शनिबार, आश्विन १७ गते २०८३

बैंकका सीइओहरुलाई अर्थमन्त्रीको प्रश्न: के कारणले कर्जा लगानी नबढेको ? 

श्रावण २९, २०८० सोमबार
बैंकका सीइओहरुलाई अर्थमन्त्रीको प्रश्न: के कारणले कर्जा लगानी नबढेको ? 

 

अर्थमन्त्री डा. प्रकाशशरण महतले वाणिज्य बैंकका सीइओहरुलाई बोलाएर बैंकिङ क्षेत्रको बारेमा चासो राखेका छन् । आइतबार सबै वाणिज्य सीइओलाई अर्थमन्त्रालयमा डाकेर  समग्र बैंकिङ प्रणालीमा देखिएको समस्या र अहिले तरलता सहज हुँदा पनि कर्जाको माग बढ्न नसक्नुका कारणबारे मन्त्री महतले जानकारी लिएका हुन् ।

अर्थमन्त्री महतले अर्थतन्त्र सुधारका लागि गर्नुपर्ने कामबारे निजी क्षेत्र, दातृ निकाय तथा वैदेशिक लगानीकर्ता, नियामक निकाय तथा कर्मचारी संयन्त्रसँग निरन्तर छलफल बढाएका छन् । ‘बैंक वित्तीय संस्थामा कर्जाको माग के कारणले बढ्न सकेन ?’, अर्थमन्त्री महतले प्रश्न गर्दै भने, ‘अर्थतन्त्र चलायमान बनाउन बैंकिङ क्षेत्रले कसरी सहयोग गर्न सक्छ ? र यसका लागि नेपाल राष्ट्र बैंक र सरकारले के गरिदिनुपर्ने हो ?’ बैंकहरूको कर्जा असुली गर्न समस्या भएको र खराब कर्जाको अवस्था बढेकोबारे पनि अर्थमन्त्री महतले चासो राखेका थिए । 

नेपाल बैंकर्स संघका अध्यक्ष सुनील केसीले अहिले निजी क्षेत्रसहित बैंकिङ क्षेत्रको पनि मनोबल खस्केको, एफपीओको कर लाग्नेगरी बजेटमा भएको व्यवस्था, स्थानीय तहको पैसालाई निक्षेपमा गणना पाउनुपर्ने माग राखेका थिए ।

अहिले ब्याजदर घट्ने क्रममा रहेको, कर्जाको माग घटेसँगै प्रिमियम दर घटेको र आधारदर घट्ने क्रममा रहेकाले एकल अङ्कमा पुग्ने अवस्थामा पुग्न सक्ने सम्भावना रहेको उनले जनाए। वाणिज्य बैंकको कर्जा निक्षेप अनुपात  ८३ प्रतिशत हाराहारीमा पुगेको उनले बताए ।


सरकारले निर्माण क्षेत्रलाई गर्नुपर्ने भुक्तानी दिनुपर्ने, जग्गाको हदबन्दी तोकिएका कारण बैंकलाई समस्या भएको, निजी क्षेत्रमा चालु पुँजी कर्जा मार्गदर्शन कार्यान्वयनबारे देखिएको विमतिलगायतका विषयले अहिले बैंकिङ क्षेत्र चलायमान हुन नसकेको बैंकर्सहरुको तर्क थियो ।   निजी क्षेत्र र बैंक तथा वित्तीय क्षेत्रको मनोबल उकास्ने पक्ष सरकारबाट अपेक्षा राखेको उनीहरुले जनाए ।