नेपाल राष्ट्र बैंकले साइबर रेजिलियन्स गाइडलाइन जारी गरेको छ । राष्ट्र बैंकद्वारा अनुमतिप्राप्त बैक तथा वित्तीय संस्था, भुक्तानी प्रणाली सञ्चालक र भुक्तानी सेवा प्रदायकहरुका लागि उक्त मार्ग निर्देशन जारी गरिएको हो ।
विद्युतिय कारोबारमा व्यापकता आएसँगै वृद्धि हुँदै गएको सन्दर्भमा साइबर जोखिमको पहिचान, विश्लेषण र व्यवस्थापनलई प्रभावकारी एवं व्यवस्थित बनाउन उक्त मार्गनिर्देशन जारी गरिएको राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले जनाएको छ । विद्युतीय तथ्यांक र प्रणालीलाई साइबर हमलाबाट कसरी सुरक्षित राख्नुका साथै साइबर हमला भइहालेको अवस्थामा कारोबारलाई कसरी छिटो सुचारु गर्ने भन्ने सम्बन्धमा मार्गदर्शन गराइएको छ ।
वित्तीय प्रणालीमा साइबर हमलाले वित्तीय स्थायित्व र वित्तीय प्रणालीमा जनताको विश्वास दुवैमा ठूलो असर पार्न सक्ने भएकाले वित्तीय स्थायित्व सुनिश्चित गर्नको लागि, वित्तीय बजार पूर्वाधार (एफएमआई)हरू सुरक्षित र प्रभावकारी रूपमा सञ्चालन हुनु आवश्यक छ। एफएमआईहरूले राष्ट्रिय र अन्तर्राष्ट्रिय वित्तीय बजारहरूमा वित्तीय असर पार्न सक्ने हुनाले तिनीहरू प्रभावकारी रूपमा व्यवस्थित नभए अर्थतन्त्रमा समेत नकारात्मक प्रभाव पार्छ। यस सन्दर्भमा, वित्तीय प्रणालीको सुरक्षा र प्रभावकारिता एफएमआईहरूको साइबर प्रतिरोध क्षमतामा निर्भर गर्ने राष्ट्र बैंकले जनाएको छ ।
यस मार्गनिर्देशनलाई राष्ट्र बैंकको इजाजतप्राप्त संस्थाहरुले कडाइकासाथ पालना गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ । इजाजतप्राप्त संस्थाको उद्देश्य र साइबर प्रतिरोध योजनालाई संयोजन गर्ने, रणनीति तयार गर्ने, संस्थाले उल्लेखित मापदण्डहरु पुरा गरे नगरेको यकिन गर्ने काम सम्बन्धित संस्थाको हुनेछ ।
नेपालपत्र संवाददाता