नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको कामकारवाहीप्रति कुनै गुनासो भए लहैलहै वा बहकाउमा नलागी सोको यथोचित व्यवस्थापनको लागि समयमै गुनासो दर्ता गरी स्थापित संस्थागत संरचनामार्फत समस्या समाधानको पहल गर्नुपर्ने जनाएको छ ।
वित्तीय चेतनाका लागि एक सन्देश प्रकाशित गर्दै हरेक बैंक तथा वित्तीय सहकारी संस्थाले गुनासो सुन्ने अधिकारी तोक्नुपर्ने व्यवस्था गरिएको जनाएको छ । बैंक तथा वित्तीय संस्थाबाट सबै किसिमका सेवा लिइरहेका ग्राहकको हित संरक्षणको लागि यस्तो व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ ।
गुनासो सुनवाईका लागि नेपाल राष्ट्र बैंकमा समेत अलग्गै महाशाखा स्थापना गरिएको जनाएको छ । महाशाखाले वित्तीय ग्राहकको गुनासो व्यवस्थापन गर्दै आएको छ भने गुनसोको प्रकृति अनुसार नेपाल राष्ट्र बैंकका बरिष्ठ डेपुटी गभर्नरको अध्यक्षता गठित व्यवसायी, बैंकर तथा अर्थ मन्त्रालयको समेत प्रतिनिधित्व रहेको उकत गुनासो व्यवस्थापन समितिमार्फत संस्थाहरुलाई आवश्यक निर्देशन दिने गरिएको जनाएको छ ।
गुनासो टिपाउनका लागि इमेल (gunaso@nrb.gov.np) , लघुवित्तसम्बन्धी गुनासो भए टोल फ्रि नं. १८१०५००००२२ वा हटलाइन ०१४४१२२२४ मा सम्पर्क गर्न सकिने साथै अनलाइन पोर्टल (gunaso.nrb.gov.np) तथा वित्तीय ग्राहक संरक्षण इकाइको सम्पर्क नं. ०१४४१५१५८ मार्फत समेत ग्राहकले आफ्ना समस्या राख्न सक्ने र ती समस्याकाे राष्ट्र बैंकले सुनुवाइ गर्ने जनाएको छ ।
नेपालपत्र संवाददाता