बुधबार, भाद्र ३ गते २०८३

हुलाक बचत खाता र रकम अब राष्ट्रिय वाणिज्य बैंकको जिम्मामा


आषाढ २५, २०८० सोमबार
हुलाक बचत खाता र रकम अब राष्ट्रिय वाणिज्य बैंकको जिम्मामा

हुलाक बचत बैंकमा रहेका खाता एवं बचत रकम हुलाक अब राष्ट्रिय वाणिज्य बैंकमा हस्तान्तरण हुने भएकाे छ । हुलाक सेवा विभागले राष्ट्रिय वाणिज्य बैंकमा हस्तान्तरण गर्ने सम्बन्धमा दुवैपक्षबीच आईतबार सम्झौता भएको हाे । सम्झौतापत्रमा हुलाक सेवा विभागका महानिर्देशक ईन्दु घिमिरे र बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले हस्ताक्षर गरेका हुन् । नेपाल सरकारको आ.व.२०८०/०८१ को वार्षिक बजेटमा व्यवस्था भई नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय बमोजिम हुलाक बचत बैंकमा रहेका खाता एवं बचत रकम राष्ट्रिय वाणिज्य बैंकमा हस्तान्तरण हुन लागेकाे हाे । 

देशभरका ६८ हुलाक कार्यालयबाट करिब ५७ हजार सर्वसाधारणको बचत खाता तथा करिब एक हजार सात सय कर्मचारीहरुको ऋण लगानीका खाताहरु विभागले बैंकका विभिन्न शाखा कार्यालयहरु मार्फत यही असार २८ गतेभित्र विवरण हस्तान्तरण गर्ने भएको छ । हुलाक बचत बैंकका निक्षेपकर्ताहरुले रा.वा.बैंकको नजिकैका शाखा कार्यालयमा गई नियमानुसार खाता आद्यवधिक गरी आफ्नो नियमित कारोबार आगामी साउन १ गते देखि गर्न सक्नेछन् । यसरी खोलिने सम्पूर्ण खातावालाहरुलाई बैंकले चेकबुक, एटिएम कार्ड, मोवाइल बैंकिङ्ग सेवा, एसएमएस सेवा निशुल्क उपलब्ध गराउने छ ।

नेपाल सरकारले हुलाक कार्यालयलाई आ.व.२०३२/०३३ सालदेखि सर्वसाधारणको बचत सङ्कलन गर्ने र आ.व.२०६०/०६१ देखि ऋण लगानी समेत गर्ने अनुमति दिएको थियो । हुलाक बचत बैंकको कार्यक्षेत्र निक्षेप सङ्कलनमा सर्वसाधारण र ऋण लगानीमा नेपाल सरकार सञ्चार तथा सुचना प्रविधि मन्त्रालय र अन्तर्गतका स्थायी कर्मचारीहरु रहँदै आएको छ ।