शनिबार, आश्विन १७ गते २०८३

यूरोपियन यूनियनको सुरक्षा सूचीबाट नेपाललाई हटाउन पहल गर्न माग

श्रावण २३, २०८० मंगलबार
यूरोपियन यूनियनको सुरक्षा सूचीबाट नेपाललाई हटाउन पहल गर्न माग

 

नेपाल उद्योग परिसंघले नेपाललाई यूरोपियन यूनियनले राखेको सुरक्षा सूचीबाट हटाउन आवश्यक पहल गर्न सरकारसँग माग गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीसँगको भेटमा परिसंघ प्रतिनिधिमण्डलले नेपालको पर्यटन प्रवद्र्धनका लागि चालिनुपर्ने कदम, यूरोपियन यूनियनले राखेको सुरक्षा सूचीबाट हटाउन गरिनुपर्ने पहलसहित तत्कालिन एवं दीर्घकालिन रुपमा गरिनुपर्ने नीतिगत सुधारका विषयमा छलफल गरेको हो ।

सोमबार मन्त्रालयमा भएको छलफलमा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले वैदेशिक मुद्रा आर्जन गर्ने महत्वपूर्ण स्रोत पर्यटन भएकाले नेपालको पर्यटन उद्योगको विकासका लागि सरकार एवं निजी क्षेत्रबीच समन्वय, सहकार्य हुनुपर्ने बताए । युरोपसँगको सिधा हवाई सम्पर्क पुन: स्थापित गर्न प्रभावकारी रुपमा अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याउँदै उनले युरोपेली पर्यटकहरु धेरै खर्च गर्ने मध्येमा पर्ने भएकाले युरोपियन यूनियनको सुरक्षा सुचीबाट जतिसक्दो छिटो हटाउनुपर्नेमा उनले जोड दिए ।

नेपाल उद्योग परिसंघले पर्यटन उद्योगलाई उच्च प्राथमिकतामा राखेर पर्यटन समिति गठन गरेको जानकारी गराउँदै अग्रवालले निजी क्षेत्रकोतर्फ परिसंघ मन्त्रालयसँग नजिकमा रहेर काम गर्न प्रतिवद्ध रहेको उल्लेख गरे ।

परिसंघले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सफल रुपमा संचालनका लागि हवाई रुटको अभावमा चुनौती देखा परेको सन्दर्भमा मन्त्रालयको ध्यानाकर्षण गराएको छ । नेपाललाई फिल्मिङ गन्तव्यका रुपमा विकास एवं प्रबद्र्धन गर्न, पर्यटकीय क्षेत्रमा पुग्ने सडक यातायात मार्गको स्तरोन्नतीको काम तोकिएको समयमा पुरा गर्नुपर्ने, हवाई टिकटमा मूल्य अभिबृद्धि कर लगाइएको लगायतका विषयमा परिसंघले ध्यानाकर्षण गराएको हाे ।

छलफलमा मन्त्री किरातीले नेपाल युरोपियन यूनियनको सुरक्षा सूचीबाट हटाउन पहल भईरहेको र छिट्टै सकारात्मक समाचार आउन सक्ने बताए । मन्त्री किरातीले नेपाल गन्तव्य महङ्गो भईरहेको अवस्थामा हवाई टिकटमा मूल्य अभिबृद्धि कर लगाउने कुरामा आफ्नो असहमति रहेको जनाए ।

नेपालका दुर्गम स्थानमा सेवा प्रवाह गर्न ट्रंक रुटका लागि केही जहाज र नेपाल वायुसेवा निगमलाई प्रतिस्पर्धी बनाउन अन्तर्राष्ट्रिय उडानका लागि न्यारो बडी जहाज खरिद गर्ने तयारी गरिरहेको बताए । उनले पर्यटन उद्योगको विकासका लागि परिसंघसँग मिलेर काम गर्ने जनाए ।

उक्त छलफलमा परिसंघका उपाध्यक्ष राजबहादुर शाह, परिसंघ पर्यटन समिति सभापति पम्फा धमला, परिसंघका महानिर्देशक दीपकराज जोशी, पर्यटन समिति सदस्यहरुलगायत रहेका थिए ।