अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंक तथा वित्तीय संस्थाले मिलेमतोमा ब्याजदर बढाएको आरोप लगाएका छन् । नेपाल वित्तीय संस्था कर्मचारी संघले वित्तीय क्षेत्रको चुनौति विषयक एक कार्यक्रममा मन्त्री अर्थमन्त्री डा महतले बैंक तथा वित्तीय संस्था ब्याजदर बढाउने विषयमा भने मिलेमतो गर्ने गरेको समेत बताए। उनले भने, ‘ब्याजदर लगायत अन्य विषयमा मिलोमतोमा निर्धारण हुन थाल्यो भने ढिलोचाँडो त्यसले समस्या सिर्जना गर्छ । वित्तीय क्षेत्रमा स्वस्थ्य प्रतिस्पर्धा एकदमै जरुरी छ।’
बैंक तथा वित्तीय संस्थाले निक्षेपकर्ताप्रति जिम्मेवार भएर स्वस्थ प्रतिस्पर्धा गर्न आवश्यक रहेको उनले औंल्याए।उनले भने ‘ब्याजदर बढाउने घटाउने विषयमा मिलेमतो र एकाधिकार जस्तो भयो । एउटै व्यक्ति व्यवसायी र बैंकर हुँदा कर्जा क्षेत्रमा पनि समस्या छ। यस्तो हुँदा कर्जा सुविधा बढी लिने गरेको वास्तविकता हामीले देखेकै छौँ।’ बैंक तथा वित्तीय संस्थाले परियोजना धितो राखेर कर्जा नदिने तर घरजग्गा धितो राखेर मूल्यांकनभन्दा बढी कर्जा प्रवाह गर्ने प्रवृत्ति रहेको अर्थमन्त्री महतले उल्लेख गरे ।
उत्पादनशील क्षेत्रमा भन्दा उपभोगका क्षेत्रमा बढी ऋण लगानी हुने गरेकामा नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत यसलाई सम्बोधन गर्नुपर्ने उनले औंल्याए । आगामी आर्थिक वर्षको मौद्रिक नीतिले समग्र अर्थतन्त्रमा स्थिरता र आर्थिक वृद्धितर्फ उन्मुख गराउने गरी आउनुपर्ने अर्थमन्त्री डा महतको भनाइ छ। ‘सरकारले लिएको लक्षित आर्थिक वृद्धिदर हासिल गर्ने तर्फ उन्मुख गराउने मौद्रिक नीति आवश्यक छ’, उनले भने।