नेपालका जनताहरुले बचत के हो भन्ने कुरा बुझिनसकेका बेलामा २०४५ सालदेखि नेफ्स्कुनले खर्च गर्नुभन्दा पहिला आफ्नो केहि पैसा बचत गर्नुपर्छ भनेर सिकाउँदै आएको हो । बचत भनेको यो हो, बचत गर्दा यी फाइदा हुन्छ भनेर बचतको विधि सिकाएर २०४५ सालबाट आम मानिसमा बचत गर्ने बानीको विकास नेफ्स्कुनले शुरु गरेको हो । शुरुका दिनमा यो अभियानलाई अगाडि बढाउन धेरै मेहनत गरियो । यो अभियानलाई हरेक व्यक्ति, प्रत्येक टोल, बस्ती हुँदै देशभरी पु¥याइयो । कतिपयसँग बचत गर्नका लागि पैसा नै हुँदैनथ्यो । उनीहरुलाई पनि बचत अभियानमा सामेल गराउन जेजस्तो अन्न पाक्छ, त्यहि अन्नबाली लिएर पछि त्यसलाई बेचेर पैसामा रुपान्तरण गरेर पनि बचत अभियानमा सहभागी गराइयो । यसरी मुलुकको बचत अभियानलाई यहाँसम्म ल्याइएको हो ।
बचत अभियानमा पैसा जम्मा गर्न थालेपछि सदस्यहरुको जीवनस्तरमा थुप्रै परिवर्तनहरु देखा पर्न थाले । बैंकबाट ऋण नपाएका मानिसले सहकारीबाट सजिलै ऋण पाए । आफ्ना खरखाँचो टार्नेदेखि व्यापार व्यवसाय गरेर आम्दानी गर्न सके । भनेको समयमा बैंकबाट ऋण पाईंदैनथ्यो । सहकारी खोलेर बचत गर्न थालेपछि समुहमा निर्माण गर्ने र आफ्नो बचत आफैं परिचालन गर्न पाउने, ऋणको ब्याज आफैं तोक्ने र त्यसबाट भएको नाफा समुहले नै बाँडेर लिने चलन बढ्यो । यो परिपाटीको विकास हुँदै जान थालेसँगै सरकारले २०४८ सालमा सहकारी ऐन ल्यायो । तर यो अभियान ४५ सालबाट नै शुरु भएको थियो । ऐनको दफा २६ मा सहकारीहरुले बचत संकलन र ऋण लागनी गर्न सक्ने व्यवस्था गरेकाले यो अभियानलाई सहजरुपमा अगाडि लैजान सक्यौं । २०४८ सालको ऐनले बचत तथा ऋण सहकारी संस्थाको सदस्य बनेपछि हुने फाइदाको बारेमा धेरै कुरा बोलिदियो । यो अभियानमा जोडिएपछि सदस्यले व्यक्तिगत रुपमा पाउने फाइदा, व्यापार व्यवसाय गरी आम्दानी गर्ने र आफ्नै खरखाँचो टार्ने काममा सहयोग मिल्यो ।
यो अभियान मुलुकको दुर्गम ठाउँसम्म पुग्यो र बैंक नभएको ठाउँमा सहकारी खुलेर सेवा दिन शुरु भयो । शहरी क्षेत्रमा बैंकको सुविधा भएको ठाउँमा भने बचत ऋण सहकारी व्यवसायको रुपमा अगाडि आयो । आफ्नो पेशा व्यवसाय केहि नहुने व्यक्तिले सरकारबाट स्वीकृति लिएर संस्था खोले तर विधि अनुसार नचलाएर आफ्नो व्यक्तिगत कम्पनीको रुपमा चलाए । यसले गर्दा शहरी क्षेत्रमा केहि समस्या आयो । देशभर १४ हजार बढी बचतऋण सहकारी होलान् । तीमध्ये दुईतीन सय बाहेक बचतऋण सहकारी अभियान