अब मोटरबाटो नभएको खेतीयोग्य जमीन धितो राखेर ऋण पाइने भएकाे छ। नेपाल राष्ट्र बैैंकले कृषि कर्जा प्रवाह गर्दा मोटरबाटो नभएको खेतीयोग्य जमीन समेत धितोको रुपमा लिन पाउने जनाएको हाे ।
वित्तीय चेतनाका लागि एक सूचना जारी गर्दै राष्ट्र बैंकले कृषि क्षेत्रमा २० लाख रुपैय सम्म कर्जा प्रवाह गर्दा बैंक तथा वित्तीय संस्थाले मोटरबाटो नभएको खेती योग्य जमीनलाई पनि धितोका रुपमा स्वीकार गर्न सक्ने जनाएको हो ।
कृषि कर्जामा वास्तविक किसानको पहुँच सुनिश्चित गर्ने उद्देश्यले राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको जनाएको छ । त्यस अनुरुप बैंक तथा वित्तीय संस्थाहरुले खाद्यान्न उत्पादन, पशुपंक्षी तथा मत्स्यपालन जस्ता क्षेत्रमा लगानी गर्दा उक्त व्यवस्था अनुसार धितो लिइ कर्जा प्रदान गर्न सक्नेछन् ।
उक्त कर्जा माग भएको सात कार्यदिन भित्र स्वीकृत गर्नुपर्ने र स्वीकृत हुन नसक्ने भएमा सोको स्पष्ट कारणसमेत लिखित रुपमा ग्राहकलाई जवाफ दिनुपर्ने राष्ट्र बैंकले जनाएको छ ।
यदि बैंक तथा वित्तीय संस्थाले चित्तबुझ्दो जवाफ नदिएमा कर्जा प्रदान गर्ने संस्था वा नेपाल राष्ट्र बैंकमा गुनासो दर्ता गर्न सकिने सूचनामा उल्लेख छ ।