गुजरात । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल लगानी र प्रतिफलको दृष्टिले उर्वर रहेकोले निर्धक्कसँग लगानी गर्न भारतीय उद्यमीलाई आह्वान गरेका छन् ।
भारतको गुजरात चेम्बर अफ कमर्सले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै महतले भारतीय उद्योगी व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान गरेका हुन् ।
भर्खर मात्र भारतसँग दश हजार मेघावाट जलविद्युत् निर्यात गर्ने सहमति भएको र यसले नेपालमा जलविद्युत उत्पादन प्रोत्साहित हुने र धेरै विद्युत खपत गर्ने उद्योगलाई समेत प्रशस्तै सम्भावनाका ढोका खोलेको उनले बताइन् ।
नेपालमा जलविद्युत बाह्रै महिना सस्तो दरमा उपलब्ध हुने अवस्था आइसकेको, नेपालबाट उत्पादित सामानले भारतमा पनि सहज पहुँच प्राप्त गर्ने हुँदा लगानीमा सहजता बढ्दै जाने उनले उल्लेख गरे ।
नेपालमा विद्युत मात्र नभई कृषि उद्यम, सूचना प्रविधि पर्यटन समेत आकर्षक क्षेत्र रहेको , कृषि तथा पर्यटन उद्योगमा लगानीको अपार सम्भावना रहेको , प्रतिफल फिर्ता लैजान नीतिगत रूपमा कुनै समस्या पनि नरहेकाले निर्धक्क भइ लगानी गर्न उनले आग्रह गरे ।
गुजरात उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष संदिप ईन्जिनियरले गुजरातका उद्योगी व्यवसायिहरू नेपालमा लगानी विस्तार तथा व्यवसाय स्थापना गर्न ईच्छुक रहेको बताउदै त्यसकोलागि प्रकृयागत सहजीकरण गरिदिन अनुरोध गरेका थिए ।