सहकारी विज्ञ डा. ज्ञानेन्द्र प्रसाद पौडेलले सदस्यको बचत फिर्ताको लागि राज्यले नै सहयोग गर्नु पर्ने बताएका छन् । नेपालपत्रन्युज डटकमसँग कुरा गर्दै उनले समस्यामा परेको सहकारी संस्थाहरुको छानबिन गरी सञ्चालकहरुको सम्पत्ति रोक्का गरी विदेश जान रोक लगाउनु पर्ने र समस्यामा परेका सदस्यहरुको बचत फिर्ता हुने वातावरण राज्यले बनाउनु पर्ने उनले बताए ।
सहकारी ऐन २०७४ को दफा १०१ मा बचत फिर्ताको लागि प्रष्ट व्यवस्था गरेको र सोही अनुसार सरकारले बचत तथा कर्जा सुरक्षण कोष स्थापना गरी सदस्यको बचत फिर्ता गर्न सकिने उनले सुझाए । सरकारले उक्त कोष गठन गरेर १ लाखसम्म बचत भएका सदस्यलाइ १ महिना भित्र, ३ लाखसम्म भएकालाइ ३ महिना र ५ लाखसम्म बचत भएका सदस्यको बचत ६ महिनाभित्र फिर्ता गर्ने वातावरण बनाउनु पर्नेमा उनले जोड दिए । त्यो भन्दा बढी बचत भएका सदस्यको हकमा एउटा कार्यविधि बनाएर अगाडि जानुपर्ने र सोही अनुसार सदस्यको बचत फिर्ता गर्नुपर्नेमा उनको जोड छ ।
समस्यामा परेका संस्थासँग तरलता नभएको र समस्याको समाधान गर्नु राज्यको दायित्व भएको उनले औंल्याए । बैंक तथा वित्तीय संस्था समस्यामा पर्दा वित्तीय क्षेत्र सुधार कार्यक्रम लागू गरे जस्तै गरी सहकारीमा पनि एकदुई अर्ब पैसा सहकारी बचत तथा कर्जा सुरक्षण कोषमा लगानी गरिदिएर सदस्यको बचत फिर्ता गर्न सकिने उनको भनाइ छ ।
सहकारी संंघ संस्थाले पनि कुल वासलातको ०.०५ प्रतिशत कोषमा रकम राख्ने हो भने छोटो समयमा नै अर्बौं रकम जम्मा हुने उनले जनाए । त्यही पैसाबाट समस्यामा परेका सदस्यको बचत फिर्ता गर्न सकिने उनको भनाई छ । सहकारी विभाग वा पालिकाहरुसँग समन्वय गरेर १ महिना भित्रमा पीडित बचतकर्ताको रकम फिर्ता गर्ने वातावरण बनाउन उनले जोड दिए । यसो गर्ने सके २०/३० हजार सहकारीमा जम्मा गरेर फिर्ता नपाएका हजारौं सदस्यले राज्य भएको महशुस गर्ने उनको भनाइ छ ।
यसले सहकारीप्रति सकरात्मक वातावरण सृजना भइ सहकारीमा सदस्यको विश्वास बढ्ने पौडेलले बताए । सहकारीबाट ऋण लिएका ठुला ऋणी र सहकारीको बचत अपचलन गरेका सञ्चालकहरुको सम्पत्ति छानबिन गर्ने र के कति कारणले नतिरेको भन्ने पत्ता लगाएर फिर्ता ल्याउनको लागि पहल गर्नुपर्ने उनले सुझाए । सहकारीको बचत अपचलन गर्ने व्यवस्थापनको सम्पति व्यवस्थापन गर्न सरकारले सम्पति संकलन कम्पनी खडा गरेर जानु पर्ने उनको भनाइ छ । यो नहुँदासम्म चाहेर पनि ठुला बचतकर्ताको रकम फिर्ता गर्न नसकिने उनले प्रष्ट पारे । पौडेलसँग गरिएको विस्तृत कुराकानी केही समयपछि प्रकाशित गरिने छ ।