काबुल एयरपोर्टमा भएको बम हमलामा मारिनेको संख्या ९० पुगेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । मृत्यु हुनेमध्ये १३ अमेरिकी सैनिक रहेका छन् । कम्तीमा १५० जना घाइते रहेका जनाइएको छ ।
बिहीबार काबुलको हमिद कारजाई इन्टरनेशनल एयरपोर्ट बाहिर दुईवटा विष्फोट भएका थिए । काबुल तालिबानको कब्जामा आएपछि विदेशिन चाहने हजारौं अफगानी नागरिकको भीडमा विष्फोट गराइएको थियो ।
स्थानीय समय अनुसार बेलुकी ६ बजे पहिलो विष्फोट भएको थियो । विष्फोट एयरपोर्ट नजिकैको बैरन होटलको छेऊमा भएको थियो । त्यस होटलमा ब्रिटिश अफिसरहरु रहेको बताइएको छ ।
दोश्रो विष्फोट एयरपोर्ट छेउकै नहरमा भएको थियो । त्यहाँ धेरै अफगानी नागरिक एयरपोर्टभित्र छिर्ने प्रतीक्षामा बसिरहेका थिए ।
समाचार एजेन्सी रोयटर्सका अनुसार इस्लामिक स्टेटले आफ्ना संगठनका आत्मघाती हमला गराएको दावी गरेका छन् ।
थप हमला हुनसक्ने भन्दै काबुलस्थित अमेरिकी सेना अलर्टमा रहेको जनाइएको छ ।