कास्कीको पोखरा–१९, पुरानोचौरमा रहेको जनसेवा बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक प्रेमसागर अधिकारी उत्कृष्ट व्यवस्थापक घोषित भएका छन् । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ, नेफ्स्कुनले ३६औं स्थापना दिवसका अवसरमा उनलाई गण्डकी प्रदेशका साकोसहरुमध्येबाट उत्कृष्ट व्यवस्थापकको रुपमा घोषणा गरेको हो ।
२०६८ सालमा कार्यालय सहायकको रुपमा सहकारी क्षेत्रमा प्रवेश गरेका अधिकारी सोही संस्थाको लेखापाल, निमित्त व्यवस्थापक हुँदै २०७५ सालमा देखि व्यवस्थापकको जिम्मेवारी सम्हालिरहेका छन् । व्यवस्थापनमा स्नातक गरेका अधिकारी सहकारी क्षेत्रमा दख्खल राख्छन् । अध्ययनशील र उर्जाशील व्यक्तिका रुपमा चिनिएका अधिकारी सहकारीबाट नै समृद्ध समाज निर्माण गर्न सकिने विश्वास राख्छन् । उनकै नेतृत्वमा संस्थाले सफलताको बाटो समातेको छ । उनी व्यवस्थापनमा आउँदा ८ करोड कुल वासलात भएको संस्थाको गत असार मसान्तमा ३५ करोड वासलात पुगेको छ । त्यसैगरी १४०० सदस्यबाट २२०० सदस्य पुर्याउन सफल भएको उनले बताए ।
मुलुकमा आएको वित्तीय संकटका बावजुद पनि संस्थाले गत आर्थिक वर्षमा १५ प्रतिशतले कुल कारोबार वृद्धि गर्न सफल भएको छ । जगेडा कोष ६ प्रतिशत रहेको उक्त संस्थाले सदस्यता १४ प्रतिशतले वृद्धि गरेको छ भने संस्थामा भाखा नाघेको ऋण १.७ प्रतिशत रहेको छ ।
२०५० सालमा कास्की जिल्लामा दोश्रो नम्बरमा दर्ता भएको जनसेवाले समुदायमा आधारित भइ, सदस्यकेन्द्रित वित्तीय कारोबार गर्दै आएको छ । सदस्य र समुदायलाई उत्कृष्ट वित्तीय सेवा प्रदान गरेको भन्दै कास्की जिल्ला बचत संघले बखान सहकारी अवार्ड प्रदान गरिसकेको छ भने नेफ्स्कुनको ३० औं वार्षिक साधारणसभाले गण्डकीकै उत्कृष्ट साकोसको रुपमा सम्मानित गरिसकेको छ ।
व्यवस्थापक अधिकारी कोअपरेटिभ म्यानेजर्स क्लब कास्कीका समेत सदस्य रहेका छन् ।
नेपालपत्र संवाददाता