बुधबार, भाद्र ३ गते २०८३

विद्युत् प्राधिकरणले सर्वसाधारणलाई सेयर जारी गर्ने


श्रावण २५, २०८० बिहीबार
विद्युत् प्राधिकरणले सर्वसाधारणलाई सेयर जारी गर्ने

नेपाल विद्युत् प्राधिकरणले सर्वसाधारणलाई सेयर जारी गर्ने भएको छ। प्राधिकरणका निर्देशक कुलमान घिसिङले प्रधिकरण ऐन–२०४१ बमोजिम सर्वसाधारणमा सेयर जारी गर्ने प्रक्रिया अघि बढाइएको बताएका हुन्।

एक पत्रकार सम्मेलनको आयोजना गरी कार्यकारी निर्देशक घिसिङले सर्वसाधारणलाई सेयर जारी गर्नका लागि इक्रा नेपालबाट एए प्लस रेटिङ पाएको उल्लेख गरे। विद्युत्‌ गुणस्तर सुधार, चुहावट नियन्त्रण तथा विद्युत् महसुल असुली लगायतका कार्यलाई प्रभावकारी बनाउने योजना प्राधिकरणको रहेको घिसिङले उल्लेख गरे । 

विगत दुई वर्षमा प्राधिकरणले आफ्नै स्रोतबाट करिब ४८ अर्ब रुपैयाँ बराबरको रकम प्रसारण तथा वितरण प्रणाली विस्तार र सुधारमा लगानी भएको छ । त्यस्तै सरकारको कोषमा साँवा ब्याज र रोयल्टी गरी ३० अर्ब जम्मा गरिएको छ । प्राधिकरणले गत आर्थिक वर्ष मुलुकभित्रै विद्युत् बित्रीबाट कुल ८९ अर्ब ७८ करोड रुपैयाँ बराबर आम्दानी गरेको छ भने भारतलाई विद्युत् बिक्री गरी १० अर्ब ५९ करोड रुपैयाँ बराबर आम्दानी गरेको छ । आन्तरिक र वाह्य गरी विद्युत् बिक्रीबाट कम्पनीले १ खर्ब आम्दानी गरेको छ । कुल आम्दानी भने अघिल्लो आर्थिक वर्ष २०७८/७९ को तुलनामा १२ अर्ब बढी हो । प्राधिकरणले आर्थिक वर्ष २०७८/७९ मा ८८ अर्ब १३ करोड आम्दानी गरेको थियो । आम्दानी बढे पनि कम्पनीको कर्मचारी तथा अन्य खर्चहरु बढ्दा गत आर्थिक वर्षको नाफामा केही कमी आएको देखिन्छ । २०७८/७९ मा कम्पनीले कुल १३ अर्ब ३७ करोड खुद नाफा कमाएको थियो ।

देशभर ९५ प्रतिशत घरधुरीमा विद्युतीकरण पुगेको भन्दै प्राधिकरणले देशभर बिजुलि पुर्याउन काम गरिरहेको जानकारी दिए । काठमाडौं उपत्यका सहित देश भरका प्रमुख ११ शहरहरूमा सन २०५० सम्म बिजुलीको माग धान्ने गरि आवश्यक प्रशारण र बितरण प्रणाली बनाउन लागिएको घिसिङले बताए । प्राधिकरणको प्रबन्ध निर्देशक भएको दुई वर्ष पुगेको अवसरमा प्रगित विवरण दिन घिसिङले पत्रकार सम्मेलन गरेका हुन् ।