शनिबार, आश्विन १७ गते २०८३

सहकारी बैंकको आयोजना लेखा सुपरीवेक्षण समितिको राष्ट्रिय गोष्ठी हुने


श्रावण २९, २०८० सोमबार
सहकारी बैंकको आयोजना लेखा सुपरीवेक्षण समितिको राष्ट्रिय गोष्ठी हुने

राष्ट्रिय सहकारी बैंक लिमिटेडको आयोजनामा आगामी असोजमा लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठी–२०८० हुने भएको छ ।  

‘दिगो, पारदर्शी र जोखिमरहित सहकारीः लेखा सुपरीवेक्षण समितिको जिम्मेवारी’ भन्ने थिम सहित असोज २५ र २६ काठमाडौमा गोष्ठी गर्न लागिएको बैंकले जनाएको छ ।   गोष्ठीमा सहकारी संघसंस्थाको लेखा सुपरिवेक्षण समितिका संयोजक तथा सदस्यहरु, सहकारी र सरोकारवाला निकायहरुका प्रतिनिधिहरु र इच्छुक व्यक्ति तथा संघसंस्थाका प्रतिनिधिहरू गरि ५ सय जनासम्मको सहभागिता गराइने भएको छ ।

सहकारी संघसंस्थाहरुको आर्थिक अवस्था, संस्थागत विकास र सन्तुलित वित्तीय कारोबारमा लेखा सुपरीवेक्षण समितिको भूमिकालाई थप प्रभावकारी बनाउन सहयोग पु¥याउने उद्देश्यले गोष्ठी आयोजना गरिन लागेको बैंकका अध्यक्ष के.बी. उप्रेतीले जनाएका छन् ।

गोष्ठीमा लेखा सुपरीवेक्षण समितिले तयार गर्ने प्रतिवेदनको ढाँचा र प्रतिवेदनमा समावेश गर्ने विषयहरुमा छलफल हुनेछ । सहकारीमा स्वनियमन र संस्थागत सुशासन अभिवृद्धिका लागि लेखा सुपरीवेक्षण समितिको सक्रिय भूमिकाको बारेमा स्पष्ट मार्गदर्शन प्रदान गरि सहकारीमा जोखिम व्यवस्थापन र वित्तीय अनुशासनका लागि लेखा सुपरीवेक्षण समितिको स्पष्ट कार्यदिशा तय गर्न गोष्ठीले सहयोग पुग्ने अध्यक्ष उप्रेतीको विश्वास व्यक्त गरे ।

बैंकले पहिलो पटक गर्न लागेको त्यस प्रकारको गोष्ठीमा सहकारी संघसंस्थाहरुको आन्तरिक नियन्त्रणका लागि प्रभावकारी औजार तथा प्रणाली विकासका सम्बन्धमा बहस र छलफल हुने छ । दुई दिन सम्म सञ्चालन हुन गइरहेको राष्ट्रिय गोष्ठीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषय विज्ञहरुको सहजीकरण रहने बैंकको लेखा सुपरिवेक्षण समितिका संयोजक लक्ष्मी प्रसाद उप्रेतीले जानकारी दिए ।