नेपाल राष्ट्र बैंकले बैंकले हिमालयन बैंक, कुमारी बैंक र प्राइम कमर्सियल बैंकलाई जरिवानासहित कारबाही गरेको हो । गत आर्थिक वर्षमा राष्ट्र बैंकले जारी गरेका निर्देशनहरु उल्लंघन गरेपछि यी ३ बैंक कारबाहीमा परेका हुन् ।
प्राइम कमर्सियल बैंकले राष्ट्र बैंकको एकीकृत निर्देशन २०७९ को निर्देशन नम्बर २ बमोजिम कायम गर्नुपर्ने कर्जा नोक्सानी व्यवस्था कायम नगरेको तथा क्यापिटल एडुकेसी फ्रेमवर्क २०१५ अनुसार जोखिम भारित सम्पत्ति गणना गर्दा वास्तविकभन्दा कम गरेको विभागले जनाएको छ ।
त्यस्तै प्रिमियम दर बढाई ब्याज असुल गरेकाले नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा १०० को उपदफा २ ‘क’ बमोजिम प्राइम बैंकका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको छ ।
त्यस्तै २०७९ माघमा कर्जा–निक्षेप अनुपात कायम नगरेको कुमारी बैंकलाई ५९ लाख ६३ हजार ६९४ रुपैयाँ तथा कात्तिकमा कर्जा–निक्षेप अनुपात कायम नगरेको हिमालयन बैंकलाई १ करोड ३९ लाख ४७ हजार २८ रुपैयाँ जरिवाना गरिएको छ ।
राष्ट्र बैंकका अनुसार प्राइम र कुमारी बैंक पहिलो पटक कारबाही परेका हुन् भने हिमालयनलाई दोस्रो पटक कारबाही गरिएको हो ।