शनिबार, कार्तिक ८ गते २०८३

गैरकानुनी तरिकाबाट  सामान भित्र्याउने प्रवृत्तिलाइ  गम्भीरताका साथ लिएको अर्थमन्त्रीको भनाइ

श्रावण ८, २०८० सोमबार
गैरकानुनी तरिकाबाट  सामान भित्र्याउने प्रवृत्तिलाइ  गम्भीरताका साथ लिएको अर्थमन्त्रीको भनाइ

 

 अर्थमन्त्री डा. प्रकाशशरण महतले भन्सार कर्मचारीले कर्तव्यनिष्ठ र समर्पित भएर काम गर्न निर्देशन  दिएका छन् । सोमबार भैरहवा भन्सार कार्यालयको निरीक्षण गर्दै मन्त्री  महतले भने, ‘अहिले राजस्व कम उठेको छ, यसका धेरै कारण छन् । केही समयअघि आयात रोकियो, त्यो कारणले पनि भन्सार उठ्ती कम भयो । आन्तरिक आर्थिक गतिविधिमा कमी भएपछि राजस्व कम उठ्यो । सँगसँगै नाका र नाकाबाहिर दुरुपयोग गर्ने तथा अन्य उपाय उपयोग गरेर सामान भित्र्याउने प्रवृत्ति विद्यमान छन् ।’

सुरक्षा निकायसहितको समन्वय समिति पनि छ । कुनै कारणबाट राजश्व उठाउने क्रममा हामीले दुरुपयोग या गैरकानुनी तरिकाबाट नाका र नाकाबाहिरबाट प्रवेशलाई सरकारले गम्भीरताका साथ लिएको मन्त्री डा. महतको भनाइ छ ।  ‘उच्च कर्तव्यनिष्ठताका साथ कर्मचारीले काम गर्न निर्देशन दिँदै  उनले भने , ‘यो जिम्मेवारी जोकोहीले पाएको छैन, धेरै मान्छेहरु हाम्रो राज्यसंयन्त्रको अंग हुन पाएका छैनन् । मेरो पनि त्यत्तिकै योग्यता थियो, हामीले पनि केही जिम्मेवारी पाए हुन्थ्यो भन्ने थुप्रै नागरिक छन् । प्राप्त जिम्मेवारीसँगै राज्यले दिएको तलबभत्ताबाट तपाईंहरु सन्तुष्टि हुनुपर्छ । मलाई यसले पुगेन, योभन्दा मलाई ठूलो चाहिन्छ कसैले भन्छ भने, उसले त्यो ठाउँ छोड्नुपर्छ । जिम्मेवारीबाट पन्छिने छुट कसैलाई छैन ।’ 

‘काम गर्न मन लागेको छैन, मन नलागी काम गरियो भने त्यसबाट परिणाम आउँदैन । जसले जहाँ जिम्मेवारी पाएको छ, उसले पूर्ण समर्पणका साथ काम गर्यो भने मात्र परिणाम आउँछ । मैले तपाईंहरुबाट यही आशा गरेको छु मन्त्री डा.महतले  भने ।  उनले भने , ‘गत वर्ष सामान कम आयात भएर राजस्व कम उठ्यो । चोरी पैठारी बढ्यो । सामान समानन्तर किसिमबाट प्रवेश गरेको छ भन्ने कुरा आएको छ । सुरक्षा निकायको समन्वयमा यो प्रवृत्ति अन्त्य गर्नुपर्छ । केन्द्रमा पनि गृह र अर्थमन्त्रालयको समन्वय हुन्छ, जिल्ला तहमा पनि त्यो समन्वय हुनुपर्छ ।’

यहाँका आवश्यकताका बारे पनि त्यत्तिकै गम्भीर रहेको भन्दै मन्त्री डा। महतले भन्नुभयो, ‘यसबारे अर्थमन्त्रालय गम्भीर छ । संयन्त्रमा जे कुराको आवश्यकता छ, आधुनिक मेसिनको आवश्यकता छ, अरु सहयोगी संरचना नभएर काममा बाँधा परेको छ भने त्यो बाधा फुकाउन मन्त्रालय तयार छ । आवश्यकता सामाग्रीको फेहरिस्ता दिनुस् हामी पूरा गर्छु ।’ यहाँ ल्याइएको मेसिन प्रयोग नभएको कुरा पनि आएको छ । हामीले मेसिन चलाउन जानेनौं भनेर प्रयोग नभएको बताइन्छ । त्यसकारण यो प्रवृत्ति पनि गलत रहेको मन्त्री डा. महतले औंल्याए।