प्रभु बैंक र हेफर इन्टरनेशनल नेपालबीच सुलभ वित्तीय कर्जा सम्झौता भएको छ । सम्झौता पछि स्थानीय सहकारीमा आवद्ध युवा तथा महिला उद्यमी र साना किसानहरुलाई प्रभु बैंकले सुलभ वित्तीय कर्जा उपलब्ध गराउनेछ ।
बैंकले नुवाकोट जिल्लाको पञ्चकन्या गाउँपालिकास्थित अनुशासित र आधारशिला सामाजिक उद्यमी महिला सहकारी संस्थासँग सहकार्यमा किसानहरूलाई सहुलियतपुर्ण कृषि कर्जा दिने भएको हो ।
नुवाकोटको बट्टारमा एक कार्यक्रम बिच पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेज बहादुर तामाङ, हेफर इन्टरनेशनलका सह–निर्देशक प्रकाश कटुवाल, प्रभु बैंकका ग्लोबल मार्केट्स प्रमुख सुजिन शाक्य र माईक्रो फाईनान्स विभाग प्रमुख प्रविन कुमार दहालले संयुक्त रुपमा कृषकहरुलाई कर्जा रकम हस्तान्तरण गरे । पञ्चकन्या गाउँपालिकाका ७ जना कृषि तथा पशु उद्यमशिलतामा काम गरीरहेका उद्यमीहरुलाई प्रभु बैंकको बट्टार शाखा कार्यलयबाट ४० लाख रुपैयाँको सहुलियतपूर्ण कृषि कर्जा पाएका हुन् ।
उक्त सम्झौता अनुरुप हेफर इन्टरनेशनल नेपालका तर्फबाट प्रर्वधित सहकारीहरुले सहुलियतपूर्ण ऋण लिन ईच्छुक उद्यमीहरूको पहिचान गरि कर्जा लिन योग्य उद्यमीहरूलाई बैंकमा सिफारिस गर्नेछन् । त्यसैगरि स्थानिय सरकारले कर्जा सदुपयोगको अनुगमन गरि आवश्यक अन्य व्यवसायिक विकासका सेवाहरु प्रदान गर्न सहयोग तथा सहजिकरण गर्नेछ ।
हेफर ले ४४ जिल्लाका करिव ४ लाख पिछडीएका गरिव परिवारहरुलाई सहयोग गर्दै साना किसानको दिगो जिविकोपार्जन विकासको लागि कार्यक्रम संचालन गर्दै आएको छ । यस संस्थाले हालसम्म २७० सामाजिक उद्यमी महिला सहकारीहरु मार्फत वित्तीय पहुँच पुर्याउन सहजिकरण गर्दै आएको छ ।
उक्त सम्झौता अनुरुप बैंकले करिब १५ सय उद्यमीहरूलाई कर्जा उपलब्ध गराउन सहजता प्रदान गर्ने विश्वास लिएको छ ।