण तथा अन्तरक्रिया गरिनुपर्ने बताए ।  अध्यक्ष अग्रवालले लगानी तथा निर्यात प्रवद्र्धन गर्न देश केन्द्रित विशिष्ट आर्थिक रणनीति बनाउनुपर्ने आवश्यकतामा जोड दिँदै सहकार्य गर्न परिसंघ तयार रहेको समेत उनले जनाए ।

नेपाली वस्तुहरुको प्रवद्र्धन, पर्यटन, सूचना प्रविधि, उद्योग, जलविद्युत, पूर्वाधारमा विदेशी लगानी भित्र्याउने गरी काम गर्नुपर्नेमा परिसंघको जोड छ । अन्तरक्रियामा प्रस्तावित राजदूतहरुले आर्थिक सम्बन्ध विस्तार, निर्यात प्रबद्र्धनमा नै आफूहरुको ध्यान रहने जनाए ।

कार्यक्रममा परराष्ट्र मन्त्रालयका सहसचिवहरु शरदराज आरण, डा. सुरेन्द्र थापा, परिसंघका निवर्तमान अध्यक्ष विष्णुकुमार अग्रवाल, पुर्व अध्यक्षहरु हरिभक्त शर्मा, सतिशकुमार मोर, उपाध्यक्षहरु विरेन्द्रराज पाण्डे, रोहित गुप्ता, अमित मोर, भीम घिमिरे, पदाधिकारी सदस्य छाया शर्मा, परिसंघ गभर्निङ काउन्सिल सदस्यहरु शशिकान्त अग्रवाल, योगेश्वरलाल श्रेष्ठ, परिसंघको नेपाली डायस्पोरा समन्वय समिति सभापति चन्द्र टन्डन, परिसंघका महानिर्देशक दीपकराज जोशीलगायतको सहभागिता रहेको थियो ।