बुधबार, भाद्र ३ गते २०८३

मौद्रिक नीति लचिलो हुनुपर्नेमा व्यवसायिक क्षेत्रको एकै स्वर


आषाढ २२, २०८० शुक्रबार
मौद्रिक नीति लचिलो हुनुपर्नेमा व्यवसायिक क्षेत्रको एकै स्वर

 

नेपाली उद्योगी तथा व्यवसायीले आगामी वर्षको लागि ल्याइने मौद्रिक नीति लचिलो हुनुपर्नेमा जोड दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बजेटको लक्ष्य, उद्देश्य पूरा गर्नको लागि आगामी आर्थिक वर्षको मौद्रिक नीति खुकुलो हुनुपर्ने बताएका हुन्। 

बिहीबार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघको तर्फबाट आयोजित आगामी मौद्रिक नीति समीक्षा कार्यक्रममा बोल्दै उनले भने ‘बजेटको लक्ष्य, उद्देश्य पूरा गर्नको लागि आउने मौद्रिक नीति खुकुलो हुनुपर्छ। यो कसरी हुनसक्छ भन्ने सुझाव पनि दिएका छौँ। जस्तो अहिले फिक्स डिपोजिट र सेभिङको ५ प्रतिशत फरक हुनुपर्छ भन्ने छ ।’ बैंक तथा वित्तीय संस्थाले मुद्धती खातामा ब्याज मा बढाउँदा अधिकांश बचतमा रहेको फिक्स्डमा कन्भर्ट भएको उनले जनाए । 

उनले अवधि अनुसारको मुद्धती रेट बनाएर वा फिक्स्ड डिपोजिट र सेभिङको ५ प्रतिशतको फरक हटाएर भएपनि अर्थतन्त्र चलायमान बनाउनुपर्नेमा जोड दिए। उनले भने, ‘मौद्रिक नीतिले अनिवार्य नगद अनुपात, बैंक दर र नीतिगत दर बजारको आवश्यकता अनुसार घटाउनु जोखिमको आधारमा नेट लिक्युड एसेट्स व्यवस्थापन गर्नुपर्ने व्यवस्था हुनु उपयुक्त देखिन्छ ।’ 

राष्ट्र बैंककै पछिल्लो अध्ययनले उद्योगहरु ४३ प्रतिशत क्षमतामा चलिरहेका भन्दै उनले कर्जाको पुर्नसंरचना एवं पुर्नतालिकीकरणको सुविधा दिइनुपर्ने र यसरी पुर्नसंरचना र पुर्नतालिकीकरण गर्दा प्रोभिजनिंग गर्नुपर्ने व्यवस्थामा लचक हुनुपर्ने सुझाव दिए । 

नवीकरण हुने प्रकृतिका सम्पूर्ण चालु पूंजी कर्जा खाता आर्थिक वर्षको कुनै एक समयमा उद्योगरव्यवसायको प्रकृतिअनुसार कम्तीमा लगातार ७ दिन शुन्य वक्यौता कायम हुनुपर्ने व्यवस्था अव्यवहारिक भएकोले यसको खारेजी आवश्यक रहेको उनले औंल्याए । राष्ट्र बैंकले ल्याएको वर्किङ क्यापिटल गाइडलाइनले बैंक तथा वित्तीय संस्थाहरु खास गरेर कमर्सियल बैंक र व्यवसायीमा राम्रै पाठ सिकेको उनले जनाए ।