बुधबार, भाद्र ३ गते २०८३

सहकारीको आवरणमा सीमित व्यक्तिको स्वार्थपूर्ति, नियामक कमजाेर हुँदा सदस्यकाे अर्बाैं बचत जाेखिममा


आषाढ २२, २०८० शुक्रबार
सहकारीको आवरणमा सीमित व्यक्तिको स्वार्थपूर्ति, नियामक कमजाेर हुँदा सदस्यकाे अर्बाैं बचत जाेखिममा

सहकारी संस्थाको बोर्ड राखेर व्यक्तिगत व्यवसाय गर्ने केही सहकारी संस्थाका कारण सिङ्गो अभियान नै अहिले बदनाम हुन पुगेको छ । सहकारीको खोल ओढेर निजी व्यवसाय गर्ने केही सहकारी संस्थाका सञ्चालकका कारण सिङ्गो सहकारी अभियानको छवि नै धुमिल हुन पुगेको हो । सहकारी संस्था खोल्ने र सदस्यबाट बचत लिएर निजी व्यवसाय गर्ने कुरा सहकारी क्षेत्रको लागि नौलो भने होइन । त्यसको प्रत्यक्ष उदाहरण हो, ओरेन्टल सहकारी संस्था । 

२०६८ सालमा नै समस्याग्रस्त बनेको उक्त संस्थाले सदस्यबाट लिएको बचत हाउजिङ्ग, यातायात र हवाई क्षेत्रमा लगानी गरेको थियो । सदस्यको बचतलाई व्यक्तिगत  कम्पनी खोलेर ऋण लगानी गर्दा समेत राज्यले प्रभावकारी नियमन तथा अनुगमनका साथै कारवाही गर्न नसक्दा शहरका अन्य थुप्रै सहकारी संस्थाले यसैको सिको गरे । जसको प्रत्क्षय उदाहरण बनेका छन्, सिभिल, देउराली, शिवशिखर, सुमेरु र कान्तिपुर सहकारी संस्था । यी सहकारी संस्थाले सदस्यबाट अबौं रुपैया उठाएर व्यक्तिगत कम्पनी स्थापना गरेको पाइएको छ । सदस्यको बचत सदस्य माझ नै परिचालन गरेको भए सदस्यको अबौं रकम जोखिममा पर्ने थिएन । सञ्चालक र उनीहरुका एकाघर परिवारका सदस्यका नाममा दजनौं कम्पनी खोलेर लगानी गर्दा आज सदस्यको अर्बौं बचत जोखिममा परेको छ । 

ती सहकारी संस्थाले सदस्यबाट अबौं बचत संकलन गरेका छन् तर केही प्रतिशतमा मात्रै सदस्यमाझ परिचालन गरी बाँकी बचत निजी कम्पनीमार्फत  घर जग्गा, शेयर बजार, अस्पताल, होटल, र अन्य विभिन्न क्षेत्रमा लगानी गरेका छन् । सहकारी ऐन २०७४ ले ती क्षेत्रमा लगानी गर्न बन्देज गरेको छ । तर कमजोर नियमनको फाइदा उठाउँदै ठूला सहकारी संस्थाले सदस्यबाट संकलन गरेको बचत आफनो फाइदाका लागि ऐन भन्दा बाहिर गएर लगानी गरे । अहिले त्यसको परिणाम विकराल देखिएको छ । कतिपय संस्थाका सदस्यहरू आफुले राखेको बचत फिर्ताका लागि बिभाग, मन्त्रालय र न्यायालयको ढोका चहार्दा समेत सुनुवाइ नभएपछि बाध्य भएर अहिले सडकमा धर्ना बस्नु परेको छ । 

भक्तपुरमा मुख्य कार्यालय रहेको शिवशिखर सहकारी संस्थाले सदस्यबाट १४ अर्ब भन्दा माथि बचत संकलन गरेको छ । संस्थाले सदस्यहरुलाई आकर्षक ब्याज दिएर छोटो समयमा बजारबाट ठुलो रकम संकलन गर्न सफल भयो । संस्थाले उपत्यका लगायत देशका बजार क्षेत्रमा सदस्यलाई सेवा दिने भन्दै ३५ भन्दा बढी सेवा केन्द्र खोल्यो । शहरीकरण भएको ठाउँमा सेवा केन्द्र पुर्याउन संस्था सफल भयो र सदस्यबाट बचतको रुपमा संकलन भएको पुँजीलाई २१ भन्दा बढी कम्पनी खोलेर लगानी गर्यो । 

