रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संघ उत्कृष्ट संघ बन्न सफल भएको छ । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कुन) ले ३६औं स्थापना दिवसको अवसरमा देशभरका ७६ जिल्ला बचत संघहरुमध्ये रामेछाप बचत संघलाई उत्कृष्ट संघको रुपमा घोषणा गरेको हो । नेफ्स्कुनका निवर्तमान अध्यक्ष डिबी बस्नेत संयोजक रहेको समितिले रामेछापलाई उत्कृष्ट बचत संघको रुपमा चयन गरेको हो ।
कुनै समय प्राय निष्क्रिय जस्तै रहेको संघ जगन्नाथ दाहालको नेतृत्व आएसँगै क्रियाशील भएको हो । आफ्नो कार्यालय व्यवस्थापन गर्न समेत नसकेको अवस्थामा रहेको संघले दाहालको अध्यक्षतामा नयाँ नेतृत्व आएसँगै उचाई लिन सफल भएको हो । नवजागरण बचत तथा ऋण सहकारी संस्थाबाट प्रतिनिधित्व गर्दै दाहाल संघको अध्यक्ष बनेका थिए ।
नवजागरण साकोसमा सञ्चालक हुँदै कोषाध्यक्षको भूमिका निर्वाह गरेका दाहालसँग सहकारी संस्था सञ्चालनको राम्रो ज्ञान रहेको थियो । सोही अनुभवलाई संघमा प्रयोग गरेर उनले नेतृत्व सम्हालेको दोश्रो कार्यकालभित्र नै मुलककै उत्कृष्ट संघ बनाउन सफल भएका छन् ।
संघमा २०८० असार मसान्तसम्म रामेछाप जिल्लाका १७५ वटा बचत तथा ऋण सहकारी संस्था आवद्ध रहेका छन् भने २ करोड ४० लाखको वासलात रहेको छ । संघले सदस्य संस्थाहरुलाई लेखा व्यवस्थापन तालिम, पल्र्स अनुगमन, ऋण जोखिम व्यवस्थापन जस्ता व्यवहारिक एवं व्यवसायिक तालिमहरु दिँदै आएको छ ।
नेपालपत्र संवाददाता