नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ नेफस्कूनका अध्यक्ष परितोष पौडेलले वित्तीय सहकारी ऐन नआएसम्म सहकारी क्षेत्रको समस्या समाधान नहुने बताएका छन् । नेपालपत्र न्युजसँग कुरा गर्दै उनले वित्तीय सहकारी संस्था सञ्चालनको लागि छुट्टै ऐनको विकल्प नरहेको बताए । अहिलेको समस्याको समाधानको एउटै मात्रै सुत्र भनेको छुट्टै वित्तीय सहकारी ऐन भएको उनको भनाइ छ ।
अब वित्तीय सहकारी संस्था र सेवा तथा उत्पादन सहकारी संस्था छुट्टिने बेला आएको पौडेलले बताए । यो नछुटिएसम्म जिडिपीमा सहकारीको योगदान नदेखिने उनले प्रष्ट पारे । उत्पादन र सेवा सहकारीलाइ राज्यले प्रवद्र्धन गर्नुपर्छ, अनुदान दिनुपर्छ भने वित्तीय सहकारी संस्थालाइ सुसासनमा लैजान आवश्यक नियमन गर्नुपर्ने उनको भनाई छ।
वित्तीय सहकारी ऐन आयो भने यसले कार्यक्षेत्र निर्धारणदेखि, पुँजी र निश्चित आधारहरु तय भइ सहकारी संस्था समस्यामा नपर्ने उनको दावी छ । बचत ऋण सहकारी संस्थाले वित्तीय सुचाङ्कहरु पालना गर्नुपर्छ, उनले भने,‘ तर सेवा र अन्य प्रकृतिका सहकारीको लागि त्यो अनिवार्य छैन, अहिले त्यहि भएर सहकारी संस्थामा तरलता लगायतका समस्या आएको हो ।’
नेफ्स्कुनले लामो समयदेखि छुट्टै ऐनको माग गर्दै आएको छ । सहकारी क्षेत्र सुधार सुझाव कार्यदलले सहकारीकर्मीहरुसँग सुझाव लिन गरेको कार्यक्रममा ९० प्रतिशत सहभागिले छुट्ट ऐनको माग गरेका छन् ।