राम्रोसँग चलिराखेको अवस्था छ । बचतऋण सहकारी अभियानको पूर्ण नेतृत्व नेफ्स्कुनले गरेको छ र स्थापनाको ३६औं वर्षमा पुगेको छ । यस अवधिमा नेफ्स्कुन आफुले लिएको उद्देश्यमा सफल भएको छ । बचतऋण अभियानलाई पनि सफल बनाएको छ । सुशासनमा बस्नको लागि कानुनमा जे कुराको व्यवस्था गरिएको छ, त्यो पालना गर्न सबै संस्थालाई अभिप्रेरित गर्दै आएको छ ।
नेफ्स्कुनको गाइडलाइनमा नहिँड्ने संस्थाहरुमा अहिले समस्या आएको हो । नेफ्स्कुनले आफ्नो तर्फबाट जुन अभियान अगाडि लिएर गएको छ, त्यसमा नेफ्स्कुन सफल भएको छ । बचत ऋण सहकारी अभियानले देशको समग्र आर्थिक, सामाजिक, साँस्कृतिक तथा वातावरणीय क्षेत्रमा धेरै ठूलो प्रभाव पारेको छ । सरकारी तवरबाट अध्ययनको विषय नबनेपनि समग्रमा बचत तथा ऋण सहकारीले समाजमा ठूलो योगदान गरेका छन् । सहकारी अभियानको विकृतिलाई न्यूनिकरण गर्न राज्यले प्रभावकारी नियमन गर्नुपर्छ । गलत गर्ने संस्थाहरुलाई कानुनी कारवाही गर्नुप¥यो । नेफ्स्कुनले सरकारले दिएको नीतिनियमहरुलाई पूर्ण रुपमा पालना गर्दै आफ्ना सदस्यहरुलाई स्वनियमनमा राखेर सहकारी संस्था चलाउन प्रेरित गरिराखेको छ । जति जति अभियान ठूलो हुँदै गयो त्यति समस्या आउन सक्छ । त्यसका लागि निरन्तररुपमा सहकारी शिक्षा, तालिम चाहिन्छ । यसलाई अनवरतरुपमा सञ्चालन गरेर जानुपर्छ । समयसापेक्ष नीति, विधि र प्रविधिलाई आत्मसात गर्दै सुशासित गन्तब्य तय गर्ने काममा नेफ्स्कुन लागिरहनुपर्छ ।
वित्तीय कारोबार गर्ने संस्थाहरुलको लागि बैंकको जस्तै कानुन चाहियो । सबै सहकारीलाई एउटै डालोमा हालेर एकदुई वटा दफाले मात्रै बचतऋण सहकारीलाई व्यवस्थित गर्न सकेन । कृषि वा बहुउद्देश्यीय सहकारी संस्थाभन्दा बचत तथा ऋण कारोबार गर्ने संस्था धेरै व्यवस्थित राख्नुपर्ने हुन्छ । त्यसैका लागि छुट्टै बचत तथा ऋण सहकारी ऐन चाहिन्छ । यस्तो अभ्यास विश्वका धेरै देशमा छ । ती देशमा क्रेडिट एक्ट अन्तर्गत रहेर बचत तथा ऋण सहकारी सञ्चालन हुँदै आएका छन् । केन्द्रिय बैंकले केन्द्रिय संघ र केन्द्रिय संघले प्रारम्भिक संस्थाहरुको अनुगमन गर्ने गर्छन् । यसले संस्थाहरुलाई सिस्टममा लैजान सहज हुन्छ । नेफ्स्कुनले बचत तथा ऋण सहकारी अभियानलाई व्यवस्थित गर्न सकारात्मक भूमिका खेलेकै छ । नेफ्स्कुन प्रभावकारी रुपमा अगाडि बढिरहेकै छ ।
नेफस्कुनको ३६औं स्थापना दिवसका अवसरमा निवर्तमान अध्यक्ष बस्नेतसँग गरिएको कुराकानीमा आधारित