नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र जारी गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले एक सूचना जारी गर्दै ६ वर्षमा परिपक्व हुने विकास ऋणपत्र २०८६ ‘छ’ जारी गर्ने जनाएको हो ।
साउन १९ गते बिहीबार अपरान्ह ३ बजे बोलकबोल हुने ऋणपत्र निष्काशन भने शुक्रबार हुनेछ । बैंक तथा वित्तीय संस्था, गैर बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था र नेपाली नागरिकले ऋणपत्रको बोलकबोलमा भाग लिन पाउनेछन् ।
यो ऋणपत्र धितो राखेर कर्जा लिनदिन पाइने जनाइएको छ । यसको ब्याजदर बोलकबोल माध्यमबाट हुने छ । ब्याज भुक्तानी अर्धवार्षिक रुपमा हुने छ । ब्याजमा ब्याजकर लाग्नेछ ।
ऋणपत्र खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीका रुपमा सहभागी हुन सक्नेछन् । प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलकबोललाई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात ८.५ अर्ब र १.५ अर्ब छुट्याइएको छ । ऋणपत्र २०८६ साउन १९ गते परिपक्व हुनेछ ।
विकास ऋणपत्र दुइ वर्षभन्दा माथि मध्यम तथा दीर्घकालीन अवधिका लागि आन्तरिक ऋण उठाउन सरकारले प्रयोग गर्ने उपकरण हो । यसलाई सरकारी ऋणपत्र पनि भनिन्छ । हाल नेपाल राष्ट्र बैंकबाट निष्कासन भएका विकास ऋणपत्र ३ देखि १५ वर्ष अवधिका हुने गर्छन् ।