शिवशिखरको छानबिन गरिरहेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का अनुसार सो संस्थाका अध्यक्ष केदारनाथ शर्माले १० अर्ब ७७ करोड ७६ लाख ३७ हजार ५२६ रुपैयाँ र श्री तुलसी बहुमुखी सहकारीबाट एक अर्ब ४५ करोड ७५ लाख ४५ हजार ९९१ रुपैयाँ हिनामिना गरेको जनाएको छ।
प्रचलित सहकारी ऐन र नियमावली विपरित सहकारी संस्थाबाट आफू र आफ्ना नजिकका व्यक्तिहरुको नाममा सञ्चालित विभिन्न कम्पनीहरुमा ऋण लगानी गरी उक्त रकमको साँवा व्याजसमेत सहकारी संस्थामा फिर्ता नगरेको पाइएको हो ।

शिखर अर्गनाईजेशनका सञ्चालक समेत रहेका उनले विभिन्न क्षेत्रका कम्पनीमा ठूलो रकम लगानी गरेको भेटिएको हो । उनले आफू र आफ्ना परिवारका सदस्यका नाममा घरजग्गा, सवारी साधनलगायत खरिद गरेर समेत सर्वसाधारणको निक्षेपको दुरुपयोग गरेको सीआईबीले जनाएको छ ।

उनले गोर्खा टि एण्ड कफी इण्डष्ट्रिज, गोर्खा वेभरेज, शिखर मेसेनरी एण्ड अटोमोबाइल्स, नटराज एग्रो, तुलसी मोटर पम्प इण्डष्ट्रि, तुलसी कृषि अनुसन्धान केन्द्र, गार्डेन मार्ट, शिवशिखर इन्भेष्टमेन्ट, उपकार मडिया, उपकार गार्मेन्ट, शिखर मिनरल वाटर एण्ड वेभरेज, उपकार आयल, हिमालयन लायन कन्ष्ट्रक्सन, तुलसी फुड, नटराज फुड, उपकार फाउण्डेसन लगायत कम्पनीमा लगानी गरेका छन् । 

त्यसैगरी २०५३ सालमा खुलेको कान्तिपुर बचत तथा ऋण सहकारीमा २४ वर्षसम्म सीबी लामा अध्यक्ष थिए । उनी र सञ्चालकहरूको मिलेमतोमा सदस्यको ठूलो रकम घरजग्गा र आफूहरूले खोलेको निजी कम्पनीहरूमा लगाएको भेटिएको छ। संस्थाका सञ्चालकले काभ्रेको धुलिखेल, पनौती, भक्तपुरको साँगा, काठमाडौंको फर्पिङ, मकवानपुरको चित्लाङ, मोरङको कानेपोखरी, खोटाङको हलेसी लगायत स्थानमा ४०० रोपनीभन्दा बढी जग्गा किनेके विवरण सहकारी विभागमा बुझाएको छ । त्यसैगरी उक्त संस्थाले अस्पताल, कलेज, होटल तथा रेष्टुरेन्टमा सदस्यबाट उठाएको अरबौं रकम लगानी गरेको पाइएको छ । 

ललितपुरमा रहेको सुमेरु सहकारीको पनि कथा उस्तै छ । सुमेरु सहकारीका अध्यक्ष भरत महर्जनले विभिन्न १४ कम्पनी स्थापना गरेर सदस्यबाट संकलन गरेको अर्बौं बचतलाई निजी कम्पनीमा लगानी गरेका छन् । हाल उक्त संस्थाका अध्यक्ष भरत महर्जन सदस्यको अर्बौं बचत लिएर बेलायत पलायन भएका छन् । सदस्यहरुलाई सहज शिक्षा, गुणस्तरीय स्वास्थ्य र  सुलभ मुल्यमा खाद्यान्न उपलब्ध गराउने भन्दै विभिन्न कम्पनी उनले खोले । बाहिरी रुपमा सदस्यलाई सेवा दिएजस्तो देखिएपनि भित्री कथा भने व्यक्तिगत स्वार्थपूर्ति गर्ने पाइएको छ ।

त्यसैगरी देउराली र सिभिल सहकारीले पनि सदस्यबाट ठूलो रकम संकलन गरेर हाउजिङ, प्लटिङ लगायतका विभिन्न कम्पनीमा लगानी गरेका छन् । सहकारी मुल्यमान्यता र सिद्धान्त बाहिर गएर चलेका यी सहकारीले सदस्यलाई ब्याजको लोभमा पारेर अर्बौं बचत अपचलन गरेका हुन् ।  सिभिल बैंककाे समेत अध्यक्ष रहेका सिभिल सहकारीका संस्थापक अध्यक्ष इच्छाराज तामाङले करिब ८ अर्ब रकम अपचलन गरेका छन्। राजनीतिक पहुँच बनाएर आफ्नो ठगी धन्दा ढाकछोप गर्दै आएका तामाङ अनुसन्धानकाे क्रममा हाल हिरासतमा छन् । तर उनलाइ प्रहरीले हिरासतमा लिएकाे लामाे समय भइसक्दा पनि हालसम्म कुनै सदस्यले निक्षेप फिर्ता पाउन सकेका छैनन् । 

सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरे सहकारीको साइनबोर्ड राखेर निजी व्यवसाय गर्ने सहकारी संस्थाका केही सञ्चालकका कारण समस्या आएको स्वीकारछन् । उनले वास्तविक सहकारीमा समस्या नआएको भन्दै सीमित स्वार्थ समुहका कारण सिंगो सहकारी अभियान नै समस्यामा परेको बताउँछन् ।

सहकारी विज्ञ कैलाशभक्त प्रधानाङ्ग सहकारीको उदेश्य भनेको सदस्यको आर्थिक,सामाजिक र सांस्कृतिक उत्थान गर्नु भएको  बताउछन् । सहकारीको मर्म भनेको एउटा सदस्यसँग बचत लिएर अर्को सदस्यलाई ऋण लगानी गर्नु  भएको उनले बताए । बचत संकलन  र ऋण लगानी गरेर बचेको बीचको मार्जिनले संस्था चलाउनुपर्ने उनको भनाइ छ ।

अहिले कतिपय सहकारी संस्थाले सदस्यबाट बचत संकलन गरेर सदस्यमाझ परिचालन नगरी सीमित व्यक्तिले अपचलन गर्दा समस्या आएको उनको भनाइ छ । संस्थाका सञ्चालक र कर्मचारीले ऋण लिएर तिरेनन् भने अरुलाई ऋण तिर भन्न असजिलो हुने उनको बुझाई छ । मैले संस्थाबाट  गत बर्ष १६ लाख ५० हजार ऋण लिएको थिएँ । त्यस मध्ये २ लाख ५ हजार मात्र तिर्न बाँकी छ । अध्यक्षले १६ लाख ५० हजार ऋण लिएको छ भन्ने कुरा बार्षिक प्रतिवेदनमा नै उल्लेख छ । ऋण लिएर पटक पटक गरी यति ऋण तिरी सकेको र अब यति साँवाब्याज बाँकी छ भने कुरा पनि प्रतिवेदनमा आउँछ । उनले भने, ‘यसरी पारदर्शिता गर्न सके सदस्य, सरकार र सरोकारवाला निकाय सबैलाई विश्वास हुन्छ । हाम्रो संस्थामा सञ्चालकले  कति पैसा ऋण लिएको छ, सबै कुरा प्रतिवेदनमा आउँछ ।’ सहकारीबाट कसले कति ऋण लिएको छ भन्ने थाहा नहुँदा आज सञ्चालकहरुले ठूलो बचत दुरुपयोग गर्न सकेको उनको बुझाइ छ ।

अर्कोतर्फ ठुलो पुँजी हुदैँमा सहकारी राम्रो हो भन्न नसकिने उनको तर्क छ । सहकारीको मापन गर्ने आधार भनेको संस्थाले सदस्यको आर्थिक, सामाजिक रुपान्तरणमा काम गर्‍यो कि गरेन भने हेर्ने रहेको उनले जनाए । सदस्य धेरै बनाएर ठूलो कारोबार गर्दैमा सहकारी राम्रो भन्न नमिल्ने उनको तर्क छ । सञ्चालकहरु इमान्दार नहुँदा आज सदस्यको अबैं रुपैयामा जोखिममा परेको उनले बताए ।

‘मेरै सहकारीका सञ्चालकले ३१ बर्ष अगाडी नै केही पैसा जग्गामा लगानी गरौं भनेर प्रस्ताव ल्याउँदा हाम्रो  काम त्यो होइन, उत्पादन वृद्धि गर्ने हो । सहकारीले उत्पादन घट्ने काम गर्नु हुँदैन भनेँ’ उनले सम्झना गरे ‘तर अहिले आएर सबै सहकारी संस्था जग्गा खरिदविक्रीमा लागेका छन् ।’ आफु नेफ्स्कूनको अध्यक्ष हुँदा नै सहकारीको कार्यक्षेत्रमा रोक लगाउँ र सहकारीलाई उत्पादनमा लगाउँ भनेको उनले सम्झिए । सहकारी गलत बाटोमा हिड्न लागे त्यसमा रोक लाउनुपर्छ भनेर सरकारलाई समेत भनेको उनले सुनाए । तर कसैले वास्ता नगर्दा यो समस्या अहिले आएको उनले प्रष्ट पारे । सदस्यको बचतको सुरक्षा गर्ने काम सञ्चालकको भएको र सबैभन्दा पहिले सञ्चालक समिति नै इमान्दार हुनु पर्नेमा उनको जोड छ । यदि सञ्चालक समितिले गर्न सकेन भनेमात्रै सरकारको सहयोग लिने हो ।