सगुन बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक रबिन्द्र राणा मधेश प्रदेशको उत्कृष्ट व्यवस्थापक घोषित भएका छन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफस्कून )ले ३६ औं स्थापना दिवसको अवसरमा उनलाइ उत्कृष्ट व्यवस्थापक घोषणा गरेको हो । नेफस्कूनका निवर्तमान अध्यक्ष डि.बी बस्नेतको संयोजकत्वमा गठन भएको पुरस्कार छनोट समितिले रानालाइ मधेश प्रदेशको उत्कृष्ट व्यवस्थापकको रुपमा घोषणा गरेको हो ।
आगामी साधारण सभामा पुरस्कार तथा सम्मान प्रदान गर्ने नेफस्कूनले जनाएको छ । व्यवस्थापन संकायमा स्नातकोत्तर गरेका राना २०६५ सालदेखि सहकारी क्षेत्रमा रहेर काम गर्दै आएका छन् । ०६५ सालमा सगुन सहकारीमा उपसहायक पदबाट आफ्नो करियर सुरु गरेका रानाले सोही संस्थामा बचत तथा ऋण सहायक,वरिष्ठ सहायक,विभागिय प्रमुख, निमित्त व्यवस्थापक हुँदै २०७७ सालबाट भने व्यवस्थापकको रुपमा कार्य कार्य गर्दै आएका छन् । सहकारी क्षेत्रमा उर्जाशील र अध्ययनशील व्यक्तिका रुपमा रहेका रानाले सहकारी सम्बन्धी थुप्रै तालिममा सहभागी भएर आफुलाइ अब्बल बनाउने प्रयास गरेका छन् ।
उनले प्लर्स, लेखा व्यवस्थापन र सहकारी प्रशिक्षण केन्द्रबाट व्यवसायिक योजना निमार्ण जस्ता थुप्रै तालिम लिएका छन् भने सहकारी बैंक ,नेफस्कून र सहकारी महासंघले संञ्चालन गरेका तालिमहरुमा सहभागी भएर सहकारी संस्था सञ्चालनका बारेमा ज्ञान हाँसिल गरेका छन् । सहकारीको माध्यमबाट समाजको आर्थिक तथा सामाजिक रुपान्तरण सम्भव भएको उनले बताए । जीवन निरन्तर सिकाइको प्रक्रिया रहेको बताउने राना अरु संस्थाहरुले गरेका राम्रा कामहरु अनुशरण गर्दै संस्थामा लागू गर्ने गरेको बताए । सगुन सहकारीले ११ हजार ७३० जना सदस्यको आर्थिक उन्नयको लागि काग गर्दै आएको छ । गत असार मसान्तसम्म संस्थाको कूल वासलत १ अर्ब ५४ करोड पुगेको छ । संस्थाको संस्थागत पुँजी ७ प्रतिशत रहेको छ ।
संस्थागत पुँजी सहकारीको लागि मेरुदण्ड मानिन्छ । यसमा पनि संस्था अब्बल रहेको छ । संस्थालाइ सामुदायिक र सदस्यकेन्द्रीत बनाउने कोसिस गरिरहेको र सदस्यहरुको आवश्यकता पहिचान गरी प्रडक्ट डिजाइन गर्ने गरेको उनले बताए । संस्थामा ६० प्रतिशत महिलाको सहभागिता रहेको छ । संस्थाले महिला सदस्य सुत्केरी हुँदा सुत्केरी खर्च बापत २ हजार दिँदै आएको छ । संस्थाले नियमित बचतलाइ प्राथमिकताामा राखेको र उक्त बचतमा १० प्रतिश ब्याज दिने गरेको उनले जानकारी दिए । संस्थामा कूल बचतमा नियमित बचतको हिस्सा १६ प्रतिशत रहेको छ । संस्थाले स -साना र दीर्घकालीन बचतलाइ प्राथमिकता दिएको उनले जनाए । संस्थाले अबलम्वन गरेका राम्रा अभ्यासका कारण मधेश प्रदेशका अन्य सहकारी संस्थाको लागि पनि संस्था सिकाइको थलोको रुपमा विकसित हुँदै गएको छ ।
नेपालपत्र संवाददाता