शनिबार, कार्तिक ८ गते २०८३

 करको प्रस्तावमा आवश्यकता अनुसार संशोधन गर्न सकिने अर्थमन्त्रीको भनाइ 

आषाढ २९, २०८० शुक्रबार
 करको प्रस्तावमा आवश्यकता अनुसार संशोधन गर्न सकिने अर्थमन्त्रीको भनाइ 


अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले आर्थिक विधेयक २०८० मार्फत गरेका करका प्रस्ताव आवश्यकता  अनुसार संशोधन गर्न सकिने बताएका छन् । 

राष्ट्रियसभाको बैठकमा आर्थिक विधेयक २०८० माथि दफावार छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै  करका दर प्रस्ताव गर्दा सकारात्मक र नकारात्मक पक्षको समीक्षा गरिने र सोहीअनुसार संशोधन गर्न सकिने  उनले बताए । ‘करका विषयमा कहाँ के गर्दा ठीक हुन्छ भन्ने विषयमा हामी खुला छौँ । हामीले गरेका प्रस्ताव दायाँबायाँ हुँदैन भन्ने छैन । मोटामोटी आंकलन गरेर समग्रमा यसो गर्दा ठीक हुन्छ भन्ने भएर प्रस्ताव गरिएको हो,’ अर्थमन्त्रीले भने, ‘हामीले प्रस्ताव गरेका करका दरले कहाँ सकारात्मक र नकारात्मक असर परेको छ समीक्षा गरी सोही अनुसार दर निर्धारण हुन्छन् ।’

राष्ट्रियसभाको बैठकमा सांसदहरुले सुर्तीजन्य वस्तुमा लाग्दै आएको स्वास्थ्य जोखिम कर बढाउनुपर्ने माग गरेका थिए । तर सुर्तीजन्य वस्तुमा अन्तःशुल्क, मूल्य अभिवृद्धि कर र स्वास्थ्य जोखिमसमेत जोड्दा उच्चदरमा कर लागिरहेको उनको भनाइ थियो । आर्थिक विधेयकमा राखिएको वैदेशिक पर्यटन शुल्क विदेशबाट नेपालमा आउने पर्यटकका लागि नभई विदेश घुम्न जाने नेपालीका लागि लगाइएको कर भएको  उनको भनाई छ ।