शनिबार, आश्विन १७ गते २०८३

वाणिज्य बैंक र नलगाड नगरपालिकाबीच सहुलियतपूर्ण कर्जा सम्झौता

श्रावण २५, २०८० बिहीबार
वाणिज्य बैंक र नलगाड नगरपालिकाबीच सहुलियतपूर्ण कर्जा सम्झौता


राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र जाजरकोट जिल्लाको नलगाड नगरपालिका बीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा बिहीबार बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नलगाड नगरपालिकाका नगरप्रमुख डम्बरबहादुर रावतले हस्ताक्षर गरेका हुन् ।

सम्झौतापछि नगरपालिकाले आफ्नो क्षेत्र भित्र उद्यम तथा व्यवसाय गर्न चाहने व्यक्तिलाई परामर्श र उद्यमशीलता सम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गर्ने गरी तालिम प्राप्त व्यक्तिलाई कर्जाको लागि बैंकमा सिफारिस गर्ने छ र सोहीे उद्यमीहरुलाई बैंकले नियमानुसार सहुलियपूर्ण कर्जा अन्तर्गत कर्जा लगानी गर्ने छ । सम्झौताले नेपाल सरकार अर्थ मन्त्रालयबाट जारी भएको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५(संशोधन समेत) अन्र्तगत को कर्जा कार्यान्वयनमा सहयोग पुर्‍याउने विश्वास लिइएको छ ।

समारोहमा बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले यो सम्झौताले कर्णाली प्रदेशमा बैंकले प्राथमिकताका साथ सहुलियतपूर्ण कर्जा लगानी गरेको बताए । नलगाड नगरपालिकाका नगर प्रमुख डम्वरबहादुर रावतले नगर क्षेत्र कृषिको पकेट क्षेत्र भएकाले कृषि उत्पादनमा सहयोग पूग्ने उल्लेख गरे ।

बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २८२ वटा शाखा कार्यालय, ६५ वटा एक्सटेन्सन काउन्टर, २६९ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।